प्रदेश प्रमुख सचिवबाटै प्रदेश र स्थानीयका कर्मचारीको असाधारण बिदा स्वीकृत हुने – Nepal Press

प्रदेश प्रमुख सचिवबाटै प्रदेश र स्थानीयका कर्मचारीको असाधारण बिदा स्वीकृत हुने

काठमाडौं । प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको अध्ययन पूर्वस्वीकृति, स्वदेश तथा वैदेशिक अध्ययन-तालिममा मनोनयन र अध्ययन तथा असाधारण बिदा प्रदेश प्रमुख सचिवबाट स्वीकृत हुने भएको छ । मन्त्रिपरिषद्को जेठ ९ गते बसेको बैठकले निर्णय गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त जानकारी सबै निकायलाई परिपत्र गरेको हो ।

सबै मन्त्रालय, आयोग, कार्यालय र सचिवालय, सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र ७५३ वटै स्थानीय तहलाई जानकारी गराएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार सम्बन्धित प्रदेशको कानूनले व्यवस्था नगरेसम्मका लागि कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम प्रदेश र स्थानीय तहमा समायोजन भएका निजामती कर्मचारी र लोकसेवा आयोग तथा प्रदेश लोकसेवा आयोगको सिफारिसमा नियुक्त भएका प्रदेश तथा स्थानीय तहका कर्मचारीको हकमा यस्तो निर्णय भएको हो ।

निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० का आधारमा प्रदेश प्रमुख सचिवले स्वीकृत गर्नेगरी निजामती सेवा नियमावली, २०५० को नियम १३५ को उपनियम १ बमोजिम अधिकार प्रत्यायोजन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

जसमा प्रदेशमा कार्यरत राजपत्रांकित द्वितीय श्रेणीको उपसचिव वा अधिकृतस्तर दशौं तहसम्मको कर्मचारीको हकमा सम्बन्धित प्रदेश सचिवको सिफारिसमा र स्थानीय तहमा कार्यरत सोही श्रेणी वा तहसम्मका कर्मचारीको हकमा सम्बन्धित स्थानीय कार्यपालिकाको सिफारिसमा स्वीकृत गर्ने भनिएको छ ।

स्वीकृतिको जानकारी प्रदेश प्रमुख सचिवले तीन दिनभित्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सेवा समूह सञ्चालन गर्ने संघीय मन्त्रालय र राष्ट्रिय किताबखाना (निजामती)मा समेत पठाई विवरण अध्यावधिक गर्न भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर