शिक्षा सचिव अधिकारी र सहसचिव काफ्ले अनिवार्य अवकाशमा – Nepal Press

शिक्षा सचिव अधिकारी र सहसचिव काफ्ले अनिवार्य अवकाशमा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी अनिवार्य अवकाशमा गएका छन् ।

राजपत्राङ्कित विशिष्ट श्रेणी अर्थात् सचिवको पाँच वर्षे पूर्ण कार्यकाल पुरा गरेर सचिव अधिकारी आइतबारदेखि अनिवार्य अवकाशमा गएका हुन् ।

आज भन्दा ठिक पाँच वर्ष अघि उनी सहसचिवबाट सचिवमा बढुवा भएपछि उनको पहिलो पदस्थापन कोशी प्रदेशको प्रमुख सचिवमा भएको थियो ।

सचिवको पाँच वर्षे कार्यकालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रशासनिक नेतृत्व गरेका छन् ।

यस्तै मन्त्रालय अन्तरत कार्यरत सहसचिव डा.भोजराज काफ्ले पनि अनिवार्य अवकाशमा गएका छन् । उनी ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् ।

अनिवार्य अवकाशमा गएका सचिव अधिकारी र सहसचिव काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आइतबार मन्त्रालयमा बिदाइ गरेकी छन् ।

उनले तीन दशक लामो निजामती सेवाको लागि धन्यवाद व्यक्त गर्दै उनीहरूको अनुभव र विज्ञतामा आधारित योगदान आगामी दिनमा समेत मन्त्रालयलाई प्राप्त हुने अपेक्षा रहेको बताइन् ।

बिदाइ कार्यक्रममा मन्त्रालयका विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनी सहसचिव, उपसचिव र मन्त्रालयका कर्मचारीको सहभागिता थियो ।

यसैबीच शिक्षा सचिव अधिकारी अनिवार्य अवकाशमा गएसँगै एक सचिवको पद रिक्त भएको छ । सचिवको पद रिक्त भएसँगै लोक सेवा आयोगका अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस समितिको अब बस्ने बैठकले रिक्त रहेको सचिव पदमा बढुवाका लागि सिफारिस गर्नेछ ।

सम्भवतः अब बस्ने बढुवा सिफारिस समितिले तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गर्नेछ । जसमा पहिलो नम्बरमा सहसचिव गोविन्दबहादुर कार्की रहेका छन् । उनलाई सरकारले बागमती प्रदेश सरकारको कायममुकायम (कामू) प्रमुख सचिवको जिम्मेवारी दिइसकेको छ । सम्भवत: उनी नै सचिव बढुवा हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर