सुदूरपश्चिमका मुख्यमन्त्री रावलले कहिले लिन्छन् विश्वासको मत ? – Nepal Press

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले कहिले लिन्छन् विश्वासको मत ?

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल विश्वासको मत कहिले लिने भन्ने बारे अझै अनिश्चित छन् । नागरिक उन्मुक्ति पार्टीले ठोस निर्णय नगरेका कारण विश्वासको मत लिने मित तय नभएको हो ।

पुस २७ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । तर, सत्ता गठबन्धन भित्रै रहेको नागरिक उन्मुक्तिको अडानले विश्वासको मत लिने मिति निर्धारण हुन नसकेको हो ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अहिले ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नहुँदा सम्म विश्वासको मत दिने आधार तय नहुने भन्दै आइरहेको छ ।

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी लगायत नेताहरूको रिहाइ,टीकापुर घटनामा मुद्दा खेपिरहेका ५८ जना विरुद्धको मुद्दा खारेजी र टीकापुर घटना सम्बन्धी लाल आयोग प्रतिवेदन सार्वजनिकको माग गरिरहेका छन् ।

यी मागहरू सम्बोधनको सुनिश्चितता नहुँदा सम्म विश्वासको मत लिने र सरकारमा सहभागी हुन सक्ने सम्भावना नरहेको संसदीय दलका नेता रामेश्वर चौधरीले बताए ।

‘हाम्रा माग सम्बोधन भएको छैन । त्यसैले विश्वासको मत दिने विषयमा छलफल भएको छैन‘ उनले भने ’२०÷२५ गते भित्र केही निर्णय हुन सक्छ ।‘

केन्द्रमा एमाले माओवादी सहितको गठबन्धनलाई समर्थन गरेको नागरिक उन्मुक्तिले यहाँ पनि मुख्यमन्त्रीमा रावललाई समर्थन गरेको थियो । तर, आफूहरू मुद्दामा केन्द्रित रहेको भन्दै दलका नेता चौधरी अहिले सरकारको विषय प्राथमिकतामा नपरेको बताउँछन् ।
यता मुख्यमन्त्री रावल भने विश्वासको मत समय अघि नै पाउनेमा विश्वस्त छन् ।

केही दिन पहिले काठमाडौँमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग नागरिक उन्मुक्तिका सांसद सहित भेट्न पुगेका मुख्यमन्त्री रावलले सरकार नागरिक उन्मुक्तिका मुद्दा गम्भीर रहेका सन्देश दिएका थिए। त्यस लगत्तै दुबै भेटको सन्देश लिएर एमाले अछाम इन्चार्ज तथा पूर्व प्रदेश मन्त्री झपट बोहरा कारागारमा रेशम भेट्न पुगेका थिए ।

उक्त भेटमा आफ्ना मागहरू सम्बोधन गर्न सरकार तयार भए आफूहरू पनि सरकारकालाई विश्वासको मत दिने विषयमा सकारात्मक रहेको जनाएका थिए । सोही सन्देश पछि मुख्यमन्त्री रावल धनगढी फर्किएका थिए ।

यद्यपि, अझैसम्म विश्वासको मत लिने मितिको टुङ्गो लागिसकेको छैन । नागरिक उन्मुक्ति पार्टीले सरकार गठनमा सहयोग गरेकाले विश्वासको मत पनि दिने सत्तापक्ष आशावादी देखिएका छन् । प्रदेश सभा सदस्यसमेत रहेका नेकपा (एमाले) का प्रदेश सचिव धर्मराज पाठकले विश्वासको मत लिने मिति छिट्टै टुङ्गो लाग्ने बताउँछन् ।

११ गते प्रदेश सभाको बैठक आह्वान गरिएको थियो । उक्त दिन नै विश्वासको मत लिने चर्चा नचलेको पनि होइन । तर, सत्ता गठबन्धनका नेताहरू भने सहमतिमै विश्वासको मत दिने दिन निर्धारण गरिने बताउँछन् । ११ गते अर्को सूचना जारी नहुँदा सम्म स्थगित गरिएको प्रदेश सभाको बैठक अझै आह्वान गरिएको छैन । विश्वासको मत लिने दिन बैठक बोलाउने तयारी भइहरेको छ ।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटी केही दिन भित्रै अर्को बैठक आह्वान गरिने बताउँछन् । तर, बैठक कहिले बस्ने भन्ने पनि अन्योल कायमै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर