विश्वकपका ‘सुपर म्यान’ म्याक्सवेल आईपीएलमा ‘सुपर फ्लप’ : ९ खेलमा ५२ रन, चार पटक डकआउट – Nepal Press

विश्वकपका ‘सुपर म्यान’ म्याक्सवेल आईपीएलमा ‘सुपर फ्लप’ : ९ खेलमा ५२ रन, चार पटक डकआउट

काठमाडौं । अष्ट्रेलियन सुपरस्टार ब्याट्सम्यान ग्लेन म्याक्सवेल इन्डियन प्रिमियर लिगको जारी संस्करणमा (आईपीएल) मा अकल्पनीय रूपमा फ्लप भएका छन् । उनको टीम रोयल च्यालेन्जर्स बैंगलोरले प्लेअफसम्मको यात्रा गरे पनि म्याक्सवेलको व्यक्तिगत प्रदर्शन लज्जास्पद रह्यो ।

यो आईपीएलमा उनले ९ म्याचमा ब्याटिङ गर्दा जम्माजम्मी ५२ रन जोड्न सके । चार पटक त उनी शून्यमै आउट भए । उनले एउटा म्याचमा बनाएको उच्च स्कोर २८ रन थियो । उनले ५.७७ रनको दयनीय औसतमा ब्याटिङ गर्दा २ छक्का र ६ चौका मात्रै प्रहार गर्न सके ।

पत्याउन गाह्रो पर्छ, कि ग्लेन म्याक्स्वेल उनै ब्याट्सम्यान हुन् जसले यस वर्ष भारतमै भएको ५० ओभरको विश्वकपमा अविश्वसनीय प्रदर्शन गरेका थिए । उनले अफगानिस्तानविरुद्ध बनाएको दोहोरो शतकीय इनिङ क्रिकेट इतिहासमै अभूतपूर्व र सर्वोत्कृष्ट इनिङ मानिएको छ ।

उक्त खेलमा अष्ट्रेलियालाई अफगानिस्तानले २९२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा ९१ रन बनाउँदा ७ विकेट गुमाएको अवस्थाबाट अष्ट्रेलियालाई चमत्कारिक जित दिलाउँदै म्याक्सवेल आफूलाई ‘सुपर म्यान’ को परिचय दिलाए । उत्तरार्द्धमा चोटग्रस्त भएर दौडिनै नसक्ने अवस्था पुगेका म्याक्सवेलले चौका र छक्काको सहारामा दोहोरो शतक बनाएका थिए ।

विश्वकपयता पनि राम्रै लयमा थिए उनी । त्यसैले आईपीएलमा अभागी मानिएको आरसीबीलाई उनले पहिलो पटक उपाधि दिलाउन सक्ने आङ्कलन भइरहेको थियो । तर, पहिलो म्याचबाटै उनको ब्याट चलेन । पहिलो म्याचमा शून्यमा आउट भएका उनी अन्तिम म्याचमा पनि शून्यमा आउट भए । यो आईपीएलमा म्याक्सवलले बनाएका स्कोरहरू हुन्–०, ४, ०, १, ०, २८, ३, ० ।

सबैभन्दा महत्त्वपूर्ण राजस्थान रोयल्सविरुद्धको खेलमा म्याक्सवेल गोल्डेन डक आउट भएका थिए ।

आईपीएलको इतिहासमा एउटै संस्करणमा सबैभन्दा बढी डकआउट हुने कीर्तिमान जोस बटलरको नाममा छ । सन् २०२३ को संस्करणमा उनी पाँच पटक डकआउट भएका थिए । यो आईपीएलमा भने म्याक्सवेल सर्वाधिक डकआउट हुने ब्याट्सम्यान बनेका छन् ।

बरु म्याक्सवेलको बलिङ चाहिँ केही हदसम्म सन्तोषजनक रह्यो । उनले ६ इनिङमा बलिङ गर्दा २१.५० को औसतमा ६ विकेट लिए । जम्मा १६ ओभर बलिङ गर्दा उनले १२९ रन खर्चिएका थिए ।

आईपीएलको अक्सनमा आरसीबीले म्याक्सवेललाई ११ करोड भारु खर्चेर रिटेन गरेको थियो । तर, उनको पर्फर्मेन्स नाजुक रहेपछि अर्को वर्षको आईपीएलमा उनी विक्री हुनेमै संशय बढेको छ । तर, अष्ट्रेलियाको राष्ट्रिय टिममा भने उनी अझै पनि महत्त्वपूर्ण सदस्यका रूपमा छन् ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफ्नो फर्म बिर्सिएनन् भने केही दिनपछि सुरु हुने टी–२० विश्वकपमा म्याक्सवेल अष्ट्रेलियाको ट्रम्पकार्ड बन्न सक्छन् । उनीसँग अविश्वसनीय पावर हिटिङ क्षमता छ । यदि क्रिजमा अलिबेर टिके भने विपक्षी बलिङलाई निमेषभरमै तहसनहस बनाउन सक्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *