वर्डप्रेसमा बढ्दो आकर्षण, यो वर्ष पनि ‘वर्डक्याम्प काठमाडौं २०२३’ को तयारी – Nepal Press

वर्डप्रेसमा बढ्दो आकर्षण, यो वर्ष पनि ‘वर्डक्याम्प काठमाडौं २०२३’ को तयारी

काठमाडौं । संसारमा सबैभन्दा प्रयोग गरिएको, नि: शुल्क र खुला स्रोत वेबसाइटका रूपमा परिचित वर्डप्रेस पछिल्लो समय अधिकांशको रोजाइ बनेको छ । यसमा नि: शुल्क प्लगइनहरू र थिमहरू (विषयवस्तुहरू) को धेरै समृद्ध संग्रह छ जुन स्थापना गर्न र प्रयोग गर्न सजिलो भएको जानकारहरू बताउँछन् ।

धेरै व्यक्तिगत वेबसाइटहरू, स्वतन्त्र ब्लगहरू, कर्पोरेट वेबसाइटहरू, इकमर्स, सदस्यता वेबसाइटहरू वर्डप्रेस नै प्रयोग गरेर बनाइएका छन् ।

यसै क्रममा वर्डप्रेससम्बन्धी अझ बढी जानकारी दिने उद्देश्यले नेपाल-वर्डप्रेस कम्युनिटी काठमाडौंले यो वर्ष पनि ‘वर्डक्याम्प काठमाडौं २०२३’ को तयारी गरिएको छ । वर्डप्रेसमा संलग्न रहेर वेबसाइट डेभलपमेन्टमा योगदान पुर्‍याउँदै आएकाहरूले वर्षेनी विश्वका विभिन्न स्थानमा वर्डक्याम्प आयोजना गर्दै आएका छन् । सोहीअनुरूप नेपालमा पनि वर्षेनी यो अभियान चलाइन्छ । यस वर्षको ‘वर्डक्याम्प काठमाडौं २०२३ ‘ आउँदो भदौ २२ र २३, २०८० (सेप्टेम्बर ८-९, २०२३) सम्म आयोजना गरिँदैछ ।

विश्वमै ख्याति कमाएको यस समारोहमा वर्डप्रेसका वेबसाइट डेभलपर, कन्टेण्ट राइटर, डिजाइनर, फोटोग्राफरलगायतको सहभागिता तथा प्रस्तुति रहन्छ ।

अद्यावधिक तथ्यांकअनुसार विश्वका शीर्ष १० मिलियन वेबसाइटमध्ये ४२.२ प्रतिशत वेबसाइट वर्डप्रेसबाटै बनेका छन् । सामान्यतया वेबसाइट डेभलपमेन्टका निमित्त कोडिङ तथा कुनै प्रोग्रामिङ ल्याग्वेजको ज्ञान हुनुपर्ने धारणा रहन्छ । यद्यपि वर्डप्रेसमा भने प्रोग्रामिङको ज्ञान नभएका व्यक्तिहरूले पनि आवश्यकताअनुरूप पहिले नै बनाइएका थिम, प्लगिङ तथा डिजाइनमार्फत आफू अनुकुल वेबसाइट बनाउन सक्छन् । उक्त थिम नि:शुल्क र श:शुल्क दुवैरूपमा उपलब्ध हुन्छन् ।

वेबसाइट बनाउनका लागि मात्र नभएर आफ्नै थिम, प्लगिङ, डिजाइनमार्फत आम्दनी गर्नका निमित्त पनि यो प्ल्याटफर्म प्रभावकारी मानिने डेभलपरहरू बताउँछन् । वर्डक्याम्प समारोहमा यसै वर्डप्रेसमा आवद्द समुदायमार्फत वर्डप्रेसका विभिन्न आयामहरूमा सेसन सञ्चालन गरिन्छ । आयोजकका अनुसार उक्त सेसनहरू वर्डप्रेस सेक्युरिटी, वर्डप्रेस थिम र प्लगिन डेभ्लपमेनट, वर्डप्रेसको महत्व र प्रयोगलगायतमा विभाजन हुने गर्छन् । यसर्थ सहभागीले वेब डेभलपमेण्टका विभिन्न क्षेत्रमध्ये आफ्नो अभिरुचि अनुरूपको सेसनमा सहभागिता जनाउन सक्छन् ।

सजिलो, छिटो, राम्रो साथै कम झन्झटिलो प्रविधिमार्फत वेबसाइट डिजाइन गर्न चाहने तथा वेब डेभलपमेन्ट क्षेत्रमा आफ्नो भविष्य खोजिरहेका जो कसैलाई पनि यो समारोहले विशेष सहयोग पुर्‍याउने आयोजकले जनाएका छन् ।

कार्यक्रमको पूर्णजानकारी यस लिंकमा गएर हेर्न सकिने आयोजकले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर