क्यामरा बोकेर पिछा गर्ने युट्युबरलाई तारा बरालले थुक्दै पिटिन्, पूर्वएआईजी चन्द साक्षी – Nepal Press

क्यामरा बोकेर पिछा गर्ने युट्युबरलाई तारा बरालले थुक्दै पिटिन्, पूर्वएआईजी चन्द साक्षी

काठमाडौं । अभियन्ता तारा बरालले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै एक युट्युबरमाथि हातपात गरेकी छन् । ती युट्युबर क्यामरासहित उनलाई पछ्याउँदै एउटा रेस्टुरेन्टको कोठाभित्र पसेका थिए ।

सिनामंगलस्थित कटिया हाउसकाे एउटा कोठाभित्र तारा बराल पूर्वएआईजी रणबहादुर चन्दसँग छलफल गरिरहेकी थिइन् । कोठाको ढोका बन्द थिएन । यत्तिकैमा मनोज मानव नामक युट्युबर क्यामरासहित कोठाभित्र घुसेर भिडियो खिच्न थाले ।

उनीहरु कोठाभित्र पसेपछि तारा आक्रामक बन्दै मनोजमाथि जाइलागेकी थिइन् । मद्यपान गरे जस्तो लाग्ने रणबहादुरले पनि उनलाई साथ दिएका थिए ।

एउटा हातले मोबाइलबाट भिडिओ खिच्दै ताराले मनोजलाई झ्याम झ्याम पिटेकी थिइन् । अनुहारमै पटक पटक थुकिन् पनि । लात्तीले पनि हानिन् । मनोज मानव भने निरीह देखिए । रणबहादुरले ‘मुक्का हानौं ?’ भन्दै धम्की दिए पनि उनले पिटेको भने भिडिओमा देखिएको छैन ।

घटनापछि ताराले फेसबुक लाइभमा बोल्दै आफूलाई मनोज मानवले आफ्नो चरित्रहत्या गर्न खोजेको बताएकी छन् ।

‘एउटा मुद्दाको विषयमा छलफल गर्न एआईजीसा’बले भेट्न बोलाएपछि गएकी थिएँ । उनीहरुले मलाई फसाउन सबै सेटिङ मिलाएका रहेछन् । ८ जना युट्युबर एक्कासि क्यामरा लिएर आए र धमाधम भिडिओ खिच्न थाले । मैले मनोज मानवलाई पिटें’, उनले भनेकी छन् ।

मनोज मानवले आफ्नो युट्युब च्यानलमा तारा बराल र रणबहादुर चन्दको नाम जोडेर समाचार प्रशारण गरेका थिए । ज्ञानेन्द्र शाहीलाई मुद्दामा फसाउन गरेको प्रस्ताव आफूले अस्वीकार गरेको तथा अर्की एक महिलाको मुद्दामा पनि साथ नदिएपछि आफ्नो चरित्रहत्या गर्न खोजिएको ताराको भनाइ छ ।

ताराले गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि आफूलाई मुद्दामा फसाउन कार्यकर्ता परिचालन गरेको आरोप लगाएकी छन् ।

‘सीता दाहालको निधनपछि मैले बोलेका कुराहरुलाई लिएर मलाई मुद्दा हालेर जेलमा सडाउने षडयन्त्र भइरहेको छ । गृहमन्त्रीकै निर्देशनमा माओवादीका मान्छेले मलाई मुद्दा हालेका छन्’, उनले भनेकी छन् ।

मनोज मानवले भने तारा बराल र रणबहादुर चन्दको समाचार आफूले हालेपछि ताराले धम्क्याइरहेको बताएका छन् ।

‘मलाई धेरै किसिमको आरोपप्रत्यारोप भएपछि मैले पनि प्रमाण जुटाउन भिडिओ खिचेको हुँ । आज बिहान तारा बराल र रणबहादुर चन्द एउटा होटलको कोठामा फेला पर्नुभो । उहाँहरुलाई हेर्दा प्रेमीप्रेमिका जस्तो व्यवहार देखिन्थ्यो । एक-अर्काको हातमा चुप्पा खाइरहनुभएको थियो’, उनले अन्य युट्युबरलाई अन्तर्वार्ता दिँदै भनेका छन् ।

तर, मनोजले भनेको जस्तो दृश्य भिडिओमा देखिँदैन । रणबहादुर र तारा दुई वटा कुर्सीमा बसेर कुराकानी गरेकोमात्र देखिएको छ ।

ताराले आफूलाई कुटेको र थुकेको मनोजले गुनासो गरेका छन् । थुक अनुहारमा भने नपरेको उनको दाबी छ । तर, भिडिओमा उनको अनुहारमै तीनपटक ताराले थुकेको स्पष्ट देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर