त्रिवि प्रश्नपत्रमा कसरी भयो गोलमाल ? परीक्षा नियन्त्रक भन्छन्- सामान्य त्रुटि हो – Nepal Press

त्रिवि प्रश्नपत्रमा कसरी भयो गोलमाल ? परीक्षा नियन्त्रक भन्छन्- सामान्य त्रुटि हो

आलोचनापछि छानबिन गर्ने भन्दै पनिकाको विज्ञप्ति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सोमबार बीए (४ वर्षे) तेस्रो वर्षको इन्ट्रडक्सन टु टुरिजम डेप्लपमेन्ट विषयको परीक्षा लिएको थियो । प्रश्नपत्र हेरेपछि परीक्षार्थीहरुको पसिना छुट्न थाले ।

प्रश्नहरु कठीन भएर होइन कि पाठ्यक्रमसँग असम्बन्धित भएकाले परीक्षार्थी आत्तिएका थिए । केही विद्यार्थीले ३ घण्टाको परीक्षा सुरु भएको एक घण्टामै उत्तरपुस्तिका बुझाएर बाहिरिए । केहीले हल्लाखल्ला गर्न थाले ।

इन्टरडक्सन टु टुरिजम डेप्लपमेन्ट विषयको बाँडिएको प्रश्नपत्रमा ९ वटा प्रश्न सोधिएका थिए । तर, कुनै पनि प्रश्नहरु पर्यटन विकाससँग सम्बन्धित थिएनन् । बरु सबैजसो प्रश्न भारतीय इतिहासको बारेमा थिए । जबकि यो विषयको पाठ्यक्रममा भारतसम्बन्धी एउटा पनि च्याप्टर छैन ।

भारतीय सिलेबसबाट प्रश्न सोधिएको भन्दै विद्यार्थीले होहल्ला गरेपछि बाँडिएको प्रश्नपत्र फिर्ता लिइयो र पुनः अर्को प्रश्नपत्र बाँडियो । तर, कतिपय विद्यार्थी उत्तरपुस्तिका बुझाएर बाहिरिइसकेका थिए । परीक्षा सुरु भएको केहीबेरमा नै सिलेबस बाहिरबाट प्रश्न आएको भन्दै उत्तरपुस्तिका बुझाएका विद्यार्थीलाई नयाँ प्रश्नपत्र दिने भनेर समयमै खबर गरेनन् परीक्षा सञ्चालकहरुले ।

परीक्षामा सहभागी भएकी सुनिता चौधरीले पढ्दै नपढेको प्रश्न आएपछि आफूले एक घण्टासम्म केही लेख्न नसकेको गुनासो गरिन् । साथीहरुले पनि हिजोको परीक्षा बिग्रिएको सुनाएको उनले बताइन् ।

देशकै सबैभन्दा पुरानो विश्वविद्यालय त्रिविको परीक्षामा यो पहिलो लापरबाही होइन । योभन्दा अघि एमएको प्रथम र तेस्रो सेमेस्टर तथा बीबीए छैटौं सेमेस्टरमा प्रश्नपत्रहरु दोहोरिएका थिए । तर, आजसम्म विद्यार्थीको भविष्यमाथि खेलवाड हुने गरी प्रश्नपत्र निर्माण गर्ने कर्मचारीहरुलाई न कारबाही नै गरिएको छ न त विश्वसनीय छानबिन नै । त्रिविको परीक्षा सञ्चालन गर्ने जिम्मेवार निकाय परीक्षा नियन्त्रण कार्यालय हरेक पटकको लापरबाहीपछि मौन बस्छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले हिजोको प्रश्नपत्र त्रुटि भएको स्वीकार गरे । उनले भने, ‘कहिलेकाहीं मानवीय त्रुटि हुन्छ । हिजोको प्रश्नपत्रको त्रुटि सामान्य हो । अब यस्तो गल्ती दोहोराउँदैनौं ।’

त्यसो त उनी हरेकपटक यस्तै रेडिमेड जवाफ दिएर पन्छिने गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा. शिवलाल भुसालले प्रश्नपत्र निर्माण गर्नेलाई गल्तीअनुसार कारबाही हुने बताए ।

उनले नेपालप्रेससँग भने, ‘कारबाही त हुन्छ, अब कुन तहको गल्ती हो, हेर्नुपर्छ । त्यो एकपटक बसेर छलफल गर्छौं । परीक्षा नियन्त्रकज्यूसँग बस्छौं अहिले ।’

यसअघि ठूला गल्तीहरु भएकाले त्यहीअनुसार छानबिन गरेको उनको दाबी छ । डा. भुसालले हिजोकाे प्रश्नपत्र दिल्ली विश्वविद्यालयबाट आएको भन्ने हल्ला सत्य नभएको बताए ।

उनी भन्छन्, ‘पहिलेका अलि ठूला मिस्टेकहरु थिए । त्यहीअनुसार छानबिन गरेका थियौं । अब यो चाहिँ कुन तहको हो । त्यहाँ दिल्ली विश्वविद्यालयको प्रश्न आएको भन्ने छ, त्यो त होइन । हामीकहाँ पनि मोर्डन इन्डियन हिस्ट्री पढाइ हुन्छ । त्यो विषयको जाँच पहिल्यै भइसकेको भन्ने सुनिएको छ । यताको उता भएको हो कि अथवा प्रश्नपत्र खोल्नेले बाँकी रहेको प्रश्न खोल्न गल्ती गरेको हो कि हेर्नुपर्छ । डिटेल मैले मेसो पाइसकेको छैन ।’

प्रश्नपत्रकाे चर्को आलोचना भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुले विज्ञप्ति निकालेको छ । इन्ट्रडक्सन टु टुरिजम डेप्लपमेन्ट विषयको परीक्षा सञ्चालन गर्दा प्राविधिक त्रुटिका कारण असार २८ गतेका दिन सम्पन्न भइसकेको हिस्ट्री अफ मोडर्न इन्डिया विषयको प्रश्नपत्र समावेश भएको सूचना पाएको विज्ञप्तिमा उल्लेख छ । सूचना पाउनेबित्तिकै तत्काल परीक्षा केन्द्रहरुमा जानकारी गराई इन्ट्रडक्सन टु टुरिजम डेभलपमेन्टको परीक्षा सञ्चालन भएको आधा घण्टामा सबै केन्द्रमा उक्त प्रश्नपत्र पठाइ परीक्षा सुचारु भएको दाबी गरेको छ ।

विज्ञप्तिअनुसार २९ वटा ऐच्छिक विषयमध्ये कुनै दुईवटा विषयहरु (जुन प्रथम, द्वितीय र तृतीय वर्षमा अध्ययन नगरेका विषयहरु) छनोट गर्नुपर्ने कारण परीक्षाको अवधि छोटो बनाउन साउन ६ र ८ गतेका दिन ऐच्छिक प्रथम र द्वितीय विषय छनोट गर्नुपर्ने व्यवस्थाअनुसार दुबै दिन २९ वटै विषयको प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइएको थियो ।

साउन ८ गतेको प्रश्नपत्र हिस्ट्री ४१० को विषयमा हिस्ट्री ४२५ को विषय समावेश हुन गएको विज्ञप्तिमा उल्लेख छ । एकको विषयकाे परीक्षामा अर्को विषयको प्रश्नपत्र पर्न गएको र परीक्षा अवधिमै समाधान भइसकेको तर देशभरका ३० वटा केन्द्रमा सञ्चालित परीक्षाका ८६९ परीक्षार्थीहरुलाई परीक्षा सञ्चालनमा अप्ठयारो पुगेको पनिकाले बताएको छ ।

यस विषयमा विस्तृत छानबिन गरी यथार्थ विवरण सार्वजनिक गरिने प्रतिबद्धतासहित मानविकी तेस्रो वर्षको अन्तिम परीक्षाको दिन घटेको यो घटनालाई मध्यनजर गर्दै अब उप्रान्त यस्ता त्रुटिहरु नदोहोरिने गरी व्यवस्थापन गर्ने परीक्षा नियन्त्रक पुष्पराज जोशीले प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर