बजेटकाे व्यवस्थाले भन्सार कार्यालयहरूमा लफडा, भएको के हो ? – Nepal Press

बजेटकाे व्यवस्थाले भन्सार कार्यालयहरूमा लफडा, भएको के हो ?

काठमाडौं । अहिले देशभरका केही भन्सार कार्यलयमा गैरभन्सार एजेन्टहरुले धर्ना र आन्दोलन सुरु गरेका छन् । सरकारले बजेटमार्फत भन्सार एजेन्टले नियुक्त गरेको भन्सार प्रतिनिधिहरु हटाएको विरोधमा धर्ना र आन्दोलन गरिरेहका हुन् ।

वीरगन्ज भन्सार कार्यलयका एक कर्मचारीले भने, ‘अहिले वीरगन्ज भन्सार कार्यलयमा लफडा भइरहेको छ । नयाँ बजेटले भन्सार एजेन्टले नियुक्ति गरेको प्रतिनिधिहरु हटाएको विरोधमा प्रर्दशन गरिरहेका छन् । अहिले यो भन्सारमा लेबरले समेत काम नगरी बसेका छन् । भन्सारका एजेन्टहरुले नै वस्तु बोकेर जाँच पास गराइरहेका छन् । नेपाली मात्रै नभएर भारतीयहरुले समेत आएर काममा अप्ठारो पारिरहेका छन् ।’

वीरगन्ज भन्सार कार्यलयका भन्सार अधिकृत डिलाराम पन्थीले भन्सार प्रतिनिधि हटेको जानकारी गराएको बताए । उनले भने, ‘हामीले कानूनअनुसार नै भन्सार एजेन्टका प्रतिनिधि हटेको भनेर जानकारी गराइसकेका छौं । अहिले त्यसैको भिड देखिएको हो । अवस्था सामान्य नै रहेको छ ।’

मेची भन्सार कार्यालय भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्सार कार्यलयमा धेरै समस्या नरहेको बताए । ‘हामीले बजेटमा यस्तो व्यवस्था भएको छ जानकारी गराएका थियौं’, उनले भने, ‘राष्ट्रिय रुपमा नै केही गर्न सकिन्छ की भन्ने भन्सार प्रतिनिधिहरुको पनि केही होला । तर, अब राजपत्रमा नै प्रकाशित भएर लागू भइसकेको छ । अब भन्सार एजेन्टका प्रतिनिधिहरुले काम गर्न पाउदैनन् ।’

त्यस्तै, विराटनगर, वींरगन्ज, मेची र त्रिभुवन विमानस्थलको भन्सार कार्यलयहरु पनि प्रभावित भएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यलयका सहसचिव अम्बिका खनालले आज भन्सारमा खासै काम नभएको बताए ।

‘भन्सार एजेन्टहरुले भन्सार प्रतिनिधि राख्न पाउनु पर्ने भन्दै आज विरोध गरीरहेका छन् । मन्त्रालय र भन्सार विभागमा गएर प्रतिनिधि राख्न पाउनु पर्ने माग राखेको कुरा जानकारीमा आएको छ’, उनले भने, ‘अरु दिनको तुलनामा आज १० प्रतिशत मात्रै वस्तुको भन्सार भएको छ । हाम्रो तर्फबाट केही समस्या छैन् । तर, भन्सार एजेन्टले प्रतिनिधि राख्न पाउनु पर्ने भन्दै भन्सारमा विरोधस्वरुप काम नै बन्द गरेका हुन् ।’

यता भन्सार विभागका सूचना अधिकारी पुष्णविक्रम खड्काले भने भन्सारमा समस्या भएको विषयमा अहिलेसम्म आफूलाई जानकारी नभएको बताए ।

आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमा भन्सार ऐन संशोधन गरी भन्सार एजेन्टका प्रतिनिधिहरू हटाएको छ । नेपाल सरकारद्वारा भन्सार एजेन्टले नियुक्त गरेका प्रतिनिधि खारेज गरेको हो ।

भन्सार ऐन २०६४ को दफा ५१ मा भन्सार एजेन्टको इजाजत पत्र सम्बन्धी व्यवस्थाको उपदफा १ मा ‘निकासी वा पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्ट वा प्रतिनिधिको रूपमा काम गर्न चाहने व्यक्तिले विभाग वा भन्सार कार्यालयबाट भन्सार एजेन्टको इजाजत पत्र लिनु पर्ने छ’, भन्ने व्यवस्थालाई व्यवस्था थियो ।

संशोधन गरी सो को सट्टा ‘निकासी वा पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्टको रूपमा काम गर्न चाहने व्यक्तिले विभागबाट भन्सार एजेन्टको इजाजत पत्र लिनु पर्ने छ’ भन्ने व्यवस्था गरेको छ ।

यही व्यवस्थाको विरुद्धमा पुराना भन्सार एजेन्टहरुले देशभरको विभिन्न भन्सार कार्यलयमा अवरोध गरिरहेका हुन् ।

यसभन्दा अघि भन्सार एजेन्टले नै भन्सार प्रतिनिधि तोक्न पाउने व्यवस्था थियो । एकजना भन्सार एजेन्टले २ जना प्रतिनिधि तोक्न पाउने व्यवस्था थियो । नयाँ बजेटसँग त्यो हटेको छ ।

संशोधित भन्सार ऐनअनुसार अब भन्सार एजेन्ट स्वयं भन्सार कार्यालयमा उपस्थित भई मालवस्तु जाँच पास गर्नुपर्ने भएको छ । र यो व्यवस्था आर्थिक विधेयक सँगसँगै लागू भएको हो ।

भन्सार एजेन्टको काम के हो ?

विदेशबाट वस्तु आयात गर्दा वा नेपालबाट नेपाली वस्तु विदेशमा निर्यात गर्दा भन्सार एजेन्टले सहजीकरण गर्ने गरेका छन् । विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात-निर्यातमा सहजीकरण गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर