नेपालगन्जमा डेंगी सङ्क्रमणको उच्च जोखिम – Nepal Press

नेपालगन्जमा डेंगी सङ्क्रमणको उच्च जोखिम

बाँके। नेपालगन्ज उपमहानगरपालिका डेंगी रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ । बाँकेमा हालसम्म डेंगी सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

‘नेपालगन्ज डेंगी रोग सङ्क्रमणको उच्च जोखिममा रहेकाले रोकथामका लागि अभियान सुरु गरेका छौँ,’ उनले भने, ‘उपमहानगरका सबै वडामा लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने कार्य भइरहेको छ ।’

नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क क्षेत्रबाट डेंगी तथा कीटजन्य रोग सार्ने लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको सुरुआत गरेको उनको भनाइ छ । उपमहानगरका २३ वटै वडामा अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत लामखुट्टेको बासस्थान हुने पानी जमेको टायर, खाल्डाखुल्डी सरसफाइ गरी लार्भाको नष्ट गर्ने कार्य गरिने चन्दले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले डेंगी रोग सङ्क्रमण नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको सुरुआत गरेको उल्लेख गर्दै यो अभियानमा साथ र सहयोगका लागि नगरवासीलाई समेत अनुरोध गरे।

नेपालगन्ज बसपार्क क्षेत्र डेंगी रोग सङ्क्रमणको केन्द्रविन्दु हुनसक्ने भएकाले अभियानको सुरुआत बसपार्कबाटै गरिएको नगरप्रमुख बिष्टले बताए । बसपार्क क्षेत्रमा रहेका ग्यारेज, यातायात व्यवसायी र मजदुरहरुलाई प्रयागविहीन भएका टायर जथाभावी नछोड्न उनले आग्रह गरे ।

डेंगी रोग सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनाका साथै सो बारेमा समुदायमा सचेतना फैलाउने काम पनि भइरहेको नगरप्रमुख बिष्टले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर