दशैंमा रित्तिएको काठमाडौं – Nepal Press

दशैंमा रित्तिएको काठमाडौं

सधैंको रहर लाग्दो
काठमाडौंमा
अहिले शान्ति छाएको छ
सिङ्गो शहर
मौन बसेको छ
हरेक वर्षझैं
यो वर्ष पनि
दशैंमा,
दुलही अन्माएको घरजस्तै
भएको छ ।

अहिले खुल्ला आकाशले बाटो होइन
बाटोले आकाशलाई हेरिरहेको छ,
यहाँ गुड्ने गाडी कम
उडेका चङ्गा र चराहरु बढी
देखिन थालेका छन् ।

सधैं भरिभराउ रहने
बसन्तपुर, भक्तपुर, पाटनका
चिया पसलहरुका आफ्नै
भनाइहरु छन् ।
कुकुरले भरिएका यी चोकहरुका पनि
आफ्नै तर्कहरु छन् ।
घरै पिच्चछे बत्ती निभेका
कोठाहरुका पनि
आफ्नै कथाहरू छन् ।

उता भने,
आफू वर्षभरी रित्तिदा
छप्क्क भरिएको काठमाडौं देखेर
ईर्ष्या गर्ने ती गाउँहरुलाई
मस्तै दशैं लागेको छ
गाउँका धेरै चोकहरुमा
लिङ्गे पिङ गाडिएका छन्
जिल्लाहरुमा
पालिका स्तरीय खेलकुद उमंग
छाएको छ ।

चौतारीमा फेरि
उत्तिकै मानिसहरु जम्मा भएका छन्
खेतका कान्लादेखि
भिरपाखा,
खेतबालीदेखि चिसो घारी
र छोराछोरी फर्कि आउने
दिन गन्दै बसेका
तमाम बुवाआमाका ती चाउरी परेका गाला
हर्षले तन्किएका छन् ।

यता सञ्चो–बिसन्चो सोध्न
समय नभएको
व्यस्त काठमाडौं शहर,
दशैंकै मुखमा रित्तिएको छ
फुर्सदिलो भएको छ
र एक पटक फेरि
भरिएका गाउँलाई देखेर
लोभिएको छ ।

आफूलाई व्यस्त राख्ने पाहुनालाई
सम्झेर मन अमिलो बनाएको छ।
हो यस्तै काठमाडौं
शान्त बनेको छ
मौन बसेको छ ।

तर यी मौनताका पनि
आफ्नै हल्लाहरु छन्
यी हल्लाहरुले आफूलाई छोडेर
गएका पाहुनालाई
काठमाडौंले दशैंको
शुभकामना दिरहेको छ ।


प्रतिक्रिया

One thought on “दशैंमा रित्तिएको काठमाडौं

  1. वाईयात ! सदियाै देखि जीविकोपार्जन गर्दै साँस्कृतिक आर्थिक सामाजिक राजनैतिक शैक्षिक लगायत क्रियाकलाप सञ्चालन गर्दै हुँदै आएको यो अलाैकिक उपत्यका लागि शून्य, हाहाकार, खाली आदि ईत्यादि लाञ्छना गराउँदै स्याल हुँईया कसरी कराउन सक्या ! एक पछि अर्को गर्दै कसरी ओकल्न सक्या ! यसतर्फ कोहि किन यसरी लाग्छन् ! नकि सञ्चार मिडिया लगायत कान्तिपुर एफएम समेत ? यस्ता घटिया समाचारलाई किन स्पेश दिन्छन् ! जयहोस्, शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर