त्रिभुवन विमानस्थलमा लागुऔषध तस्करको लस्कर, प्रहरीलाई सुराकीको मात्र भर – Nepal Press

त्रिभुवन विमानस्थलमा लागुऔषध तस्करको लस्कर, प्रहरीलाई सुराकीको मात्र भर

गृहमन्त्री रविको निर्देशनपछि आक्रामक बन्यो लागुऔषध नियन्त्रण ब्युरो

काठमाडौं । वैशाख ३० गते कतारबाट काठमाडौं ओर्लिएको केही बेरमा युगान्डाकी ४४ वर्षीया केभिना मुगालालाई प्रहरीले नियन्त्रणमा लियो । प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले विशेष सूचना पाएको थियो- मुगालाको पेटमा कोकिन छ ।

उनलाई तत्कालै महाराजगन्जस्थित प्रहरी अस्पताल पुर्‍याइयो । स्वास्थ्य परीक्षण गर्दा मुगालाको पेटबाट ९० वटा क्याप्सुल निस्किए ।

जोख्दा १ केजी २६० ग्राम तौल भयो । मुगाला आएकै विमानमा रहेकी युगान्डाकै लिलियान सुसान वानयेन्जीले पनि कोकिन बोकेर आएकी छन् भन्ने सूचना प्रहरीसँग थियो। त्यतिबेलासम्म वानयेन्जी ठमेलस्थित एक होटलमा पुगिसकेकी थिइन् ।

उनलाई नियन्त्रणमा लिएर प्रहरीले १ केजी ३ सय ९४ ग्राम कोकिन बरामद गर्‍यो । साथै वानयेन्जीले ल्याएको कोकिन लिन नेपाल आएकी ३३ वर्षीया भारतीय नागरिक देवाजनी पाल पनि प्रहरी फन्दामा परिन् । ‘उनीहरूले इथोपियाबाट ल्याएको कोकिन भारतसम्म पुग्ने गरेको देखिन्छ’, ब्युरो प्रमुख गोविन्द थपलियाले भने ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा एउटै विमानमा आएका वानयेन्जी र मुगालाले एक अर्कालाई नचिनेको बताएका छन् । उनीहरूले नेपालसम्म उक्त कोकिन ल्याएबापत २ हजार अमेरिकी डलर प्राप्त गर्ने गरेको बयान दिएका छन् । पक्राउ परेका दुवै युगान्डाली महिला पहिलो पटक नेपाल आएको पाइएको छ ।

‘उनीहरूलाई कोकिन बोकाएर पठाउने समूह एउटै हो की जस्तो देखिन्छ’, थपलियाले भने।

उनले यस किसिमले हुने लागुऔषध ओसारपसारबारे थाहा पाउने पूर्णरूपमा सूचनामै भर पर्नुपर्ने अवस्था रहेको बताए । पेटमा लुकाएर ल्याइने गरेको लागुऔषध थाहा पाउने प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नरहेको थपलियाले बताए ।

‘हामीसँग मेटलसम्म थाहा पाउने एक्सरे मेसिन छ । लागुऔषध थाहा पाउने मेसिन छैन । यो महँगो पर्छ । त्यसैले हामीले सूचनाकै भरमा मात्र बरामद र नियन्त्रणमा लिइरहेका छौँ’, उनले भने । विमानस्थलमा राखिएको एक्स रे मेसिनले पेटभित्र लुकाएर ल्याइने गरेको सुन भने थाहा पाउने गरेको छ’, उनले भने ।

ब्युरोले चालू आर्थिक वर्षमा देशभरबाट ७ केजी कोकिन बरामद गरेको छ । गत आर्थिक वर्षमा कोकिन १५ केजी बरामद भएको थियो । यस्तै करिब १४ केजी हिरोइन फेला परेको छ। यो अवधिमा लागुऔषध सम्बन्धी कसूरमा देशभर ४ हजार ८ सय १० जना पक्राउ परेका छन् । पक्राउ परेका दुई युगान्डाली महिलाबाट बरामद भएको कोकिनको अवैध बजार मूल्य ७ करोड ९६ लाख नेपाली रूपैयाँ हुने लागुऔषध ब्युरोले जनाएको छ ।

गृहमन्त्री रविको निर्देशनपछि ब्युरो आक्रामक

लागू औषध नियन्त्रण ब्युरो प्रमुख थपलियाले गृहमन्त्रीका रूपमा रवि लामिछाने आएपछि कारोबारीमाथि आक्रामक बनिरहेको बताएका छन्। लामिछानेको निर्देशनपछि लागुऔषध नियन्त्रणमा ब्युरो अझ सक्रिय भएको उनको भनाई छ।

‘गृहमन्त्रीका रूपमा लामिछाने आदेश भएपछि हामीले तीनजना कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएका छौँ’, उनले भने । विगतमा गुन्डाविरुद्ध गोली चलाउँदै आएको प्रहरीले पछिल्लो समय देशका विभिन्न ठाउँमा कारोबारीलाई गोली हानिरहेको छ ।

झापा, सुनसरी र बाँकेमा प्रहरीले हालै गोली प्रहार गरी कारोबारीलाई नियन्त्रणमा लिएको थियो । नेपालमा भारतबाट ब्राउन सुगर ल्याएर काठमाडौंसम्म पुर्‍याउने गिरोहहरू सक्रिय छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *