एसियाको सबैभन्दा ठूलो खेलकुदमा ७२ वर्षदेखि सहभागी भइरहेको नेपाल, छर्लङ्ग पार्ने यी ७ तथ्य – Nepal Press

एसियाको सबैभन्दा ठूलो खेलकुदमा ७२ वर्षदेखि सहभागी भइरहेको नेपाल, छर्लङ्ग पार्ने यी ७ तथ्य

काठमाडौं । एसियाली खेलकुदको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एसियन गेम्सको १९ औं संस्करण दुई सातापछि चीनको हङझोउमा औपचारिकरुपमा सुरु हुँदैछ । प्रतियोगितामा विभिन्न ४० खेलका ४८१ वटा स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपालबाट २९ खेलमा २३४ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय खेलकुद परिषद्–राखेपका अनुसार टेबल टेनिसमा ३ पुरुष र ३ महिला, कुस्तीमा दुई पुरुष र दुई महिला, लन टेनिसमा ३ पुरुष र ३ महिला, सुटिङमा २ महिला, र्याुफटिङ एन्ड क्यानोइङमा १ पुरुष, गल्फमा चार पुरुष र २ महिला तथा एथलेटिक्समा ४ पुरुष र ४ महिला खेलाडीले नेपालबाट प्रतिस्पर्धा गर्दैछन् ।

यस्तै, २१ सदस्यीय महिला फुटबल टोली, ब्याटमिन्टनमा ४ पुरुष र ४ महिला, पौडीमा २ पुरुष र २ महिला, जुडोमा ४ पुरुष र ४ महिला, ११ सदस्यीय महिला कबड्डी टोली, १६ सदस्यी महिला ह्यान्डबल टोली, ट्रायथलनमा एक पुरुष र २ महिला, स्क्वासमा ३ पुरुष र तीन महिला, बक्सिङमा ७ पुरुष र ६ महिला, उसुमा ७ पुरुष र ५ महिला, करातेमा ४ पुरुष र ४ महिला, तेक्वान्दोमा ६ पुरुष र ५ महिला, १२ सदस्यीय पुरुष भलिबल टोली, १२ सदस्यीय महिला भलिबल टोली तथा आर्चरीमा २ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

साइक्लिङमा एक पुरुष र एक महिला, फेन्सिङमा ३ पुरुष र ३ महिला, भारत्तोलनमा २ पुरुष र २ महिला तथा १२ सदस्यीय पुरुष रग्वी र १५ सदस्यीय पुरुष क्रिकेट टोलीले प्रतिस्पर्धा गर्नेछन् । ४ सदस्यीय महिला बास्केटबल टोली, डान्स स्पोर्ट्समा एक पुरुष खेलाडी तथा इ–स्पोर्ट्समा ५ जना पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

हरेक ४ वर्षमा आयोजना हुने एसिया अघिल्लोपटक इन्डोनेसियामा आयोजना भएको थियो। त्यतिबेला प्रतियोगितामा सहभागीमध्ये ३७ देशले पदक जितेका थिए। नेपालले एक रजत जितेको थियो। सहभागी हुने खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारी भइरहेको छ। बक्सिङ , गल्फ, कुस्ती, टेबल टेनिस, कबड्डी, तेक्वान्दो, उसु, लन टेनिस र क्यानोइङमा बैदेशिक प्रशिक्षणमा समेत लगिएको छ। यस्तै बक्सिङ, जुडो, भलिबल, क्रिकेट र रग्वीमा विदेशी प्रशिक्षक रहेका छन्।

पहिलो सहभागिता ७२ वर्षअघि

नेपालको पहिलो एसियन गेम्स सहभगिता सन् १९५१ मा भएको थियो। त्यसको १३ वर्षपछि पहिलोपटक गृष्मकालिन ओलम्पिकमा सहभागि भएको थियो । तर नेपाललाई अन्तर्राष्ट्रिय पदक जित्न नै लामो समय लाग्यो। नेपालले पहिलो अन्तर्राष्ट्रिय पदक सन् १९७३ मा आएर जितेको थियो ।

फिलिपिन्समा आयोजना भएको एसियन ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा जितबहादुर केसीले कास्य जितेर पदकको खडेरी तोडेका थिए ।

३५ वर्षपछि एकैपटक ८ पदक

नेपालले एसियन गेम्स खेल्न थालेको ३५ वर्षपछि मात्र यस प्रतियोगितामा पदक जित्न सफल भएको थियो । सन् १९८६ मा दक्षिण कोरियामा आयोजना भएको एसियाडमा नेपालका लागि ८ खेलाडीले पदक जितेका थिए । उनीहरु सबैले कास्य पदक जितेका थिए ।

बक्सिङका दलबहादुर रानामगर(हाल दिवंगत), तुलबहादुर थापा, शुसिल पोखरेल र मनोजबहादुर श्रेष्ठ तथा तेक्वान्दोका राजकुमार राई, विधान लामा, राजकुमार घर्ती क्षेत्री र राजकुमार बुढाथोकीले कास्य पदक जितेका थिए । त्यतिबेला एसियाडमा तेक्वान्दोलाई पहिलोपटक समावेश गरिएको थियो ।

त्यसको २ वर्षपछि विधानले दक्षिण कोरियामै भएको ओलम्पिकमा प्रदर्शनी खेलका रुपमा समावेश भएको तेक्वान्दोमा कास्य जितेका थिए । ओलम्पिकमा नेपालको त्यही पदक हालसम्म एकमात्र रहेको छ ।

४७ वर्षपछि पहिलो रजत

नेपालले एसियाडमा सहभागीता थालेको ४७ वर्षपछि यो प्रतियोगितामा पहिलोपटक रजत पदक जितेको थियो । तेक्वान्दोकी सविताराज भन्डारीले सन् १९९८ मा थाइल्यान्डको बैंककमा आयोजना भएको एसियाडमा नेपालका लागि इतिहास रचेकी थिइन् । त्यस एसियाडमा नेपालले तेक्वान्दोमा थप २ कास्य र करातेमा एक कास्य जितेको थियो ।

२ पदक जित्ने दीपक विष्ट एकमात्र खेलाडी

एसियाडमा २ पदक जित्ने तेक्वान्दोका दीपक विष्ट एक मात्र नेपाली खेलाडी हुन् । उनले सन् २००२ र २००६ संस्करणमा कास्य पदक जितेका थिए । उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्ने संगिना वैद्यबाहेक एक मात्र नेपाली खेलाडी हुन् । संगिना पनि तेक्वान्दोकै खेलाडी थिइन् ।

३२ वर्षयता हरेक संस्करणमा पदक

नेपालले सन् १९८६ यताका हरेक एसियाडमा पदक जितिरहेको छ। यसबीचमा नेपालले २ रजत र २२ कास्य पदक जितेको छ । सन् १९९० मा बक्सिङका चित्रबहादुर गुरुङले कास्य, सन् १९९४ मा तेक्वान्दोका मनबहादुर शाही र सिता राई तथा सन् १९९८ मा सविताबाहेक तेक्वान्दोका किशोर श्रेष्ठ र सपना मल्ल तथा करातेका समरबहादुर गोलेले कास्य पदक जितेका थिए ।

सन् २००२ मा दीपकबाहेक तेक्वान्दोकै रेनुका मगर र रितु जिमी राईले कास्य जितेका थिए। सन् २००६ मा दीपकबाहेक तेक्वान्दोकै मनिता शाही र आयशा शाक्य तथा सन् २०१० मा बक्सिङका दीपक महर्जनले कास्य जितेका थिए । सन् २०१४ मा करातेकी विमला तामाङले कास्य तथा सन् २०१८ मा प्याराग्लाईडिङमा नेपालले रजत पदक जितेको थियो । यसरी हेर्दा नेपालले हालसम्म तेक्वान्दो, कराते, प्याराग्लाइडिङ र बक्सिङमा मात्र पदक जितेको छ ।

अझै स्वर्ण पदकविहीन

नेपालले एसियाड खेल्न थालेको ७२ वर्ष हुन लागेपनि यो प्रतियोगितामा अझै स्वर्ण पदक जित्न सकेको छैन । प्याराग्लाइडिङले ५ वर्षअघि टिम इभेन्ट्समा रजत पदक जितेपनि स्वर्णको खडेरी टार्न सकेन। त्यतिबेला प्याराग्लाइडिङ एसियाडमा पहिलोपटक समावेश गरिएको थियो ।

दैनिक २ हजार रुपैयाँ दिएर खाने, बस्ने र डाइटको जिम्मा

राष्ट्रिय खेलकुद परिषद्ले एसियाडको तयारीमा रहेका खेलाडीलाई दैनिक २ हजार रुपैयाँ दिइरहेको छ । उक्त रकमबाट खेलाडीले दैनिक खाने, बस्ने र डाइटसहित सम्पूर्ण व्यवस्थापन गर्नुपर्छ। साउन १ गतेदेखि बन्द प्रशिक्षण सुरु भएयता खेलाडीलाई उक्त रकम प्रदान गरिरहेको टिम तयारी संयोजक प्रचन्ड शर्माले जानकारी दिए । त्यसअघि एक महिना दैनिक काठमाडौबाहिरकालाई १६ सय र काठमाडौं भित्र बस्नेलाई ९ सय रुपैयाँ प्रदान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *