व्यवस्था जोगाउन गणतन्त्रवादी एक ठाउँ, राजावादीका आआफ्ना दाउ – Nepal Press

व्यवस्था जोगाउन गणतन्त्रवादी एक ठाउँ, राजावादीका आआफ्ना दाउ

माओवादीका सचिव खनाल भन्छन्- राष्ट्रिय मुद्दामा एकै ठाउँमा हुन्छौं तर, राजतन्त्रको विषयमा मोर्चा गर्न आवश्यक छैन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सक्रिय बनाउने राप्रपाको प्रयास र व्यवस्था उल्टाउन भन्दै दुर्गा प्रसाईंले थालेको अभियानपछि ठूला दलहरु सचेत देखिएका छन् ।

राजतन्त्रको पक्षमा प्रसाईंले काठमाडौंबाट र राप्रपाले झापाबाट देखाएको माहोलको कारणले गणतन्त्रवादी दलहरुलाई व्यवस्था जोगाउने चिन्ता सुरु भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रको पक्षमा बढ्दो क्रेज देखिएपछि गत मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे पक्षधरको बैठक राखेका थिए । बैठक पछिल्लो समय नेताहरुको कार्यशैलीप्रति जनतामा बढेको असन्तुष्टि र निराशासँगै राजावादीहरुको सक्रियतालाई लिएर अब ‘व्यवस्था कसरी जोगाउने ?’ भन्नेमा केन्द्रित थियो । त्यही बैठकमा नै दलहरुले व्यवस्थाको रक्षाका लागि आफूहरु एकै ठाउँमा रहेको सन्देश दिएका थिए ।

तर, काठमाडौं र झापामा राजतन्त्रको पक्षमा देखिएको ठूलो मास व्यवस्थाविरुद्ध नभइ राजनीतिक दलहरु र नेताहरुको कार्यशैलीप्रति भएको स्वयं नेताहरु बताउँछन् । अहिले सडकमा देखिएको अराजकताले राजाको शासनमा नफर्किने उनीहरुको विश्वास छ ।

राजसंस्थाको पक्षमा पछिल्लो समय जनमत बन्दै गएको छ । तर, राजावादी शक्तिहरु पनि कम्युनिष्ट पार्टी झैं विभाजित छन् । राजसंस्थाको नारा लगाए पनि उनीहरु आआफ्नै स्वार्थ बोकेर हिँडिरहेको देखिन्छ । राप्रपालाई चुनावमा बलियो शक्ति बन्नु छ, दुर्गा प्रसाईंलाई बैकको ऋण मिनाहा गराउनु छ, कमल थापालाई आफ्नो धरापमा परेको राजनीति जोगाउनु छ, अन्य ससाना संगठनहरुलाई आफ्नो अस्तित्व देखाउनु छ ।

अहिले राजतन्त्रको लिगेसी राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानसहित अन्य शक्तिहरुले धानिरहेका छन् । तर, पूर्वराजा ज्ञानेन्द्रले कसैलाई पनि पूर्ण विश्वास गरिहालेको अवस्था छैन ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र स्थापना गर्न चाहने, संघीयता खारेज गर्न चाहने राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी दल र समूहलाई बृहत राष्ट्रिय मोर्चा निर्माण गर्न आह्वान गरेको छ । आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले समान विचारधारा भएकाहरू छरिएर परिवर्तन सम्भव नहुने निष्कर्षसहित मोर्चामा आउन आह्वान गरेको प्रवक्ता वसन्तमान सिंह अधिकारीले बताए ।

त्यसो त प्रसाईंले नेतृत्व गरिरहेको अभियानका सहप्रवक्ता राजानन्द माण्डव्य पनि राजावादीहरू एकजुट भएर अघि बढ्नुपर्नेमा सहमत छन् । उनी भन्छन्, ‘राप्रपासहित अन्य साना दल, राष्ट्र र राष्ट्रियतालाई माया गर्ने बौद्धिक वर्गलाई पनि हामी सँगै लिएर अघि बढ्छौं ।’

त्यसो त राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा पनि राजावादीहरु पनि एक भएर अघि बढ्नुपर्नेमा सहमत नै देखिन्छ ।

राजावादीहरुले आफ्नो दम देखाउन मोर्चावन्दीको प्रयास गरिरहेको बेलामा सत्ता र प्रतिपक्षमा रहेका ठूला दलहरु अहिले व्यवस्था परिवर्तन सम्भव नहुने अडान राख्छन् ।

राजावादीहरुलाई निशाना बनाएका एमाले अध्यक्ष केपी ओलीले राजसंस्थालाई ‘मरेको प्रेत’ संज्ञा दिँदै ‘चेतना नभएका मुूर्खहरु नलीखुट्टा फुकेर राजतन्त्र फर्काउन हिँडेको’ टिप्पणी गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पनि गणतन्त्रको विकल्प नभएको दाबी गर्छन् । चितवन पुगेर उनले राजावादीहरुको सक्रियताले आफूहरु नआत्तिएको जिकिर गर्दै गणतन्त्रको विरोध गर्नुको अर्थ नभएको बताए ।

यस्तै महामन्त्री गगन थापाले पनि पूर्वराजा शाहलाई च्याँखे दाउ नथाप्न चेतावनी दिएका छन् । शनिबार गुल्मी पुगेर राजतन्त्र फर्काउन मन भए चुनाव लडेर संविधान परिवर्तन गर्न उनले चुनौती दिए । तर, अहिले राजनीतिक दलहरुको कार्यशैली परिवर्तन गर्नुपर्नेमा थापाको जोड छ ।

कांग्रेस सांसद सञ्जय गौतम जनताको निराशा अन्त्य गर्न दलहरुले आफ्नो कार्यशैली फेर्नुपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘जनताका बीचमा चरम निराशा छ । समयमै राजनीतिक दलहरुले बुझेर सम्बोधन गर्न सक्यो भने यसले ठूलो फरक पार्दैन । संविधानमा समय सापेक्ष संशोधनको आवश्यकता छ । निर्वाचन प्रणाली, संघीयताको व्यवस्थापनदेखि स्थानीय तहको व्यवस्थापनका लागि नयाँ ढंगले सोच्नुपर्नेछ ।’

सबै दलहरुले गम्भीर भएर एकै ठाउँमा बसेर संविधानलाई समय सापेक्ष बनाएर अहिलेसम्मको अनुभवलाई परिवर्तन गरे अहिले उठेको प्रश्न हराएर जाने उनको बुझाइ छ ।

अहिलेको समस्यालाई सम्बोधन गरेर जान नसके अहिले सानो जस्तो लागे पनि यसले अर्को रुप लिनसक्ने उनले बताए ।

नेता गौतमले भने, ‘अहिले ठूला दलहरु एकजुट नभइ अर्को विकल्प छैन । आफूले आफूलाई सुधार गरेर सबै दलहरु एक ठाउँमा उभिनुपर्छ । होइन भने अहिले प्राप्त व्यवस्थालाई उपलब्धि भनेर गर्व गरेका छन्, त्यो नहुनसक्छ ।’

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम राजनीतिक दलहरुको कमजोरीलाई औंल्याएर सडकमा जम्मा भएको भीडले राजतन्त्र व्युँताउन नसक्ने दाबी गर्छन् ।

उनी भन्छन्, ‘राजतन्त्र व्युँताउने कुरा दिवास्वप्नमात्रै हो । अहिले राजनीतिक दलहरुको कमजोरीलाई औंल्याएर असन्तुष्टिलाई समातेर सडकमा भीड जम्मा गर्ने प्रयास भइरहेको छ । त्यसको कुनै गन्तव्य र विचार छैन । अहिले प्रतिगमनका मतियारहरु एक ठाउँमा भएर परिवर्तनलाई उल्ट्याउन सकिन्छ कि भन्ने प्रयास सफल हुन सक्दैन ।’

प्रधानमन्त्री प्रचण्डले यसअघि नै १२ बुँदे पक्षधरहरुलाई बोलाएर गणतन्त्रमाथि चुनौती आएको विषयमा छलफल गरेसँगै आफूहरु एकै ठाउँमा उभिसकेको उनले दाबी गरे ।

उनले भने, ‘अहिले सडकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरुले खेल्न खोजेका छन् । दलहरुले पनि कमजोरीलाई सच्चाएर संविधानबमोजिम आफ्नो दायित्व पूरा गर्नुपर्छ । त्यसैले अहिले सबै एकै ठाउँमा आएर व्यवस्था जोगाउन सजक भएर हिँड्नुपर्ने अवस्था छ ।’

नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल इतिहास भइसकेको राजसंस्थाको व्यवस्था अब नफर्किने दाबी गर्छन् ।

उनी भन्छन्, ‘राजतन्त्रको विरुद्ध लडेर हामीले गणतन्त्र ल्याएका हौं । राजतन्त्र होस् या अरु कुनै व्यवस्था संसारको कुनै पनि देशमा एउटा चरण सकिएपछि फर्किएको इतिहास छैन ।’

उनले ठूला दलहरु राष्ट्रिय एजेण्डामा एक ठाउँमा आउने कुरा सधैं हुने भए पनि राजावादीहरुको हल्लामै मोर्चाबन्दी गर्न आवश्यक नभएको औंल्याए ।

नेता खनालले भने, ‘आंशिक रुपमा केही अराजकतावादी सडकमा छन् । उनीहरुलाई संविधानको रक्षार्थ के गर्न सकिन्छ भन्नेबारे छलफल हुनसक्छ । सबै राजनीतिक पार्टीका आआफ्नै एजेण्डा छन् । यही राजतन्त्रको विषयमा मोर्चा गर्न आवश्यक छैन ।’


प्रतिक्रिया

3 thoughts on “व्यवस्था जोगाउन गणतन्त्रवादी एक ठाउँ, राजावादीका आआफ्ना दाउ

  1. गठबन्धन र तत्कालीन पन्चहरूल र अवसर को खोज्न विभिन्न रूप धारणा गर केही छैन गणतन्त्र विरोधमा कसैको बाउको केही लाग्दैन गणतन्त्र जनताको पेवा हो र त्यसको विरोधमा पक्षमा जानेको
    नेकपा एमाले नेकपा एमाले

  2. जनताले एक छाक खान पाएका छैनन्, खेतबारी बाँझैछन्, धानचामल गहुँ आयातमा, युवाहरू बिदेशतिर, बुढाबढीहरू पिढी कुरि बसेका छन्, देश रेमिटेन्सको भरमा छन्, राष्ट्रसेवकहरू तनखा खान नपाउने अवस्था हुनेछ, नेता मन्त्री प्रधानमन्त्री बिदेश भ्रमण, देश व्यापार घाटामा, कालाब्यापारी माैलाएका, भ्रष्टाचारी मोटाएका, जाबो चिनी कालाबजारीले बेच्ने भएपछि जनताको ढाड कसरी ठाडाे हुने, अनि जनतालाई “छु मतलव-गणतन्त्र” ! फेरि नेतालाई फुलमाला ! फेरि रत्नपार्कको रेलिङ भाँच्ने, टियरग्यास खाने ! त्यसैले जनतालाई के को तन तन ! जति जोगि आएनी कानै चिरेका ! २०४६ सालका जनता हैनन्, जनता खाँटि कार्यकर्ता हुन चाहँदैनन्, चेतना भया, जयहोस् ।

  3. जनताले एक छाक खान पाएका छैनन्, खेतबारी बाँझैछन्, धानचामल गहुँ आयातमा, युवाहरू बिदेशतिर, बुढाबढीहरू पिढी कुरि बसेका छन्, देश रेमिटेन्सको भरमा छन्, राष्ट्रसेवकहरू तनखा खान नपाउने अवस्था हुनेछ, नेता मन्त्री प्रधानमन्त्री बिदेश भ्रमण, देश व्यापार घाटामा, कालाब्यापारी माैलाएका, भ्रष्टाचारी मोटाएका, जाबो चिनी कालाबजारीले बेच्ने भएपछि जनताको ढाड कसरी ठाडाे हुने, अनि जनतालाई “छु मतलव-गणतन्त्र” ! फेरि नेतालाई फुलमाला ! फेरि रत्नपार्कको रेलिङ भाँच्ने, टियरग्यास खाने ! त्यसैले जनतालाई के को तन तन ! जति जोगि आएनी कानै चिरेका ! २०४६ सालका जनता हैनन् ……. !

Leave a Reply

Your email address will not be published. Required fields are marked *