लगानी सम्मेलनमा भद्रगोल व्यवस्थापन, निमन्त्रणापत्र बोकेर आएका विदेशीले पनि पाएनन् पास – Nepal Press

लगानी सम्मेलनमा भद्रगोल व्यवस्थापन, निमन्त्रणापत्र बोकेर आएका विदेशीले पनि पाएनन् पास

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको व्यवस्थापना भद्रगोल देखिएको छ । आमन्त्रितहरुले निमन्त्रणपत्र नै देखाउदा पनि लगानी बोर्डका कर्मचारीहरुले पास छैन भनेर फर्कारहेको देख्न सकिन्थ्यो ।
सम्मेलन यतिसम्म भद्रगोल थियो कि मेलमा आएको क्युआर देखाउँदा लाइन नभएको र लाइन आएपछि प्रिन्ट हुने जवाफ लगानी बोर्डको सचिवालयले दिरहेको थियो । लगानीका लागि आएका लगानीकर्ता र लगानी सम्मेलनको रिपोर्टिङमा आएका पत्रकारहरुले पाएको क्युआर भिर्ने डोरीसमेत थिएन ।

बोर्ड सचिवालयले विहान १० बजेबाट नै क्युआर टाँसेर कार्ड भिर्ने डोरी सकिएको जानकारी दिरहेको थियो । पत्रकारले पनि मिडिया रुमसम्म जाने पास पाउन साह्रै मुस्किल थियो । लगानी बोर्डले भने धेरै मान्छे भएकाले केही असहज जस्तो देखिएको भएपनि पास पाउन कुनै समस्या नरहेको बतायो ।

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना गरिएको सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका थिए ।

सम्मेलनमा लगानीका निम्ति ९ खर्ब बराबरका १५१ परियोजना शोकेसमा राखिएको छ ।

लगानी बोर्डका अनुसार २ दिनको सम्मेलनमा ५५ भन्दा बढी देशका १६ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन् । १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ ।

सम्मेलनमा लगानीका लागि बाधक र झन्झटिलो प्रक्रियालाई सरल र सहज बनाउन सरकारले ९ वटा ऐन अध्यादेशमार्फत् संशोधन गरिसकेको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश आज जारी भएको हो ।

बोर्डले २ हजार ४०० भन्दा धेरैलाई नेपालको लगानी सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएको थियो । सम्मलेनका लागि विभिन्न ५५ देशबाट सहभागिता रहने बोर्डले बताएको छ ।

सम्मेलनमा नेपालबाट ३८५, चीनबाट २६५, भारतबाट १४३, अमेरिकाबाट ३३, जापानबाट २८, बेलायतबाट १४, बंगलादेश र यूएईबाट १३/१३ तथा जर्मनीबाट १० जना सहभागी हुँदैछन् । बाँकी ४२ वटा देशबाट १ देखि ९ जनासम्मले भाग लिने बोर्डले बताएको छ ।

लगानी बोर्डका प्रवक्ता प्रधुम्न उपाध्यायले नेपाल प्रेससँग भने, ‘बिहान आठ बजेदेखि १० बजेसम्म दर्ताका क्रममा हाम्रा कर्मचारी कम संख्यामा भएको लगानीकर्ताले समयमै पास पाउन सक्नुभएन । यसमा मलाई पनि दुःख लागेको छ । लगानीकर्ताले प्रवेश पास नपाउदाँ उहाँहरुले अपमान गरेको जस्तो महसुस पक्कै पनि गर्नुभयो होला । त्यो हाम्रा कर्मचारीको अभावले गर्दा दुई घण्टा पास वितरण गर्न समस्या भएकै हो । विद्युतको लाइन गएका कारणले पनि केही समय पास दिन सकिएन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर