माधवको प्रतिवेदन- चुनावमा कांग्रेस र माओवादीले असहयोग गरे, आयोग हामीविरुद्ध ज्यान छाडेर लाग्यो (पूर्णपाठ) – Nepal Press

माधवको प्रतिवेदन- चुनावमा कांग्रेस र माओवादीले असहयोग गरे, आयोग हामीविरुद्ध ज्यान छाडेर लाग्यो (पूर्णपाठ)

'चुनावको कार्ययोजना कार्यान्वयन भएन, केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म फिल्ड गएनन्'

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंसिर ४ को निर्वाचनमा अपेक्षित परिणाम नआएको भन्दै केही कारण केलाएको छ ।

जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत राजीनिति प्रतिवेदनमा वाम-लोकतान्त्रिक गठबन्धनको बहुमत आउला भन्ने आम अपेक्षा भएपनि त्यस्तो नभएको उल्लेख छ ।

चुनावी नतिजा अपेक्षित नहुनुको प्रमुख कारणमा आन्तरिक कारण प्रमुख देखाइएको छ । पार्टीको सिद्धान्त, कार्यनीति र कार्यदिशा, पार्टीको विकास नीतिलगायत विषयमा प्रशिक्षण दिने, प्रचारलाई व्यवस्थित र प्रभावकारी ढङ्गले अगाडि बढाउन, पार्टी र जनसङ्गठनका हरेक कमिटीले निर्वाचन परिचालनका लागि विशेष आर्थिक कोष निर्माण गर्ने, विभिन्न प्रकारका जनजागरण अभियान सञ्चालन गर्ने र सम्पूर्ण रूपमा निर्वाचनको तयारीमा जुट्ने जुन कार्ययोजना बनाइएकोमा त्यसको कार्यान्वयन नभएको प्रतिवेदनमा लेखिएको छ ।

त्यस्तै संगठित जनशक्तिसमेत चुनावमा परिचालन नभएको अध्यक्ष नेपालले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘पार्टी र विभिन्न जनसंगठनका कमिटीहरूमा संगठित १६६४२६ जना र विभिन्न जनसङ्गठन, पेशागत सङ्गठन, सामुदायिक सङ्गठन र प्रवासी सङ्गठनमा समेत सङ्गठित जन शक्ति सानो थिएन तर त्यो परिचालित भएन’, नेपालले भनेका छन् ।

पार्टी केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरू, केन्द्रीय परिषद्का सदस्यहरू र जनवर्गीय सङ्गठनका केन्द्रीय पदाधिकारी एवं सदस्यहरू सबै एउटा निश्चित निर्वाचन क्षेत्रमा केन्द्रित भएर काम गर्न निर्देशन गरिएकोमा उनीहरू पनि चुनावी अभियानमा नगएको नेकपा एसको प्रतिवेदनमा लेखिएको छ ।

आफूहरूले गठबन्धनका अन्य दलका उम्मेदवारलाई पूर्ण सहयोग गरेपनि कांग्रेस र माओवादी केन्द्रकाले धेरे ठाउँमा नेकपा एसका उम्मेदवारलाई असहयोग गरेको पनि निष्कर्ष निकालिएको छ ।

‘खासगरी नेपाली कांग्रेस र माओवादी केन्द्रबाट भने धेरै निर्वाचन क्षेत्रमा हाम्रा उम्मेदवारहरूलाई पूर्ण सहयोग भएन । उक्त दुवै पार्टीले गठबन्धनबाट हाम्रो पार्टीलाई छुट्याइएका केही क्षेत्रमा पार्टीको टिकटमा नै उम्मेदवार उठाएका थिए भने धेरै क्षेत्रमा तिनै पार्टीबाट बागी उमेदवार खडा भएका थिए र कतिपय क्षेत्रमा हाम्रो प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई मत दिने काम समेत भएको थियो’, प्रतिवेदन भन्छ ।

प्रत्यक्षमा उम्मेदवार नहुँदा समानुपातिकमा मत माग्न लहर सिर्जना गर्न नसकिएको पनि नेपालले उल्लेख गरेका छन् ।

रूपन्देही २ का उम्मेदवारको उम्मेदवारी खारेज गरेको तर त्यस्तै प्रकृतिको मुद्दा लागेका अन्य पार्टीका उम्मेदवारको भने उम्मेदवारी खारेज नगर्ने, अध्यक्ष (माधव नेपाल) लगायत अन्यलाई स्पष्टीकरण सोध्नेजस्ता कार्यले निर्वाचन आयोग पार्टीविरुद्ध ज्यान छाडेर लागेको दाबी प्रतिवेदनमा गरिएको छ ।

यसका बाबजुद संघीय संसदमा १० जना र प्रदेशमा १५ प्रत्यक्ष समानुपातिक ९ गरी २४ जना निर्वाचित भएकालाई सानै उपलब्धी मान्दै उक्त पार्टीले पुराना दलहरू रूपान्तरित नहुने हो र परम्परागत ढङ्गले नै चल्ने हो भने आकर्षण घट्दै जाने शिक्षा पाएको एसले भनेको छ ।

अध्यक्ष नेपालले पार्टी कामलाई व्यवस्थित ढंगले सञ्चालन गर्न स्पष्ट कार्ययोजनाको खाँचो औंल्याएका छन् ।

‘निर्वाचनको परिणामले मुलुकको राजनीतिक शक्ति सन्तुलनमा केही फेरबदल ल्याएको छ । पुराना राजनीतिक दलहरूको प्रभाव केही घटेको छ । बुर्जुवा चरित्रका केही नयाँ राजनीतिक दलहरू प्रकट भएका छन् । वामपन्थी शक्तिहरू पहिलेको तुलनामा कमजोर देखिएका छन् । हाम्रो पार्टी पनि अनुमान गरिएभन्दा कमजोर देखिएको छ । एमाले, माओवादी, राप्रपा र रास्वपा सम्मिलित वाम( दक्षिणपन्थी गठबन्धन बनेको छ र त्यही गठबन्धनले सरकार बनाएको छ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा बसेको छ र हाम्रो पार्टी पनि प्रतिपक्षमा छ । आजको ठोस परिस्थिति यही हो । यस ठोस परिस्थितिमा कस्तो कार्ययोजना तय गरेर अगाडि बढ्ने हो भन्ने प्रश्न खडा भएको छ’, प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर