सिजनअनुसार कृषि र पशुपालन गर्न निपुण वीनाकुमारी पुन – Nepal Press

सिजनअनुसार कृषि र पशुपालन गर्न निपुण वीनाकुमारी पुन

रुपन्देही । मेहनत, धैर्यता र आत्मबलबाट सफलता पाउन सकिन्छ भन्ने उदाहरणीय पात्र हुन् रुपन्देहीको तिलोत्तमा नगरपालिका- ११ भूपूसैनिक टोलकी वीनाकुमारी पुन । सानो लगानीमा धेरै आम्दानी गर्ने नमुना महिला उद्यमी हुन् उनी । सफलता प्राप्त गर्न फरक ढंगले नयाँ काम गरेपछि सम्भव छ भन्ने उदाहरण पेश गरेकी छन् वीनाकुमारीले ।

उनले पशुपंक्षी तथा कृषि फार्म स्थापना गरी कृषि र पशुपालनबाट घरमै बसेर वार्षिक लाखौं रुपैयाँ कमाएकीमात्र छैनन् सिंगो समाजमा संघर्षशील पात्रको परिचयबाट चिनिएकी छन् ।

उनलाई यो सफलता पाउन धेरै संघर्ष पार गर्नुपरेको छ । २०५६ सालदेखि आत्मनिर्भर अभियानमा लागेकी वीनाकुमारीले बिहेबारी भएर कर्मघर पुगेदेखि नै जीविकोपार्जनका लागि थोरै संख्यामा बंगुरपालन सुरु गरेकी थिइन् । यतिले मात्र उनको घर खर्च नचलेपछि उनले १० वर्ष त रक्सी बनाएर बिक्री गरिन् । तर, उनलाई यसमा चित्त बुझेन । वीनाकुमारीले बंगुरपालनलाई व्यवसायिक बनाउने सोचका साथ क्रमशः खोरमा बंगुर बढाउन थालिन् ।

उनले सालमा विशाल पशुपंक्षी तथा कृषि फार्म दर्ता गरी व्यवसायिक कृषि र पशुपालन नयाँ ढंगले अगाडि बढाइन् । १० वर्ष पहिला वीनाकुमारीलाई एक संस्थाले आईपीएम तालिम दिएको थियो । जसबाट उनी च्याउ खेती गर्नसक्ने भएकी थिइन् ।

तालिमपछि उनको च्याउको व्यवसायले छलाङ मार्‍यो । ‘बंगुर जीविका चलाउन पालिरहें । पछि तालिम पाएपछि च्याउ खेती गरें । सबैभन्दा सन्तुष्ट मलाई च्याउ खेतीबाट भएको छ’, उनले भनिन् ।

कुखुरा पाल्न बनाइएको फार्ममा वीनाकुमारी जाडोमा च्याउ खेती गर्छिन् भने गर्मी समय लागेपछि कुखुरापालनलाई दोहोराउँछिन् । अहिले वीनाको फार्ममा कुखुरा, च्याउ र बंगुर छन् । वार्षिक ५ हजारभन्दा बढी कुखुरा उत्पादन गर्ने उनले वार्षिक ६ क्विन्टल च्याउ उत्पादन गर्छिन् । बंगुर अहिले २१ वटाभन्दा बढी छन् ।

‘एक सिजनमा ६ क्विन्टलसम्म च्याउ उत्पादन हुन्छ । तीन महिनापछि फेरि कुखुरा राख्छु । कुखुरा पनि वार्षिक ५ हजार उत्पादन हुन्छ’, उनले थपिन् ।

गत जाडो सिजनमा कुल ४ लाख ६५ हजार रुपैयाँ लागतमा च्याउ खेती गरेकी वीनाकुमारीले त्यो सिजनमा १२ लाख रुपैयाँ जति आम्दानी भएको बताइन् । त्यस्तै बंगुर र कुखुराबाट थप ६ लाख रुपैयाँ आम्दानी भएको उनले सुनाइन् ।

फार्मबाट आउने आम्दानीले परिवारको खर्च धानेको उनको भनाइ छ । हालसम्म फार्मको संरचना निर्माणमा उनले ३५ देखि ४० लाख रुपैयाँ लगानी गरेकी छन् । बंगुरको खोर बनाउनमात्रै १८ लाख लागेको वीनाकुमारी बताउँछिन् ।

‘यसैको कमाइबाट मैले बावु र नानीलाई पढाएकी छु । घर पनि बनाएकी छु । खुशी र सुखी छु’, उनले भनिन् । ४५ वर्षीया विनाकुमारी अहिले गर्मी सिजन भएकाले च्याउ खेती छाडेर कुखुरापालन गरिरहेकी छन् । आफैं चल्ला, कुखुरा व्यवस्थापनदेखि च्याउको बजारीकरण गर्दै आएकी उनलाई सिजनको महत्व बुझेर काम गर्ने किसानका रुपले धेरैले चिन्न थालेका छन् ।

सिजन समात्ने उद्यमीको पहिचान बनाउँदै आएकी वीनाकुमारीले कुन सिजनमा केको माग बढी हुन्छ, कुन सिजनमा खेती गर्‍यो वा कुखुरापालन गरियो भने नाफा कमाउन सकिन्छ भन्ने योजनाबद्ध खेती तथा पशुपालन गर्दै आएकी छन् । जसबाट नाफा धेरै भएको छ । उनले विषादी प्रयोग नगरी तरकारी खेती गर्ने जैविक विधिबाट खेती प्रणाली अपनाउने गरी उनले काम गर्दै आएकी छन् ।

वीनाकुमारी आफूले उत्पादन गरेको कुनै पनि वस्तु बिक्री गर्न बजारको समस्या नभएको बताउँछिन् । उनले उत्पादन गरेको च्याउ रुपन्देहीका अलवा अर्घाखाँची, गुल्मी, कपिलवस्तु, नवलपरासी र पाल्पासम्म जाने गरेको वीनाकुमारीले जानाकारी दिइन् । त्यस्तै बंगुर र कुखुरा भने रुपन्देहीमै बिक्री हुने उनले बताइन् ।

‘सुरुमा केही भएन भनेर आत्तिए पनि तर मेहनत गरें । धैर्य राखें । एकदिन मेहनतको फल प्राप्त हुन्छ भन्ने लागेको थियो, अहिले खुशी छु’, उनले भनिन् ।

केही समयअघि तिलोत्तमा नगरपालिकाबाट नगर प्रमुख ग्रामीण उद्यम द्रूतीकरण कार्यक्रमअन्तर्गत तेस्रो चरणको उत्कृष्ट उद्यमीमा वीनाकुमारी पुरस्कृत भएकी थिइन् । उत्कृष्ट १० जना उद्यमीलाई १ लाख नगद पुरस्कार दिइएको थियो ।

दायित्व संस्थाको आयोजनामा जारी परियोजनाबाट रूपन्देहीका १० जना उत्कृष्ट उद्यमीबाट वीनाकुमारीले दिएको प्रस्तुतीकरण, विगतको कार्यक्रम र आगामी योजनाको विषयलाई समेत निर्णायकले नम्बर प्रदान गरी उत्कृष्ट उद्यमीको रूपमा पुरस्कार प्रदान गरिएको दायित्व लुम्बिनी प्रदेश संयोजक कमल थापाले जानकारी दिए ।

खुला सिमानाका कारण भारतबाट लुकिछिपी आउने चल्लाका कारणले बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भएको उनको भनाइ छ । ‘सरकारले चल्ला र दानामा सहुलियत दिनुपर्छ । सस्तो व्याजमा ऋण दिएमा धेरै कृषकहरु लाभान्वित हुन्छन्’, उनले भनिन् ।

वीनाकुमारी आफू जस्तै अन्य कृषकहरुलाई प्राथमिकतामा राख्ने हो भने विदेशबाट आयात हुने हरेक वस्तुलाई रोक्नुपर्ने सुझाव सरकारलाई दिन्छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर