एमाले अध्यक्ष ओलीसँग चीनका राजदूतद्वारा शिष्टाचार भेटवार्ता – Nepal Press

एमाले अध्यक्ष ओलीसँग चीनका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् ।

अध्यक्ष ओली निवास बालकोटमा बुधबार साँझ भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको छ । सो अवसरमा अध्यक्ष ओलीले नवनियुक्त राजदूत चेनलाई स्वागत गर्दै दुई देशबीचको हजारौं वर्षदेखिको सुमधुर र घनिष्ट सम्बन्ध राजदूत चेनको कार्यकालमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा जानकारी गराउँदै वर्तमान सरकार राष्ट्रवादी दलहरूको साझेदारीमा गठन भएको जानकारी गराएका थिए । अध्यक्ष ओलीले एक चीन नीति रहेको नेपालले छिमेकीविरूद्ध नेपाली भूमि प्रयोग हुन नदिने बताएका थिए ।

भेटमा अध्यक्ष ओलीको साथमा एमालेका उपमहासचिव विष्णु रिमाल र परराष्ट्र मामिला विभागका सचिव डाक्टर अञ्जान शाक्य पनि थिए ।

अध्यक्ष ओलीले नेपालको विकासमा मित्रराष्ट्र चीनले गरेको सहयोगका लागि धन्यवाद दिनुभएको नेकपा (एमाले) परराष्ट्र मामिला विभाग सचिव डाक्टर शाक्यले जानकारी दिए ।

भेटमा राजदूत चेनले आगामी दिनमा नेपालका लागि चिनियाँ सहयोग बढाउन आफ्नो प्रयास रहने बताएका थिए । उनले कोभिड १९ का कारण रोकिएका कतिपय सहयोग आदानप्रदानका कामलाई पनि अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर