लुम्बिनी प्रदेशमै अत्याधुनिक भिडिओ एक्सरे मेसिन राप्ती स्वास्थ्य प्रतिष्ठानमा जडान – Nepal Press

लुम्बिनी प्रदेशमै अत्याधुनिक भिडिओ एक्सरे मेसिन राप्ती स्वास्थ्य प्रतिष्ठानमा जडान

घोराही । लुम्बिनी प्रदेशमै अत्याधुनिक भिडिओ एक्सरे (युएसजी)मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अत्याधुनिक सुविधायुक्त भिडिओ एक्सरे मेसिन प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो ।

बिहीबार एक कार्यक्रमकाबीच प्रदेशका स्वास्थ्यमन्त्रि दीपेन्द्र पुनले प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, रजिष्ट्रार प्राध्यापक श्याम लम्साल मेसिन हस्तान्तरण गरेका छन् ।

मन्त्री पुनले नै मेसिनको रिवन काटेर उद्घाटन गरेका थिए । मन्त्री पुनले अस्पतालको ओपीडी, इमरजेन्सी, सर्जरी लगायत विभिन्न विभागहरुको समेत स्थलगत अवलोकन गरेका थिए ।

अवलोकनपछि प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले प्रदेश सरकारको तर्फबाट सुविधा सम्पन्न भिडिओ एक्सरे प्रतिष्ठानलाई प्रदान गरेको भन्दै अस्पतालको सेवालाई चुस्तदुरुस्त र बिरामीमैत्री बनाउन आग्रह गरे ।

प्रतिष्ठान प्रदेशकै गौरवको आयोजना भएको भन्दै उनले पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा दाङलाई हव बनाउन सबैले सहयोग गर्नुपर्ने उनले बताए । यो प्रदेशमा सरकारी मेडिकल कलेजकारुपमा प्रतिष्ठान रहेकाले यसको विकासका लागि प्रदेश सरकारले सबैखाले सहयोग गर्ने प्रतिवद्धता गरे ।

उनले प्रतिष्ठानले एमडी पढाइ सुुरु गरीसकेको र एमबीबीएसको पढाइ पनि सुरु गर्ने गरी आफ्नो तर्फबाट तयारी तीव्र पारेकाले यसमा पनि प्रदेश सरकारले ल्याब बनाउनेदेखि पुर्वाधारमा केन्द्र सरकारसँग पनि समन्वय गर्ने कुरामा आश्वस्त पारे ।

त्यस्तै, मन्त्री पुनले एमविविएसको आवश्यक तयारीको लागि जिल्ला जनस्वास्थ्य कार्यालयको भवनलाई प्रयोगमा ल्याउन मन्त्रिस्तरीय निर्णय पनि गरिएको जानकारी दिए ।

जनस्वास्थ्य र प्रतिष्ठानको आपसी समझदारीमा भवनको प्रयोग गर्ने गरी व्यवस्था मिलाइएको उल्लेख गर्दै उनले अन्य स्थानमा जनस्वास्थ्यको भवन बनाउन आवश्यक बजेट विनीयोजन गरीने र भवन निर्माण भएपछि आफ्नो कार्यालयमा जनस्वास्थ्य सरेपछि प्रतिष्ठानले सबै भवन प्रयोग गर्ने बताए ।

फीलिप्स कम्पनीको नयाँ भिडिओ एक्सरे मेसिनवाट फोरडी इमेज, कलेजो स्पष्टसहीत देखिने र बच्चाहरुको विभिन्न अंगहरु पनि सजिलै देख्न सकिने प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराइले बताए ।

प्रतिष्ठानमा नयाँ भिडियो एक्सरे थपिएसँगै यसको संख्या २ पुगेको छ । भिडियो एक्सरे गर्ने रेडियोलोजिष्ट चिकित्सकहरुको संख्या ३ पुगेको छ । सो अवसरमा प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले प्रतिष्ठानको विस्तारीत सेवाको वारेमा जानकारी गराएका थिए ।

प्रतिष्ठानमा सीटी स्क्यान, आइसियु, एमआरआई, एनआइसियु, पिआइसियु जस्ता महत्वपुर्ण सेवाहरुसँगै चिकित्सकहरु पनि थपिँदै गएकाले अव सामान्य उपचारका लागि जिल्ला बाहिर यस क्षेत्रका जनताहरु जानुनपर्ने बताए । प्रतिष्ठाका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले प्रतिष्ठानको सेवालाई मजवुत बनाउदै शैक्षिक कार्यक्रमलाई पनि अघि बढाइ रहेको बताए ।

उनले विएनएस र विएसस्सी नर्सिङ, डाक्टरको स्नाकोत्तर तह(एमडी)को पढाइ सुरु गरेर शैक्षिक कार्यक्रमको सुरुवात गर्रीएको चर्चा गर्दै आवश्यक बजेट प्रतिष्ठानले पाएमा एमविविएसको पढाइ सुरु गर्ने बताए ।

उनले होलेरीमा प्रतिष्ठान र प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वय र व्यवस्थापनमा विशिष्टीकृत सेवा छिट्टै दिने गरी तयारी गरिएको बताए । मेडिकल अफीसर राखेर होलेरीमा विशिष्टकृत सेवा दिने गरी योजना अघि सारीएको उनको भनाइ छ ।

प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले प्रतिष्ठानले आफ्नो सेवासँगै शैक्षिक तथा अनुसन्धानमुलक कामहरु पनि अघि बढाएको बताए । एमबीबीएसको कक्षा संचालनको लागि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयको साथ अपरीहार्य रहेको कुरामा जोड दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर