सूर्यकुमारको लज्जास्पद रेकर्ड- लगातार तीन म्याचमा गोल्डेन डक आउट – Nepal Press

सूर्यकुमारको लज्जास्पद रेकर्ड- लगातार तीन म्याचमा गोल्डेन डक आउट

काठमाडौं । टी–२० क्रिकेटमा भारतका स्टार ब्याट्सम्यान सूर्यकुमार यादवको एक दिवसीय फर्म भने दयनीय बनेको छ । उनले पछिल्ला तीन खेलमा एक रन पनि जोड्न सकेका छैनन् ।

अष्ट्रेलियाविरुद्धको तेस्रो एक दिवसीयमा हिजो सूर्यकुमारले एउटा बिर्सन लायक रेकर्ड राखे । उनी लगातार तेस्रो म्याचमा पहिलो बलमै आउट भए । अहिलेसम्म कुनै पनि भारतीय ब्याट्सम्यान यसरी तीन खेलमा लगातार गोल्डेन डकआउट भएका थिएनन् । यद्यपि तीन खेलमा शून्यमा आउट भएको रेकर्ड चाहिँ भारतकै थप पाँच ब्याट्सम्यानको नाममा छ ।

मुम्बई र बिसाखापट्नममा भएका दुई एक दिवसीयमा सूर्यकुमारलाई मिचेल स्टार्कले पहिलो बलमा एलबीडब्लु धरापमा पारेका थिए । तेस्रो खेलमा उनलाई एस्टोन अगरले क्लीन बोल्ड गरे । यो खराब प्रदर्शन एकदिवसीय टिममा सूर्यकुमारको स्थान अनिश्चित बनाइदिएको छ ।

पहिलो दुई म्याचमा चौथो नम्बरमा ब्याटिङ गरेका उनलाई तेस्रो म्याचमा छैटौँ नम्बरमा झारिएको थियो । तर, यसमा पनि उही हविगत भयो ।

त्यसो त सूर्यकुमारले सन्तोष मान्ने ठाउँ के छ भने भारतीय लिजेन्ड सचिन तेन्दुलकर पनि कुनै बेला लगातार तीन म्याचमा शून्यमा आउट भएका थिए । यो सन् १९९४ को कुरा थियो । पछि उनी भारतीय क्रिकेटकै सबेभन्दा ठूला स्टार बने ।

टी–२० मा अहिले भारतका सर्वाधिक चर्चित खेलाडी हुन् सूर्यकुमार । करिब दुई वर्षदेखि टी–२० अन्तर्राष्ट्रियमा उनले सनसनी नै मच्चाइरहेका छन् । तर, टी–२०को फर्म एक दिवसीयमा झल्किन सकेको छैन । एकदिवसीयमा उनको औसत निकै खराब छ । पछिल्ला १० खेलमा एउटा पनि अर्धशतक बनाउन सकेका छैनन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा सूर्यकुमार अगाडि १३ जना ब्याट्सम्यानहरू लगातार तीन खेलमा गोल्डेन डक आउट भएका छन् । यो सूचीमा अष्ट्रेलियाका एन्ड्र्यू साइमन्डस, सेन वाट्सन, ईंग्ल्यान्डका इयान ब्ल्याकवेल, न्यूजिल्यान्डका टोनी ब्लेन जस्ता नामहरू छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर