रुपन्देही उद्योग संघको निर्वाचनमा दलको छायाँ, एमालेविरुद्ध सत्ता गठबन्धनको छुट्टै प्यानल बनाउने कसरत – Nepal Press

रुपन्देही उद्योग संघको निर्वाचनमा दलको छायाँ, एमालेविरुद्ध सत्ता गठबन्धनको छुट्टै प्यानल बनाउने कसरत

रूपन्देही । यही असोज २९ गते हुने रुपन्देही उद्योग संघको ४५औं साधारणसभा तथा २३औं अधिवेशनले रूपन्देहीका उद्योगीहरूमा चहलपहल बढाएको छ ।

नयाँ नेतृत्वको लागि अहिलेका वरिष्ठ उपाध्यक्ष दिलीप सापकोटा बलियो उम्मेदवार हुन् । उनी एमाले निकट भएकाले माओवादी र कांग्रेस निकट उद्योगीले अलग्गै प्यानल बनाउने तयारी गरेका छन् ।

संघमा एमाले निकट उद्योगीहरू धेरै छन् । अहिलेसम्म धेरै नेतृत्व उनीहरूले नै गरेका छन् । एमालेबाहेकको प्यानलबाट उपाध्यक्ष जीवकान्त काफ्ले वा यसअघिका उपाध्यक्ष महेश थैवको नेतृत्वमा चुनावी प्यानल बनाउने तयारी छ उनीहरू दुवै कांग्रेस निकट हुन् ।

माओवादी निकट उद्योगीले एमालेका सापकोटालाई निर्विरोध हुन नदिने भन्दै संयुक्त प्यानल बनाउन कांग्रेसलाई प्रस्ताव गरेकाा छन् । तर, कांग्रेसका उद्योगीहरू सकेसम्म मिलाएर जाने पक्षमा छन् ।

संघका महासचिव हरिबहादुर खत्रीले निर्वाचन सम्पन्न गर्न संघका कानूनी सल्लाहकार यमलाल खनालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको जानकारी दिए । जसको सदस्यमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल र संघका प्रेस सल्लाहकार सुमन अधिकारी छन् ।

निर्वाचन समितिले विधानअनुसार निर्वाचन कार्यक्रम तयार गरी सार्वजनिक गर्नेछ । अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, महिला सचिव, सहकोषाध्यक्ष, एशोसिएट सदस्य, आजीवन, महिला र खुला सदस्यसहित ३३ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्नेछ ।

अधिवेशनमा १ हजार १३ सदस्यले मत हाल्न पाउनेछन् । संघमा हालसम्म नवीकरण भएका साधारण सदस्य ७९७, एशोसिएट सदस्य ६०, संंस्थागत सदस्य ७ र महिला सदस्य ११३ रहेका छन् । आजीवन सदस्य भने ३६ जना रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर