मधेश प्रदेश सरकारबाट कांग्रेसका सबै मन्त्री बर्खास्त – Nepal Press

मधेश प्रदेश सरकारबाट कांग्रेसका सबै मन्त्री बर्खास्त

जनकपुरधाम । नेपाली कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेर मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सरकार पुनर्गठन गरेका छन् ।

कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिएपछि मुख्यमन्त्री यावदले उनीहरुलाई बर्खास्त गरेका हुन् । कांग्रेसबाट संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार तथा विकासमन्त्री, वीरेन्द्र सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री र मोहम्मद समिम गृह, सञ्चार तथा कानूनमन्त्री थिए ।

नयाँ सत्ता समीकरणअनुसार आज मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । प्रदेशमा सबैभन्दा ठूलो दल एमालेले मुख्यमन्त्री दाबी गरे पनि चार मन्त्रालयमा चित्त बुझाएर सरकारमा सहभागी भएको छ ।

आज एमाले संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएका छन् । उनले आजै पद तथा गोपनीयताको शपथ लिए । तीन मन्त्री पछि पठाउने एमालेले जनाएको छ ।

नयाँ गठबन्धनमा महन्थ ठाकुर नेतृत्वको लोसपा सहभागी छैन । तर, मुख्यमन्त्री यादवले सरकार पुनर्गठन गर्दा लोसपाबाट वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीलाई बर्खास्त गरेनन् । स्रोतका अनुसार मधेश सरकारलाई लोसपाले समर्थन कायम राख्नेछ ।

एमालेले तीन मन्त्री नपठाउँदा बाँकी मन्त्रालय मुख्यमन्त्री यादवले आफैंसँग राखेका छन् । पुनर्गठित मन्त्रिपरिषद्अनुसार गृह, सञ्चार तथा कानून मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय र श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैंले लिएका छन् ।

पुरानो गठबन्धनमा रहेकै बेला जनमत पार्टीले सरकार छाड्दा शिक्षा तथा संस्कृति मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय खाली थियो । जनमत नयाँ गठबन्धनमा सहभागी भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर