बालेनले किन भत्काउन लगाए भद्रकुमारी सेवा सदन ? – Nepal Press

बालेनले किन भत्काउन लगाए भद्रकुमारी सेवा सदन ?

१० नम्बरका वडाध्यक्ष भन्छन्ः वडासँग समन्वय गरिएन, यहाँ बालेनले जे चाहन्छन् त्यही हुन्छ

काठमाडौं । बुधबार बिहान काठमाडौं महानगरपालिकाको नगर प्रहरी अनामनगरस्थित देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनमा पुग्यो । नगर प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि सदनमा देखिएपछि भित्र रहेका कर्मचारीहरु त्रसित बने ।

यसअघि आइतबार नगर प्रहरीले तीन दिनभित्र सदन खाली गर्न अल्टिमेटम दिएको थियो । तीनदिनको अल्टिमेटम सकिएपछि नगर प्रहरीको टोली पुगेको हो । नगर प्रहरी पुग्दा सदन खाली गराइएको थिएन । साथै सदनले भाडामा लगाएको सटरहरु पनि यथावत थिए । नगर प्रहरी प्रमुख राजु पाण्डेले सटरदेखि सदनमा रहेको सगं्रहालयमा रहेका सामान हटाउन आदेश दिए ।

भद्रकुमारी घले स्वयमले पाण्डेलाई फोन गरेर आफूले काठमाडौं महानगरपालिकाको निर्णयको कदर गर्दै उक्त ठाउँ खाली गर्ने प्रतिवद्धता जनाइन् । आफ्नो संग्रहालयमा भएको सामान घरमा सुरक्षित ल्याइदिन आग्रह गरिन् ।

घलेको आग्रहपछि नगर प्रहरीले उनको संग्रहालयमा भएको सामान नगरको गाडीमा हालेर घर लगिदिए । त्यसपछि भने नगर प्रहरीले सदनको भवन भत्काउन थाल्यो ।

भद्र कुमारी घलेले सार्वजनिक जग्गा अतिक्रमण गरेर सेवा सदन सञ्चालन गर्दै आएको महानगरको भनाइ छ । ५ रोपनी १२ आना जग्गा २०२२ सालअघिदेखि उनले भोगचलन गर्दै आएकी थिइन् ।

उनले २०६२ सालमा सदन सञ्चालनमा ल्याएकी हुन् । उक्त सदनमा गुम्बा, बालगृह, होस्टल, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत छन् ।

सदनले २५ भन्दा बढी सटर भाडामा लगाएको थियो । अहिले ती भाडामा लगाएको सटरहरु खाली गराएर महानगरले डोजर लगाएको हो ।

सार्वजनिक जग्गामा सटर बनाएर भाडामा लगाएकाले सदन भत्काइएको १० नम्बर वडाध्यक्ष रामकुमार केसीले बताए । तर, वडासँग समन्वय नगरिकन महानगरले आफूखुशी काम गरेको उनको गुनासो छ ।

‘हामीले जग्गाको नक्सा महानगरलाई दिएका थियौं, सदन पुरै भत्काउने हो कि खाली मात्र गर्ने हामीलाई थाहा हुँदैन’, उनले भने, ‘यहाँ के गर्ने के नगर्ने मेयर बालेनलाई मात्र थाहा हुन्छ । उनीहरुले जे चाहेको हुन्छ त्यही हुन्छ । आज यहाँ भत्काउने बारेमा पनि मलाई जानकारी भएन ।’

मेयर बालेन साहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले नापीको नक्सामा पनि घलेले सार्वजनिक जग्गा वर्षौदेखि भोगचलन गर्दै आएको देखिएको बताए । उनका अनुसार त्यस क्षेत्रमा अन्य ठाउँहरुमा पनि सार्वजनिक जग्गा अतिक्रमण भइरहेको छ ।

महानगरको नयाँ नेतृत्व आइसकेपछि घलेलाई उक्त सदन खाली गराउन पटक–पटक आग्रह गर्दै आएको थियो । तर नटेरेपछि हस्तक्षेप गरेर सदन खाली गराइएको महानगरका प्रवक्ता नविन मानन्धरले बताए ।

‘अब अगाडिको प्रकृया के कसरी गर्ने भनेर छलफल हुन्छ । उहाँलाई महानगरले पटकपटक आग्रह गर्दा बेवास्ता गर्दै आउनुभएको थियो’, मानन्धरले भने ।

सदनमा रहेका अनधिकृत संरचना सबै हट्ने नगर प्रहरी प्रमुख पाण्डेले बताए । तर सबै भवन भत्काउने हो वा होइन भनेर छलफलपछि निर्णय लिने उनको भनाइ छ ।

यहाँ आश्रममा बसेका अशक्त–अपाङ्ग, बेसहाराहरुलाई मानव सेवा आश्रममा पठाइने पाण्डेले बताए । यहाँ रहेको विद्यालयको व्यवस्थापन महानगरको शिक्षा विभागले हेर्नेछ ।

सेवा सदनले भने आफूहरुले प्रयोग गरिरहेको जग्गा सार्वजनिक नभई नापीमा छुटेको दाबी गर्दै आइरहेको छ । भद्र कुमारी घलेले जुनसुकै समय पनि सबै संरचनाहरू सरकारलाई सुम्पिन तयार छु भन्दा पनि महानगरले ज्यादती गरेको कर्मचारीले गुनासो गरेका छन् ।

‘सहाराविहीन आमाबुबा बसिरहेको तथा अनाथ बालबालिकाहरु पढिरहेको भवन भत्काएर महानगरले राम्रो गरेन’, एक कर्मचारीले भने ।

सदनको भवन नभत्काइ सरकारी स्वामित्वमा प्रयोग गर्न स्थानीयले सुझाव दिएका छन् ।

 


प्रतिक्रिया

One thought on “बालेनले किन भत्काउन लगाए भद्रकुमारी सेवा सदन ?

  1. सम्पत्ति ध्वस्त गरेर कसैको भलो हुदैन । बनाउदा अप्रत्यक्ष रूपमा देशकै पैसा खर्च भयो अनि भत्काउदा पनि देशकै पैसा खर्च भयो । भत्काउनु मात्र समाधान होइन जस्तो मलाई लाग्छ । स्रोतको समुचित प्रयोग गर्नु नै देशको भलाई हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर