३ ‘बलिया’ विभागीय टिमलाई पन्छाउँदै च्याम्पियन बनेको मधेश प्रदेश – Nepal Press

३ ‘बलिया’ विभागीय टिमलाई पन्छाउँदै च्याम्पियन बनेको मधेश प्रदेश

पोखरा । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणमा विभागीय टोली नेपाल पुलिस क्लबलाई रनरेटमा पन्छाउँदै अगाडि बढेको मधेश शुक्रबार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै च्याम्पियन बन्यो ।

समूह चरणमा पुलिससँग हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको मधेश प्रदेश पुलिस पराजित हुँदा सेमिफाइलनको यात्रा तय गरेको थियो ।

सेमिफाइलनमा पनि मधेसले उत्कृष्ट प्रदर्शन गर्दै विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) लाई पराजित गरेको थियो । राष्ट्रिय टोलीबाट खेलिसकेको आसिफ शेख, अभिनास बोहरा, प्रदीप ऐरी, मौसम ढकाल, लोकेश बम, सन्दीप जोरा जस्ता खेलाडी रहेको एपीएफलाई पन्छाउँदै मधेश प्रदेशले फाइनल यात्रा तय गरेको थियो ।

फाइनल खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेसले टस जितेर पहिला ब्याटिङ गरेको थियो । मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । टी–२० उक्त स्कोर मध्यम मानिन्छ । अझ राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित १० खेलाडी सम्मेलित बलियो आर्मीले सहज जित निकाल्छ भन्नेमा धेरैको आँकलन थियो । आर्मीले १० ओभरमा २ विकेट गुमाउँदै ५७ रन बनाएको थियो । ११औंमा मधेशका कप्तान हरिशंकर शाहले जुन प्रदर्शन गरे । त्यो नै मधेशलाई जितको पर्याय बन्न पुग्यो ।

११ औं ओभरमा शाहले महत्वपूर्ण ३ विकेट लिए । उनले आर्मीको कप्तान विनोद भण्डारी, बसिर अहमद र कुशल मल्लको विकेट लिएका थिए । त्यसपछि भने आर्मी खेलमा फर्किन खोजेपनि सफल हुन सकेन । अन्तिममा आर्मीका विवेक यादव र सोमपाल कामीले प्रयास गरेपनि आर्मीलाई जितका लागि प्रयाप्त भएन । मधेसले आफ्नो लय कायम राख्दै पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिताको च्याम्पियन बन्यो ।

प्रतियोगिताका बलिया मनिएका विभागीय पुलिस, एपीएफ र आर्मी तिनवटै टिमलाई पन्छाउँदै मधेस प्रदेश च्याम्पियन बनेको थियो । फाइलनमा उत्कृष्ट प्रदर्शन गरेको कप्तान शाह प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ३५ हजार हात पारे ।

विभागीय टोलीलाई पराजित गर्दै उपाधि जिताएका कप्तान शाहले यो जित मधेशको मात्रै नभई सबै प्रदेशको भएको बताएका छन् । उनले प्रदेशको टोलीले विभागीय टोलीलाई जित्न सक्छन् भन्ने सन्देश गएको बताए ।

‘यो मधेश प्रदेशको मात्रै होइन, सबै प्रदेशको जित हो । यहाँबाट सुरुआत भएको छ । प्रदेशको टोलीले विभागीय टोलीलाई जित्न सक्छन् भनेर । सबै खेलाडी आफ्नो तरिकाले तयारी गरेको बसेका हुन्छौं । प्रतियोगिता होस् नहोस्,’ उनले भने ।

प्रदेशको टिमले जित्नु भनेको ठुलो उपलब्धि भएको कप्तान शाहले बताए । उनले भने, ‘प्रदेशको टिमले जित्नु भनेको ठुलो कुरा हो । किनकी विभागीय टोलीमा धेरै राम्रो खेलाडीहरु हुन्छ । राम्रो टेनिङ हुन्छ, राम्रो डाइट हुन्छ । धेरैजसो राष्ट्रिय क्याम्पमा बसिराखेको हुन्छ । भौतिक संरचना छैन हामीसँग । यो खास सबै प्रदेशको जित हो ।’

घर फर्कन टिकट काटिसकेको मधेश च्याम्पियन बन्यो

पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ५७ रनले पराजित हुँदा मधेस प्रदेशले आस मारिसकेको थियो । ३ टिम रहेको समूहबाट एक टोली मात्रै सेमिफाइलनमा जान्थ्यो । दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदा सेमिफाइनलमा पुग्ने ठाउँ बाकी रहेपनि मधेस प्रदेशको आस मरिसकेको थियो ।

सुदूरपश्चिमलाई ५८ रनमा समेट्दै मधेसले ४ ओभर ४ बलमा २ विकेट गुमाएर जित निकालेका थियो । सुदूरपश्चिमलाई फराकिलो अन्तरले पराजित गर्दा मधेसको रनरेट माथि आएको थियो । समूह चरणको अन्तिम खेल बाँकी थियो । सेमिफाइलन पुग्ने आस मारिसकेका मधेसका खेलाडीहरु घर फर्कन टिकट काटिसकेका थिए ।

‘पुलिस नहार्ला भनेर हामी फर्कने तयारी गरेका थियौं । दाईहरुले टिकट काट्दिने हो भन्दा काट्दिनु भनेका थियौं,’ मधेशका कप्तान हरिशंकर शाहले सम्झिए ।

नेपाल पुलिस क्लबमा राष्ट्रिय टोलीका खेलाडीहरुले भरिपूर्ण थियो । मधेसका खेलाडीले सोचेका थिए –आफू फराकिलो अन्तरले पराजित भएको पुलिससँग सुदूरपश्चिम पराजित हुन्छ । पुलिसमा राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी कुशल भर्तेल, करण केसी, आरिफ शेख, ललित राजवंशी, सुनिल धमाला, दिलीप नाथ, अर्जुन साउद, सागर ढकाल थिए । त्यसकारण पनि मधेसका खेलाडी घर फर्कने मनस्थिति बनाएका थिए । मधेशका विकेट किपर अनिलकुमार शाह काठमाडौं पुगिसकेका थिए ।

पुलिसको नतिजा मधेशले सोचेभन्दा फरक आयो । सुदूरपश्चिमले पुलिसलाई अप्रत्यासित रुपमा पराजित मात्रै गरेन । रनरेटका आधारमा मधेसलाई सेमिफाइनल जाने ढोको खोलिदियो । कप्तान हरिशंकर भन्छन्, रनरेटका आधारमा हामी समूह विजेता भएर सेमिफाइन प्रवेश गरेपछि छुट्टै उत्साह थपियो । यसले टिमलाई मेटिभेट ग¥यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर