बन्द प्रशिक्षणमा खेलाडी नपठाउने १० क्लबको निर्णयले साफ च्याम्पियनसिपको तयारी प्रभावित – Nepal Press

बन्द प्रशिक्षणमा खेलाडी नपठाउने १० क्लबको निर्णयले साफ च्याम्पियनसिपको तयारी प्रभावित

काठमाडौं । गत संस्करणको साफ च्याम्पियनसिपमा फाइनलसम्मको यात्रा तय गरेको नेपाली पुरुष राष्ट्रिय फुटबल टीमका लागि यस संस्करणको मुख्य चुनौती भनेको सोही उपलब्धी कायम राख्नु हो ।

तर एक त कुवेत र भारत जस्तो बलियो टीम आफ्नो समूहमा हुँदा समूह चरण पार गर्नै नेपाललाई गाह्रो हुने देखिन्छ । साफको उपाधि जितेमा भने त्यो नेपाली फुटबल इतिहासकै सबैभन्दा ठूलो उपलब्धी हुनेछ ।

असार ८ बाट भारतको बेग्लोरमा सुरु हुने प्रतियोगिताका लागि मुख्य प्रंशिक्षक भिसेन्जो अल्बेर्टो एनिसले मंगलबार ३० सदस्यीय प्रारम्भिक टीमको घोषणा गरेका थिए ।

नेपाली टीमले बिहीबारबाट मात्र बन्द प्रशिक्षण सुरु गरेको थियो । छोटो तयारीका बाबजुद उत्कृष्ट नतिजाको दबाबमा रहेको नेपालमाथि बिहीबार सहिद स्मारक ए डिभिजनमा सहभागी १० क्लबले गरेको निर्णयले दबाब थपिदिएको छ ।

क्लबहरुले खेलाडी बन्द प्रशिक्षणमा नपठाएको कुरामा ध्यानाकर्षण गर्दै एन्फाले पनि तत्काललाई राष्ट्रिय टीमको बन्द प्रशिक्षण रोकेको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्वनिर्धारित सम्झौताअनुसार तयारी खर्चबापत दिनु पर्ने दोस्रो किस्ता उपलब्ध नगराएको भन्दै रुष्ट रहेका क्लबहरुले एकतर्फी रुपमा आफ्ना खेलाडीलाई बोलाइएको भन्दै राष्ट्रिय टीमको बन्द प्रशिक्षणमा खेलाडी नपठाउने निर्णय गरेपछि नेपाली टीमको तयारी थप प्रभावित हुने भएको छ ।

फ्रेन्ड्स क्लबमा बसेको संयुक्त बैठकमा चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, मनाङ मस्र्याङदी क्लब,न्युरोड टिम (एनआरटी),हिमालयन शेर्पा, सातदोबाटो युथ क्लब, खुमलटार क्लब र थ्री स्टार क्लबले संयुक्त विज्ञप्त्ति जारी गर्दै २४औं चरणका खेलहरुबाट कालो पट्टी बाधेर मैदान उत्रने समेत निर्णय गरेका छन् ।

तीन विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफका साथै जावलाखेल युथ क्लब भने बैठकमा सहभागी थिएनन् ।

हामीले यसअघि नै लिगका कारण साफ च्याम्पियनसिपको तयारी प्रभावित हुने तालिका देखेसँगै एन्फाले चहेको खण्डमा लिग रोक्न समेत तयार भएका थियौ’, संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले भने, ‘तर एन्फाले क्लबहरुको प्रस्तावमा सहमति जनाएन । एन्फाका नेतृत्व जुनसुकै हालतमा लिग समापन गर्न तत्पर देखिएको छ । एक त लिगको तालिका व्यस्त छ । तीन दिनको अन्तरमा लिगका दुई चरणको खेल खेल्नु परेको छ । त्यसले खेलाडीमा चोटको समस्या बढेको छ । हामीलाई एन्फाले साफका लागि बन्द प्रशिक्षणमा खेलाडी पठाउनुका लागि पत्राचार नगरेको होइन । तर हामीले क्लबहरुसँगको छलफलपछि मात्र निर्णय लिनुस भन्दा एन्फाले एकतर्फी रुपमा निर्णय कार्यान्वयन गर्न थालेपछि हामी यो कदम उठाउन बाध्य भएका हौ ।’

‘हामी पनि नेपाली फुटबलको विकास चाहन्छौ, तुलाधरले भने, अहिले लिगमा शीर्ष ५ मा रहेका क्लबबाहेक अन्य क्लबमाथि रेलिगेशनको संकट छ । अंकदुरी धेरै छैन । यस्तो महत्वपूर्ण स्थितीमा क्लबको सहमतीविपरित खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । हामी लिग समापन नभई बन्द प्रशिक्षणमा खेलाडी पठाउँदैनौ,’ तुलाधरले आफ्नो धारणा व्यक्त गरे ।

साफ च्याम्पियनसिपको समूह ए मा रहेको नेपालले आयोजक भारत, पहुना टोली कुवेत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समूह बी मा लेवनन, बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर