पक्राउ गर्न आएका प्रहरीलाई सचिव पाण्डेले सोधे- हिरासतमै बस्नुपर्ने हो र ? – Nepal Press

पक्राउ गर्न आएका प्रहरीलाई सचिव पाण्डेले सोधे- हिरासतमै बस्नुपर्ने हो र ?

घर पुगेर नुहाई धुवाई गरी बन्दोबस्तीका सामानसहित प्रहरी कार्यालय पुगे पाण्डे

काठमाडौं । नेपालीलाई भुटानी शरर्णार्थी बनाएर अमेरिका लैजाने नाममा भएको अर्बभन्दा बढि रकमको ठगी प्रकरणको अनुसन्धानमा राजनीतिक प्रभाव हुन सक्ने आशंका भइरहेका बेला प्रहरीले बहालवाला सचिव र पूर्व गृहमन्त्रीका सल्लाहकारलाई पक्राउ गरेर बोल्ड कदम लिएको छ ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई मंगलबार र सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परेका हुन् ।

प्रहरीले सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पूर्जी लिइसकेको छ । प्रहरीको विशेष टोली बुधबार दिउँसो रायमाझी र उनका छोराको लोकेसन हेर्नमै व्यस्त थियो ।

सम्भवत उनीहरु दुवैजना केही दिनभित्र पक्राउ पर्न सक्ने छन् । ठगी प्रकरणमा चैतको दोस्रो साता काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरेर थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरलाई बुझाएको थियो ।

संगठित अपराधमा अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरले उच्च पदस्थ सरकारी अधिकारी र नेतालाई पक्राउ गर्ने तयारी गरेर यो प्रकरणलाई तार्किक निष्कर्षमा पुर्याउने संकेत गरेको छ ।

‘बहालवाला सचिव पक्राउ पर्न सक्छन् भने यो अनुसन्धानमा संलग्न सबै जना तानिन सक्छन् भनेर हामीले बुझ्नुपर्छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

प्रहरीका अनुसार मंगलबार ललितपुरस्थित निवासबाट पक्राउ पर्दा इन्द्रजित राईले आफू मानसिक रुपमा तयार भएर बसेको बताएका थिए । उनले आफू केही दिनयता राम्रोसँग सुत्नसमेत नसकेको बताएको बुझिएको छ ।

याे पनि पढ्नुस् : भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेको सचिव पाण्डेमाथि अनुसन्धान गर्न तीनदिन म्याद थप

याे पनि : उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

राई पक्राउ परेसँगै आत्तिएका सचिव पाण्डे मंगलबार राति भक्तपुरको आसापुरी रिसोर्ट पुगेर बसेका थिए । तर बुधबार बिहानै प्रहरी उनलाई लिन पुगेको थियो । स्रोतका अनुसार उनले आफू हिरासतमै बस्नुपर्ने हो र भनेर सोधेका थिए । ‘बस्नुपर्छ भनेपछि उहाँ घर आएर नुहाई धुवाई गरेर सामानसहित प्रहरी कार्यालयमा आउनु भएको हो’, स्रोत भन्छ ।

झन्डै एक वर्षअघि आफूहरुलाई भुटानी शरर्णार्थी बनाएर अमेरिका लैजाने नाममा जनही २० देखि ५० लाख रुपैयाँसम्म उठाइए पनि नलगिएको भन्दै दाङका ८१ जनाले प्रहरीमा निवेदन दिएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएर आएपछि एसएसपी मनोज केसीले फाइल खोलेर अनुसन्धान सुरु गरेका थिए ।

लगत्तै पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालाका पीए केशव दुलाल, सानु भण्डारीसहित ३ जना पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा भण्डारीले आफुहरुलाई पनि माथिबाट ठगिएको र केही महिनाअघि उनिहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको बताएका थिए ।

तेस्रो मुलुक पुनर्स्थापना हुन बाँकी रहेका भुटानी शरर्णाथीको संख्या र समस्या समाधानका लागि २०७६ सालमा गठन भएको कार्यदलले प्रतिवदन तयार गरेको थियो जुन गोप्य राखिएको थियो । उक्त प्रतिवेदनमा सयौँ नेपालीलाई भुटानी शरर्णाथी बनाएर उनीहरुको विवरण समावेश गरिएको स्वयं पीडितले आफूलाई प्राप्त फोटोकपी प्रहरीलाई बुझाएका थिए ।

यही कारण तत्कालीन गृह मन्त्रालयको नेतृत्व र कार्यदलका पदाधिकारी अनुसन्धानको दायरामा तानिएका हुन् । ‘पीडितबाट उठाइएको पैसा माथिल्लो स्तरसम्म बुझाइएको भन्ने छ । विभिन्न व्यक्तिहरुका नाम पनि आएका छन्। तर त्यसलाई प्रमाणबाट पनि देखिनु पर्यो । अहिले हामी त्यसैमा केन्द्रित छौँ’, अनुसन्धान अधिकारी भन्छन् ।

हालसम्म १५० जनाभन्दा बढी पिडितले जाहेरी दिएको बताइएको छ । सचिव पाण्डे र सल्लाहकार राईको बयानबाट थप तथ्यहरु खुल्न सक्ने विश्वास अनुसन्धान अधिकारीको छ ।


प्रतिक्रिया

One thought on “पक्राउ गर्न आएका प्रहरीलाई सचिव पाण्डेले सोधे- हिरासतमै बस्नुपर्ने हो र ?

  1. यस्ता त उच्च अहाेदामा बसेर अाफ्ना पन्जा गाडेर देसकाे ढुकुटि मा रजाइ गरेका रहेछन किन अर्थतन्त्र सुध्रियाेस ? धन्यबाद छ ति सहासि सबै टिमलाइ याे कान्ड उजागर गर्नेहरुलाइ ।तथापि अदालत ले धराैटि मा छाेड्छकि ?अासङका छ है मेराे त ।खबरदारि गराै सबै पक्षबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर