युक्रेन युद्धसँगै सैनिक भर्तीबारे पुटिनको त्यो निर्णय- यसरी प्रवेश गर्दैछन् रुसी फौजमा नेपाली युवा (भिडिओ) – Nepal Press

युक्रेन युद्धसँगै सैनिक भर्तीबारे पुटिनको त्यो निर्णय- यसरी प्रवेश गर्दैछन् रुसी फौजमा नेपाली युवा (भिडिओ)

रुसी सेनामा नेपाली युवा संलग्नताबारे दुवै देशका दूतावास भन्छन्- व्यक्तिगत रुपमा गएका हुनसक्छन्, आधिकारिक जानकारी छैन

काठमाडाैं । केही हप्ता यता सामाजिक सञ्जाल टिकटक, टेलिग्राम र युट्युबमा नेपाली युवाहरू रुसी फौजमा प्रवेश पाएका भिडियोहरू यत्रतत्र छरिएका छन् । कुनै भिडियोमा तालिमका दृश्यहरू छन् त कुनैमा तालिम क्षेत्रमा पुगेका यात्राका दृश्य ।

कुनै भिडियोमा नेपाली युवाहरू आफैंले बोलेर रुसी फौजमा लागेको खुलाएका छन् भने कुनैमा अरूले बनाएर राखेका भिडियोमा नेपालीहरू रुसी फौजमा सहभागी भएका भिडियोहरू सामाजिक सञ्जालमा छताछुल्ल भएका छन् । कतिपय टिकटक र युट्युब भिडियोमा त रुसी सेनामा नेपालीहरुले कसरी प्रवेश गर्ने भन्नेसम्मका सूचनासमेत राखिएकाे छ ।

सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमा सैनिक हमला सुरू गरेसँगै विदेशीहरूलाई आफ्नो सेनामा तान्न कोसिस गरिरहेको छ । त्यसमा नेपालीहरू पनि आकर्षित भएको देखिएको छ ।

नेपाल प्रेसले रुसी फौजमा जोडिएका दुई युवासँग कुराकानी गरेको छ । दुवैसँग टेलिग्राम कुराकानी भएको हो । दुवैले आफ्नो खास परिचय दिन चाहेनन् । तर, उनीहरूले रुसी फौजमा प्रवेश गरेको आफ्नाे कथा भने बताएका छन् । कोशी र कर्णाली प्रदेशका दुई युवाले आफ्नो रुसी फौज प्रवेशको कथा सुनाएका हुन् । सामाजिक सञ्जालमा आएका भिडियोहरूमात्रै यहाँ प्रयाेग गरिएको छ ।

 

कोशी प्रदेशका युवा, जो भिजा सकिन लाग्दा रुसी फौजमा जोडिए

म रुस पढ्न आएको हो । म एक स्टेट युनिभर्सिटीमा पढेको विद्यार्थी हुँ । पढाइ सकेपछि मेराे अगाडि दुई विकल्प थिए । एक, नेपाल फर्किएर बेरोजगार हुने । दुई, रुसी फौजमा लागेर रोजगार हुने । रुसी फौजमा लागेर युद्धमा जाँदा जोखिम छ, थाहा छ । तर, नेपाल पुगेर बेरोजगार हुनु पनि उत्तिकै जोखिम हाे । यूके र यूएसए जान सजिलो छैन । मैले रुसी आर्मीमा प्रयास गरें । रुस-युक्रेन युद्ध भएपछि रुसी फौजमा विदेशी विद्यार्थीहरूलाई सजिलो छ । फिजिकल फिटनेस राम्रो भएकाले मलाई टेस्ट दिन सजिलो भयो । मैले मे अन्तिममा अप्लाइ गरेको हुँ । सेलेक्ट भइहालें । अहिले म तालिममा छु । रुसले जितेको युक्रेन क्षेत्र नजिकैको रुसकै भूमिमा तालिम भइरहेको छ । यहाँ तालिममा दर्जन बढी नेपाली छौं । नेपालीमात्रै छैनौं । बेलारुसदेखि अफ्रिकासम्मका छन् । हामीलाई आधुनिक हतियार चलाउन सिकाइँदैछ । दिनभर र कहिलेकाहीं राति पनि तालिम हुन्छ । तालिमकै अवधिमा पनि झन्डै नेपाली पचास हजार रुपैयाँ बढी तलब हुन्छ । बीमा छ । एक वर्षपछि यहाँको नागरिकता पनि पाइन्छ । एक वर्षमा मरिएन भने यतै बस्ने हो ।

कर्णालीका युवा, जो नेपाली सेना छाडेर दुबई पुगे, दुबईबाट रुस

मैले नेपाली सेनामा काम गरेको थिएँ । सेनाको सिपाहीमा नपोसाएपछि म राजीनामा दिएर दुबई आएँ । दुबईमा सुरक्षा गार्ड भएर काम गरें । मे अगाडिसम्म सुरक्षा गार्डमै काम गरें । पछि साथीहरूले रसियन आर्मीमा जागिरको अवसर छ भने । रुस घुम्न पनि पाउने र सैनिक जागिरको अनुभव पनि भएकाले म पर्यटक बनेर रुस पुगें । रुस र दुबईको सीधा उडान भएकाले सहज आइयो ।

अहिले रुसी फौजमा जोडिएको छु । नेपाली सेनाको तालिम लिएकाले रुसी फौजमा तालिममा कुनै गाह्रो भएको छैन । नेपालको जस्तै पहाड भएको ठाउँमा हामी छौं । यहाँ झन्डै दुई सय विदेशी र तीन नेपाली साथीसँगै म छु । हामीले फ्रान्सकाे आर्मीमा जाने सोचेका थियौं । त्यहाँ लामो प्रक्रिया र युरोप छिर्ने गाह्रो थियो । रुस सजिलो भयो । यतै आइयो । अहिले तालिम चलिरहेको छ । अहिले रुसी भाषा जान्नैपर्छ भन्ने नियम छैन । अंग्रेजी भाषामात्रै जान्दा पनि हुन्छ ।

नेपाली युवाहरूलाई तान्ने पुटिनको त्यो निर्णय

सन् २०२२ सेप्टेम्बर अन्तिम हप्तामा रुसी सदन ‘स्टेट डुमा’ले एक विधेयक पारित गर्‍यो । त्यो विधेयकले एक वर्ष रुसी सेना, रुसी फौज वा अन्य सैन्य सेवामा आवद्धहरूलाई सैनिक क्षेत्रमा सहभागी भएको एक वर्षमै रुसी नागरिकता दिने सहज प्रावधान ल्यायो । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले सन २०२३ मे १६ मा त्यो विधेयक प्रमाणीकरण गरेका थिए । त्योसँगै विधेयक ऐन बनेको छ । विधेयकको प्रमाणीकरणसँगै रुसी फौजमा एक वर्ष काम गरेका जुनसुकै देशका युवासँगै उनीहरूका श्रीमानश्रीमती वा परिवारका सदस्यहरूले सहज रुपमा रुसी नागरिकता लिन पाउनेछन् ।

रुसी फौजमा सहज प्रवेश र नागरिकता पाउने ‘आकर्षक’ प्रावधानले गर्दा धेरै नेपाली त्यसमा आकर्षित भए । त्यसमध्येमा दुई हुन् नेपाल प्रेसले संवाद गरेका दुई युवा । रुसी फौजमा प्रवेश गरेका कोशीका युवालाई नेपाल प्रेसले सोध्यो- युद्ध भएको देशमा पचास हजार बढीको तलबमा किन जानु भएको ? उनले जवाफ दिए, ‘खान र बस्न दिएर नियमित २५ हजार तलब दियोस् न सरकारले । म नेपाल आएर म्यादी प्रहरी हुन तयार ।’

‘नेपालीहरू नियमित सेनामा गएका होइनन्, मर्सिनरीमा गएका हुन सक्छन्’

मस्कोस्थित नेपाली दूतावासका सेकेन्ड सेक्रेटरी सुशील घिमिरेले नेपाल प्रेससँग कुरा गर्दै रुसी नियमित सेनामा नेपाली प्रवेश गरेको जानकारी नभएको बताए । तर, रुसको मर्सिनरी फौजमा भने प्रवेश गरेको हुनसक्ने भए पनि दूतावासलाई जानकारी नभएको उनले बताए ।

उनले भने, ‘पहिले युक्रेन फौजमा पनि नेपाली प्रवेशको कुरा आएको थियो । पछि हल्लामात्रै देखियो ।’

रुसमा विदेशीहरूलाई सैनिकको रूपमा लिने कानून नै भएको प्रसङ्गमा भने घिमिरेले दूतावासलाई नेपालीहरू रुसी फौजमा जोडिएको कुनै औपचारिक जानकारी नभएको बताए ।

रुसी दूतावास भन्छ: व्यक्तिगत प्रवेशमा कूटनीतिक जानकारी हुन्न

काठमाडौंस्थित रुसी दूतावासका फर्स्ट सेक्रेटरी एलेक्जेन्डरले नेपाल प्रेससँग कुरा गर्दै नेपालीहरूको रुसी फौजमा प्रवेशको कुनै कूटनीतिक जानकारी नभएको बताए । रुसमा व्यक्तिगत तवरमा सैनिकको रूपमा प्रवेश गर्न पाउने भएकोले व्यक्तिगत रूपमा भएको प्रवेशमा कूटनीतिक जानकारी नहुने उनकाे भनाइ छ । उनले भने, ‘यसमा धेरै जानकारी नभएकोले यसै भन्न सकिन्न ।’


प्रतिक्रिया

2 thoughts on “युक्रेन युद्धसँगै सैनिक भर्तीबारे पुटिनको त्यो निर्णय- यसरी प्रवेश गर्दैछन् रुसी फौजमा नेपाली युवा (भिडिओ)

  1. जाउ नेपाली जहाँगएपनि हाम्रो भाग्यमा सुख लेखेको छैन नत म जन्मेको देश भनेर बाँच्ने र गौरबगर्नेनै आधार छ न त अमन चयन र सम्भाब्यता ! कम्सेकम बिदेशी भूमीमा यो प्राण छनजेल पाखुरा बजार्यो बांचेसम्म र दैबनलागुन्जेल त छोराछोरी र घरपरिवारले त ढुक्कसंग खाएकाछन। निराधार कमेन्ट र प्रोपोकान्डा मच्याउनुभन्दा हामीलाइ त भएन छोराछोरी र नातीनातिनालाइ हामीलाइ जस्तो प्राणलाइ आँसीको धारमा चांही हिंडाउननपरोस।कामना गरौं पुरानाबाट रत्ती आसछैन नयां र नयाँभिजनभएका युवा आए केही आसाका किरण त पलाउंछनकी ? आशागरौं र कामना गरौं ल !!!

  2. good good….. nepal ko bhrasta sarkar ko ghaitama gham lagosh na…nepal ma imandarika sath garera khanxu vanda ta uchit batawaran xaina…utai thik xa keta ho….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर