विष्णु रिजालको टिप्पणी- माओवादी विचौलियामा रुपान्तरण – Nepal Press

विष्णु रिजालको टिप्पणी- माओवादी विचौलियामा रुपान्तरण

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माओवादी उग्रवामपन्थी दलबाट विचौलिया दलमा रुपान्तरण भएको बताएका छन्। जुम्लाको खलंगामा शुक्रबार विहान आयोजित पत्रकार सम्मेलनमा नेता रिजालले यस्तो बताएका हुन् ।

उनले भने, ‘माओवादीको शक्ति निरन्तर घटिरहेको छ, नेताको महत्वाकांक्षा बढिरहेको छ । यसले माओवादीलाई उग्रवामपन्थी दलबाट विचौलिया दलमा रूपान्तरण गरेको छ । एमाले नभए कांग्रेस, कांग्रेस नभए एमाले भन्ने मानसिकता यसैको उपज हो ।’

वर्तमान सत्ता गठबन्धन नीतिहीन र उद्देश्यविहीन भएकाले मुलुकका लागि दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै नेता रिजालले अब मुलुकको सम्पूर्ण समय सेटिङ, ठेक्कापट्टा, भागवण्डा र कमिसनको खेलमा बित्ने चिन्ता व्यक्त गरे ।

उनले भने, ‘तीन महिनामा सात पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नपर्ने, महिना(महिनामा विश्वासको मत लिनुपर्ने र सम्पूर्ण समय सत्तारूढ दलकै बैठकमा बिताउनुपर्नेबाट देशको विकास होला भन्ने अपेक्षा गर्नु नै व्यर्थ छ ।’

सत्तारूढ पार्टीहरूबीच नीति र सिद्धान्तमा कुनै तालमेल नभए पनि प्रमुख नेताहरूबीच निजी स्वार्थमा भने समानता रहेको बताए । ‘आफू जसरी पनि पदमा जाने, परिवारका सदस्यहरूलाई नियुक्ति दिने, आफू निकटलाई ठेक्कापट्टा दिने जस्ता कुरामा प्रचण्ड र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा छ’, उनले भने, ‘अब मुलुक दुई परिवारको प्राइभेट कम्पनीका रूपमा दुरुपयोग हुनेछ ।’

कांग्रेसको भविष्य नदेखेर नेता(कार्यकर्ताले पार्टी छाडिरहेको प्रसंग उल्लेख गर्दै उनले पार्टीकै पदाधिकारीसँग सल्लाह गरेर पार्टी छाड्नुले भोलि उनीहरू स्वयमले पार्टी छाड्नका लागि आधार बनाएको हुन सक्ने आशंका व्यक्त गरे ।

नेकपा (एमाले), जुम्लाका अध्यक्ष शान्तिलाल महतको अध्यक्षतामा आयोजित पत्रकार भेटघाटमा मिसन ग्रासरुट अभियानका बारेमा जानकारी दिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर