नेपाली क्रिकेटको स्वप्निल यात्रा: अढाई महिनामा तीन ठूला सफलता – Nepal Press

नेपाली क्रिकेटको स्वप्निल यात्रा: अढाई महिनामा तीन ठूला सफलता

विगतमा एक पटक एसिया कपमा छनोट भएर पनि खेल्न वञ्चित भएको इतिहास नदोहोरियोस्

काठमाडौं । नेपाली क्रिकेट टोलीले पछिल्लो दुई महिनामा जादुमय प्रदर्शन गर्‍यो । यो स्वप्निल यात्राका क्रममा नेपाली टोलीले तीन वटा ठूला सफलता हासिल गरेको छ ।

नेपालले संकटमा परेको एक दिवसीय मान्यता आगामी चार वर्षका लागि जोगाएको छ भने एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाएको छ । आज एसीसी प्रिमियर कपको उपाधि जितेर नेपाल एसियाका ५ टेस्ट मान्यता प्राप्त टोली सहभागी हुने एसिया कपमा छनोट भयो ।

नेपालले एसिया कपको समूह चरणमै पाकिस्तान र भारत जस्ता विश्व क्रिकेटका महाशक्तिसँग खेल्नेछ । विगतमा एसिया कपमा एक पटक छनोट भएर पनि खेल्न नपाएको अभागी देश हो नेपाल । यसपालि पनि प्रतियोगिता हुने नहुने ठेगान छैन । तर, एसिया कप होस् या नहोस् नेपाली क्रिकेटलाई अब अगाडि बढ्न कसैले रोक्न सक्दैन ।

नेपालले एसियाका टेस्ट मान्यताबाहेकका टोलीले मात्र खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता एसीसी प्रिमियर कपको उपाधि जितेको दोस्रो पटक हो । यसअघि सन् २०१२ मा भएको तत्कालीन एसीसी ट्रफीमा फाइनलमा भिडेका नेपाल र यूएईबीचको खेल बराबरीमा सकिएपछि दुवै टोलीलाई ट्रफी बाँडिएको थियो । एसीसी ट्रफी नेपालले जितेको त्यो पहिलो अवसर थियो ।

अझ अगाडि सन् २००२ को संस्करणमा नेपाल फाइनलसम्म पुगे पनि उपाधि भिडन्तमा पराजित भएको थियो । तर, त्यसपछि नेपाललाई फाइनलमा पुग्न १० वर्ष लाग्यो । एसिया कपमा एसियाका टेस्ट मान्यता प्राप्त टोली र एसीसी प्रिमियर कप (तत्कालीन एसीसी ट्रफी) को विजेतालाई स्थान दिइएको छ । तर, यो नियम बदलिइरहन्छ ।

सन् २००२ मा नेपालले फाइनलसम्म पुगेर एसिया कपमा स्थान बनाएको थियो । तर, त्यतिबेला कारगिल युद्धका कारण प्रतियोगिता आयोजना हुन सकेन । त्यसको अर्को वर्ष नेपाल हकदार भएर पनि वञ्चित गराइयो । सन् २०१२ मा नेपालले उपाधि जितेर पनि एसिया कप खेल्न पाएन । त्यतिबेला नयाँ नियम बनाउँदै टेस्ट मान्यता प्राप्त टोलीलाई मात्र एसिया कप खेलाइएको थियो ।

यसपटक पनि एसिया कपमा छनोट हुन सजिलो थिएन । प्रतियोगितामा सहभागी १० टोलीमध्ये विजेतामात्र एसिया कपमा पुग्ने भनिएकाले नेपालसहित ओमान, हङकङ र यूएई दावेदार देखिएका थिए । नेपाल एक खेल नहारी फाइनल पुग्यो ।

समूहमा हङकङसँग पराजित यूएईलाई फाइनलसम्म पुग्न भाग्यले पनि ठूलो साथ दियो । तर, हजारौं घरेलु दर्शक र नेपालको उच्चस्तरको प्रदर्शनबीच यूएईको केही लागेन । अन्ततः नेपालले एसीसी प्रिमियर कप जितेर एसिया कपमा पनि स्थान बनाएको छ ।

गत फेब्रुअरीमा मोन्टी देसाई नेपाली टोलीको प्रशिक्षक बनेर आएयता नेपाल क्रिकेटमा उछाल आएको छ । त्यति बेला नेपालले विश्वकप लिग- २ मा १२ खेल खेल्न बाँकी थियो । प्रायः सबै जितेमा मात्र नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता बच्न सक्थ्यो । नेपालले १२ मध्ये ११ खेल जित्यो र विश्वकप छनोटमा पनि स्थान बनायो ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्ला १४ मध्ये १३ खेल जितेको छ । यस्तै त्रिवि क्रिकेट मैदानमा खेलेका पछिल्ला सबै १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल जितेको छ । कुनै समय एसियाली एसोसिएट क्रिकेटको सबैभन्दा सशक्त मानिएको यूएईसँग नेपालले खेलेका पछिल्ला ७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये ६ वटा जितेको छ । यसबाहेक नेपाली टोलीले पछिल्लो दुई महिनामा अनेक राष्ट्रिय कीर्तिमान बनाइसकेको छ, ऐतिहासिक लक्ष्य दिनेदेखि ऐतिहासिक लक्ष्य पूरा गर्नेसम्म ।

अब नेपालले आगामी जुनमा जिम्बावेमा विश्वकप छनोट खेल्दैछ । त्यहाँ नेपालसहित श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे गरी कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालको नजर अब विश्वकप छनोटमा हुनेछ । विश्वकप छनोटबाट दुई टोली विश्वकपमा पुग्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर