सुदूरपश्चिम स्पोर्ट्स अवार्ड आज – Nepal Press

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड आज

धनगढी । चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ आज आयोजना हुँदैछ । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा आज दिउँसो ३ बजेदेखि धनगढीको ओम प्यालेसमा अवार्ड सुरू हुनेछ ।

आयोजकले अवार्डको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने मञ्चका कोषाध्यक्ष नवराज पनेरुले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

महासचिव हरि जोशीका अनुसार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले ६ वटा विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । वर्षको उत्कृष्ट खेलाडी पुरुषमा एथलेटिक्सका शिवराज पार्की, क्रिकेटका दिपेन्द्रसिंह ऐरी, कबड्डीका प्रकाश गिरी, वर्षको उत्कृष्ट खेलाडी महिलामा क्रिकेटकी विन्दु रावल, एथलेटिक्सकी राजपुरा पछाई र फुटवलकी वर्षा ओली मनोनयनमा परेकी छिन् । वर्ष प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, कुस्तीका राजेन्द्र चन्द र भारात्तोलनका जीवन गौतम मनोनयनमा परेका छन् । वर्ष युवा खेलाडीमा भारात्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कडायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा परेका छन् ।

सुदुरपश्चिम आइकन पुरुष विधामा फेस्निङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा पर्दा सुदुरपश्चिम आइकन महिला विधामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दीपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेकी छिन् । ६ विधाको मनोनयन सार्वजनिक गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बाँकी दुई विधाका विजेतालाई अवार्ड कार्यक्रमै सम्मान गर्ने जनाएको छ । लाइफटाईम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डमा मनोनयन नहुने भएकोले कार्यक्रमकै दिन अर्थात् आज विजेताको घोषणा गरिने भएको हो ।

कार्यक्रममा हास्य कलाकार म्याक्सम गौडेल र गायक निशान भट्टराइको पनि प्रस्तुति रहने छ । प्रवेश भने नि:शुल्क रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *