रुसी फौजमा जोडिएका नेपालीको आग्रह: ‘सोचे जस्तो छैन, अप्लाइ नगर्दा हुन्छ’ (भिडिओ) – Nepal Press
फलो-अप

रुसी फौजमा जोडिएका नेपालीको आग्रह: ‘सोचे जस्तो छैन, अप्लाइ नगर्दा हुन्छ’ (भिडिओ)

काठमाडौं । रुसी फौजमा जोडिएका एक नेपाली युवाले रुस नआउन आग्रह गरेका छन् । पछिल्लो समयमा यूट्युबदेखि टिकटकमा रुसी फौजमा भर्तीका जानकारी भिडियोहरु छ्यापछ्याप्ती भएको अवस्थामा ती युवाले रुसी फौजमा नआउन र भर्ती नहुन सबैलाई आग्रह गरेका छन् ।

नेपाल प्रेसलाई प्राप्त एक भिडियोमा ती युवाले आफूहरु विद्यार्थी हुँदै रुसी फौजमा जोडिन पुगेको र सोचे जस्तो नभएको बताएका छन् । रुसी फौजमा भर्ना हुन उमेर समूहदेखि शिक्षासम्ममा कडाइ नभए पनि तलब निश्चित नभएकोदेखि धेरै जोखिम भएकोसम्म बताएका छन् । नेपाली सेनाबाट अवकास लिएपछि रुसी फौजमा जोडिएका ती युवाको भनाइ जस्ताको तस्तैः

‘सबै सबैलाई नमस्कार है ! म चैँ हाल रसियामा छु । रसियन आर्मीमा ज्वाइनभन्दा पनि कोही पनि नआउनु भन्न चाहन्छु । पूरै रिक्स छ के ! सोचे जस्तो छैन । एकदम लाइफको डिफिकल्ट पार्ट भनेकै यही जस्तो लाग्छ । वार परिराखेकाे छ युक्रेनसँग । त्यसको लागि अप्लाइ नगर्दा राम्रो हुन्छ । अब हामी त यही थियौं हैन । स्टुडेन्ट भिजामा आएका थियौं । राम्रै हुन्छ होला स्टुडेन्ट भिजामा भन्ने सोचेका थियौं । तर, दश घण्टा बाह्र घण्टा गर्नुपर्ने हैन । त्यसको लागि दश घण्टा बाह्र घण्टा काम गर्न धेरै गाह्रो हुन्छ के ! स्टुडेन्ट भिजामा आएर न पढ्न सकिन्छ ? हामीसँग लिमिट पैसा हुन्छ नि त नेपालबाट लिएर आएको । धेरै गाह्रो हुन्छ । काम गर्न उता गाह्रो भएर भिजा पनि धेरै थिएन । तीन महिनाको छ । तीन महिनाको भएपछि कि नेपाल फर्किनु पर्‍यो, कि नेपालबाट पैसा मगाएर भिसा लगाउनु पर्‍यो कि त आर्मीतिर खुलेको छ भने फम ज्वाइन गर्नुपर्‍यो । त्यो तीनटा अप्सन भएर चैँ हामीले लास्ट अप्सन रोजेको हो र आर्मीतिर ज्वाइन भएको हो । हामी यही थियौं सजिलो भयो, फम भर्‍यौं । चेस्टको एक्सरे गराउँछ । मेडिकल गराउँछ । अलिअलि लिखित हुन्छ । त्यही नै हो ।

अरु भनेको अब स्यालरीको बारेमा कुरा गर्नुभएको छ । स्यालरी ठ्याक्कै फिक्स छैन कत्ति हुन्छ भनेर । धेरै गाह्रो छ के हामीलाई एकदमै ! सोचे जस्तो छैन । किनभने अरुको कन्ट्रीमा । त्यहीमाथि भाषा आउँदैन हामीलाई । भाषा नआए पनि कमन कासन बुझिँदैन । एजको कुरा गर्नु भएको थियो । एजको लिमिट छैन । अहिले हामी स्टुडेन्टहरु छौं नि त सबै ! रसियनहरु त बुढाबुढा नि आउनु भएको छ । एक्स आर्मी होला सायद जहाँसम्म लाग्छ । एजको बारेमा कुरा भयो । स्यालरीको बारेमा कुरा भयो । एजुकेसनको बारेमा कुरा गर्नुहुन्छ भने एजुकेसन नि खोइ हामीले देखाउनु परेन । किनभने हामी स्टुडेन्ट भिजामा भनेपछि उहाँहरुले पासपोर्ट लिइदिनु भयो । पासपोर्ट हेर्नुभयो अनि इमिग्रेसन दिन्छ आउँदाखेरी एयरपोर्टमा । त्यसपछि कहाँ बस्दैछौं भनेर रजिस्ट्रेसन त्यही हो ।

रुसी फौजमा नेपाली भर्तीबारे सदनमा बहस हुँदा पनि सरकार मौन

नेपाल प्रेसले रुसी फौजमा नेपाली युवाहरुले विद्यार्थीदेखि पर्यटक भएर प्रवेश गरेको तथ्य सार्वजनिक गरेपछि प्रतिनिधिसभामा समेत यसबारेमा सवाल उठेको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुर्गा राईले सरकारसँग रुसी फौजमा नेपाली युवाहरुको भर्तीबारेमा ध्यानाकर्षण गराएकी थिइन् । राईले भनेकी थिइन्, ‘एकातिर नेपालले युक्रेनको पक्षमा मत दिने अर्कोतर्फ रुसी सेनामा नेपाली युवाहरू भाडाको सिपाहीको रूपमा काम गरिरहेको समाचार आउनु वास्तविकता के हो सरकारसँग माग गर्दछु ।’

सामाजिक सञ्जाल, सञ्चारमाध्यमदेखि सदनमा समेत नेपाली युवाहरुको रुसी फौजमा भएको भर्तीबारेमा कुरा उठ्दा नेपाल सरकार मौन छ । २०७९ भदौ २८ गते रुसस्थित नेपाली दूतावासले विद्यार्थीहरु गैरविद्यार्थी काममा लागेको संकेत गर्दै ‘जरुरी सूचना’ जारी गरेको थियो । दूतावासको सूचनामा विद्यार्थीहरु फौजमा भर्ना हुन सक्ने वा भएको जस्तो संकेत आउने गरी सचेत गराइएको थियो । सूचनामा भनिएको थियो, ‘विद्यार्थी भिसामा रुसी महासंघ आउँदा अध्ययनबाहेक अन्य कुनै प्रकारको आश्वासन प्रलोभनमा नपर्नुहुन सम्बन्धित सबै नेपाली विद्यार्थी तथा अभिभावकहरुलाई हार्दिक अपिल गर्दछौं ।’

याे पनि पढ्नुस् : युक्रेन युद्धसँगै सैनिक भर्तीबारे पुटिनको त्यो निर्णय- यसरी प्रवेश गर्दैछन् रुसी फौजमा नेपाली युवा (भिडिओ)

सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमा सैन्य हमला सुरु गरेको थियो । अहिलेसम्म जारी रुस युक्रेन युद्धमा विदेशीहरुलाई रुसी फौजमा भर्तीको आकर्षण बढाउन रुसी सदन स्टेट डुमाले सन् २०२२ सेप्टेम्बर अन्तिम हप्तामा एक विधेयक पारित गर्‍यो । विधेयकले विदेशीहरुलाई रुसी फौजमा लागेको एकै वर्षमा नागरिकता दिने प्याकेज ल्यायो । सन् २०२३ मे १६ मा रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले उक्त विधेयक प्रमाणीकरण गरेर कानूनी हैसियत दिए । त्यही कानूनी प्रावधानबाट आकर्षणमा परेर नेपालीहरु विद्यार्थी तथा पर्यटक भएर रुसी पुग्दै फौजमा भर्ती भइरहेका छन् । रुसस्थित नेपाली दूतावासका द्वितीय सचिव सुशील घिमिरेले नेपाल प्रेससँग बोल्दै नियमित सेनामा नेपालीहरु निजी फौजमा मर्सिनरीको रुपमा गएको हुनसक्ने बताएका थिए ।

यता, रुसको काठमाडौंस्थित दूतावासका अधिकारी एलेक्जेन्डर सामात्कोभले भने नेपालीहरु रुसी फौजमा पुगेकोतर्फ संकेत गर्दै नेपालीहरु रुसी फौजमा गएको भए पनि निजी रुपमा गएको भन्दै त्यसको कूटनीतिक जानकारी नहुने बताएका थिए ।

याे पनि पढ्नुस् : दूतावासको ताकेता लत्याउँदै नेपाली युवा धमाधम रुसी फौजमा ! (भिडिओ)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर