एमाले र कांग्रेस मिल्नुको विकल्प छैन : डा. कोइराला – Nepal Press

एमाले र कांग्रेस मिल्नुको विकल्प छैन : डा. कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको विकासका लागि एमाले र कांग्रेस मिल्नु पर्ने बताएका छन् ।

मोरङका बूढीगंगा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो निर्वाचन प्रणाली रहेसम्म कुनै पनि पार्टीको बहुमत नआउने र पार्टीको बहुमत बिना देशमा विकास सम्भव नहुने दाबी गरे ।

उनले कांग्रेस र एमाले एक ठाउँमा नउभिएसम्म संविधान संशोधन नहुने बताए । उनले विद्यमान निर्वाचन प्रणाली नफेरे सम्म देशको विकास हुन नसक्ने दाबी गरे । अहिलेको निर्वाचन प्रणाली फेर्न संविधान संशोधन गर्नु पर्ने र यसका लागि एमाले काँग्रेस मिल्नु पर्ने कोइरालाले बताए ।

स्थिर सरकार बिना मुलुकको आर्थिक विकासले फड्को नमार्ने भन्दै स्थिर सरकारका लागि निर्वाचन प्रणाली फेर्नु पर्नेमा उनको जोड थियो ।

उनले भने, ‘अहिलेको निर्वाचन प्रणाली रहेसम्म कुनै पनि दलले बहुमत ल्याउने अवस्था छैन । बहुमत नआउँदा अहिलेकै जस्तो सरकार बनाउने र गिराउने खेल चलिरहन्छ । जसले गर्दा मुलुकको विकासमा अवरोध पुग्दछ ।’

उनले अहिलेको संविधान संशोधन गर्न दुई तिहाइ आवश्यक पर्ने र त्यसका लागि काँग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताए । उनले थपे, ‘कांग्रेस र एमाले मिलेकै कारण संविधानसभाबाट संविधान जारी भयो । अब देशलाई केन्द्रबिन्दुमा राखेर दुइटा दल मिल्नुपर्छ ।’

नेता कोइरालाले सरकार फेरिएपिच्छे ‘पोलिसी’ पनि फेरिने गरेको बताए । उनले अन्य देशमा सरकार परिवर्तन भए पनि पोलिसी भने एउटै हुने गरेकाले विकासमा असर नपरेको बताए ।

उनले देउवाजी, ओलीजी, माधवजी, प्रचण्ड जी, झलनाथ जी, बाबुरामजीहरू पटक–पटक प्रधानमन्त्री बन्दा देशमा के गरेको भन्दै प्रश्न गरे । उनले भने, ‘आखिर उहाँहरूले के गर्नुभयो ? प्रधानमन्त्री को बन्ने भन्ने विषय गौण हो । दुई दल मिलेर देशलाई निकास दिनुको विकल्प छैन ।’

मुलुक आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक र सांस्कृतिक रूपमा कमजोर बन्दै गएको भन्दै नेता कोइरालाले चिन्ता व्यक्त गरे ।

स्थानीय योगमाया कार्की र सौहार्द कार्कीले निःशुल्क रूपमा उपलब्ध गराएको ८ कट्ठा २ धुर जग्गामा गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुनेछ । बहुवर्षीय योजनाअन्तर्गत ११ करोड ८६ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन चार तलाको हुने प्रमुख प्रशासकीय अधिकृत सञ्जीव न्यौपानेले जानकारी दिए । भवन निर्माण गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ विनियोजन गरेको छ ।


प्रतिक्रिया

One thought on “एमाले र कांग्रेस मिल्नुको विकल्प छैन : डा. कोइराला

  1. You are not trustful, Sekhar !!!
    It was practiced in province “Koshi” but what you did ??
    You can not be a leader !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर