कांग्रेसले सातै प्रदेशका पदाधिकारीको सम्मेलन पोखरामा गर्ने
पोखरा । नेपाली कांग्रेसका सातै प्रदेशका पदाधिकारीको सम्मेलन पोखरामा हुने भएको छ ।
कांग्रेस गण्डकी प्रदेश समितिको आयोजनामा सातै प्रदेशका पदाधिकारीहरूको सम्मेलन भदौ १६ र १७ गते पोखरा हुन लागेको कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछानेले जानकारी दिए ।
कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख अतिथि रहने महामन्त्री लामिछानेले बताए ।
‘कार्यक्रम तय भइसकेको छ । सभापति ज्यूको समयको कुरा थियो । उहाँ १६ गते आउने कुरा भएको छ । सम्मेलन १६ र १७ गते हुन्छ,’ उनले भने ।
कार्यक्रमको औपचारिक निर्णय हुन भने बाँकी छ ।
‘कार्यक्रम तय भइसकेको छ । आउँदो ८ गते बस्ने पार्टी संगठनको बैठकले औपचारिक निर्णय गर्नेछ,’ महामन्त्री लामिछानेले भने ।
प्रदेशले गरेका कामहरू आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको महामन्त्री लामिछानेले सुनाए । सम्मेलनले प्रदेशहरूको समन्वयात्मक भूमिका बढाउने लामिछानेले विश्वास व्यक्त गरे ।
सम्मेलनमा १ प्रदेशबाट १० पदाधिकारीका दरले सहभागी हुनेछन् ।