कोशीमा जसपाको शर्त- पहिचानको आधारमा पुनः नामकरण गर्ने प्रतिबद्धता नआए समर्थन नदिने – Nepal Press

कोशीमा जसपाको शर्त- पहिचानको आधारमा पुनः नामकरण गर्ने प्रतिबद्धता नआए समर्थन नदिने

विराटनगर । कोशी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गले दिएको समय सीमा सकिन लाग्दा सत्तागठबन्धनमा खटपट देखिएको छ ।

बहुमतको सरकार दाबी गर्ने समय सकिन डेढ घण्टा बाँकी रहँदा गठबन्धन घटक जनता समाजवादी पार्टीले आफ्नो शर्त अघि सारेपछि नेताहरू अलमलमा परेका हुन् ।

जसपा कोशी प्रदेशका अध्यक्ष दीपक याक्खाले माओवादी र कांग्रेसकै बीचमा सरकार गठनका विषयमा कुरा नमिलेको दाबी गरे ।

उनले भने, अहिले पनि छलफल चलिरहेको छ । ठूला दलहरूकै बीचमा कुरा नमिलेकाले हाम्रो माग र एजेन्डाका विषयमा त कुरा नै भइकझ छैन । पहिचानसहित प्रदेशको पुन: नामकरणको हाम्रो एजेण्डा सम्बोधन हुनुपर्छ ।’

मुख्यमन्त्री को बन्ने भन्ने विषयमा कांग्रेस र माओवादीबीच नै विवाद रहेको उनको जिकिर छ ।

प्रदेशको पुन: नामकरण पहिचानको आधारमा गर्ने विषयमा सरकारको नेतृत्व गर्ने दलहरूले प्रतिबद्धता नजनाएसम्म सरकारलाई समर्थन नदिने याक्खाले बताए ।

कोशी प्रदेशमा सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर सरकार गठनको कसरतमा छ । तर, बाबुराम गौतमले अहिलेसम्म राजीनामा गरेका छैनन् । उनी अहिले काठमाडौंबाट विराटनगर आउँदै छन् ।

उनले राजीनामा दिने विषयमा विराटनगरमा आएरमात्रै बोल्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर