नवलपरासीमा श्रीमान् श्रीमती घरभित्रै मृत फेला – Nepal Press

नवलपरासीमा श्रीमान् श्रीमती घरभित्रै मृत फेला

श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेको आशंका

रुपन्देही । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा श्रीमान श्रीमती एकै ठाउँमा मृत फेला परेका छन् ।

मध्यबिन्दु नगरपालिका वडा नं १२ बेलहानीमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार अन्दाजी ६५ वर्षीय श्रीमान् तुलबहादुर कुमाल र अन्दाजी ५५ वर्षीया मिना कुमाल मृत अवस्थामा आफ्नै घरमा भेटिएका हुन् ।

स्थानीय बासिन्दाका अनुसार कुमालको नयाँ घर बनाउन आउने कामदारहरूले घरका मान्छे बिहान अबेरसम्म नउठेपछि खोजीनिती गर्दा दुवै जना मृत अवस्थामा फेला परेका हुन् ।

तुलबहादुर कुमाल गए राति १० बजेसम्म छिमेकीहरूसँग नै सकुशल अवस्थामा रहेका स्थानीयले बताएका छन् ।

श्रीमती मिना कुमालको टाउकामा चोट लागेको छ भने श्रीमान् तुलबहादुर कुमाल झुन्डिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । स्थानीयले भने श्रीमानले श्रीमतीको हत्या गरी आफू पनि झुन्डिएर आत्महत्या गरेको आशंका गरेका छन् ।

यसअघि पनि श्रीमान् श्रीमतीबीच बेलाबेलामा झगडा हुने गरेको स्थानीयको भनाइ छ ।

प्रहरीले घटनामा हत्याको आशंका गर्दै घरमा अन्य आफन्त कोही नभएको र अहिले नै घटनाको बारेमा केही भन्न नसकिने प्रहरीले जनाएको छ । मृतकका छोरीज्वाई र आफन्तलाई बोलाएर प्रहरीले अनुसन्धान थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर