जसपा र नेकपा एसको पार्टी एकता कार्यदलबीच वार्ता हुँदै – Nepal Press

जसपा र नेकपा एसको पार्टी एकता कार्यदलबीच वार्ता हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको लागि गठित कार्यदलबी पहिलो वार्ता तय गरिएको छ ।

बिहीबार १२ बजे दुई दलका एकता कार्यदलबीच सिंहदरबारमा छलफल हुन लागेको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

दुवै पार्टीले विचार मिल्नेसँग पार्टी एकता गर्नका लागि कार्यदल गठन गरेका थिए । जसपाको तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी छन् ।

भने नेकपा एसको तर्फबाट महासचिव बेदुराम भुसाल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् ।

मुलरुपमा वैचारिक र सैद्धान्तिक विषयको मिलनविन्दु खोज्न कार्यदललाई निकै कसरत गर्नुपर्ने नेताहरूले बताएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले समाजवादी एकतामा जोड दिएपछि नेकपा एसले वाम ध्रुवीकरणलाई प्राथमिकता दिएको कारणले दुई दलबीचको एकताको मिलनविन्दु भेट्न मुस्किल गर्ने आँकलन छ ।

जसपा र नेकपा एससँग नेकपा माओवादी केन्द्रले पनि वामपन्थी एकताको लागि भन्दै कार्यदल बनाएको छ । दुई पार्टीबीच एकताको गृहकार्य अघि बढ्दै गर्दा माओवादीले अनौपचारिक छलफल गरिरहेको छ ।

माओवादीको शनिबार बसेको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो ।

माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एस, जसपा र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि एकताको पहल गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर