सर्वोच्चले भन्यो- सिधा कुराको सामग्री दुराशयपूर्ण र नियोजित – Nepal Press

सर्वोच्चले भन्यो- सिधा कुराको सामग्री दुराशयपूर्ण र नियोजित

काठमाडौं। सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइमै सिधा कुरा डटकमबाट प्रसारित सामग्री दुराशयपूर्ण र नियोजित भएको निष्कर्ष निकालेको छ।

नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार आदेश गर्दै उक्त अनलाइनबाट प्रसारित ‘चार सय बढी भ्रष्ट्राचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अप्रेसन’ शीर्षकको सामग्री तथा त्यसपछि शृंखलाबद्ध रूपमा प्रसारण गरी अपलोड गरिएका सोही विषयसँग सम्बन्धित पछिल्लो श्रव्य दृश्य सामाग्री प्रथम दृष्टिमै अदालत, न्यायिक प्रक्रिया र समग्र न्याय प्रणालीप्रति भ्रम र अनास्था पैदा गरी अदालतको गरिमा र मर्यादामा आँच पुर्‍याउने तथा अदालतको न्याय सम्पादन सम्बन्धी कार्यमा अवरोध गर्ने उद्देश्यले उत्पादन तथा प्रसारण गरेको देखिएको ठहर गरेको छ।

इजलासले सिधा कुरा डटकमका सम्पादक र प्रकाशकलाई बयानका लागि उपस्थित हुन आदेश गरेको छ र भने उक्त अनलाइनले प्रसारण गरेका श्रव्य सामग्रीको प्राविधिक अनुसन्धान गर्न र आवश्यक परे कारबाही अगाडि बढाउन निर्देशन दिएको छ।

आदेशमा भनिएको छ- प्रस्तुत निवेदनसाथ पेश भएको सामग्रीलाई हेर्दा अदालतको संवैधानिक इजलासबाट मिति २०७८ वैशाख ८ मा फैसला भएको मुद्दाको सन्दर्भलाई लिएर उक्त मुद्दा फैसला गर्ने इजलासमै नरहेका यस अदालतका माननीय न्यायाधीश तथा उक्त मुद्दाको बहस पैरवीमा सहभागीसमेत नरहेका वरिष्ठ अधिवक्ता एवम् अधिवक्ताको उपस्थितिमा मुद्दालाई प्रभावित पार्ने प्रकृतिको छलफल भएको र उक्त छलफलमा संवैधानिक इजलासमा विचाराधीन रिट निवेदनमा सरकारी साक्षीको बयान फेर्न लगाउने जस्ता कार्यविधिगत रूपमा असङ्गत तथ्य समावेश भएको देखिँदा प्रथम दृष्टिमै अदालत, न्यायिक प्रक्रिया र समग्र न्याय प्रणालीप्रति भ्रम र अनास्था पैदा गरी अदालतको गरिमा र मर्यादामा आँच पुर्‍याउने तथा अदालतको न्याय सम्पादन सम्बन्धी कार्यमा अवरोध गर्ने उद्देश्यले उत्पादन तथा प्रसारण गरेको देखिएको ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर