एमबाप्पे, मेस्सीदेखि नेमारसम्म क्वाटरफाइनलमा, के होला रोनाल्डोको यात्रा ? – Nepal Press

एमबाप्पे, मेस्सीदेखि नेमारसम्म क्वाटरफाइनलमा, के होला रोनाल्डोको यात्रा ?

दोहा । कतारमा जारी विश्वकप फुटबलमा मंगबलार क्वाटरफाइनल समीकरण पूरा हुँदैछ । प्रि-क्वाटरफाइनलका अन्तिम दुई खेलमा मोरक्को र स्पेन तथा स्वीट्जरल्यान्ड र पोर्चुगल भिड्दैछन् । फ्रान्स, अर्जेन्टिना, नेदरल्यान्ड्स, ब्राजिल, क्रोएसिया र इङ्ल्यान्ड क्वाटरफाइनल पुगिसकेका छन् ।

प्रतियोगितामा नेमार र मेस्सीले पहिलोपटक विश्वकप जित्ने अभियान कायमै राखेका छन्। दुवैको सम्भवत: यो अन्तिम विश्वकप सहभागिता रहेको छ । विश्वकपको उपाधि रक्षा गर्ने अभियानमा केलियन एमबाप्पे अग्रपंक्तिमा रहेर फ्रान्सलाई साथ दिइरहेका छन् ।

सम्भवत: आफ्नो अन्तिम विश्वकपका रुपमा कतारमा खेलिरहेका रोनाल्डोको टोली पोर्चुगलले जारी प्रतियोगितामा यात्रा कायम गर्छ गर्दैन भन्ने मंगलबार रातिको खेलबाट निर्क्योल हुनेछ ।

रोनाल्डोले राष्ट्रिय टोलीका लागि खेल्न थालेयता पोर्चुगल एकपटकमात्र विश्वकपमा प्रि-क्वाटरफाइनल पार भएको इतिहास छ । सन् २००६ को विश्वकपमा पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो । सन् २०१० र २०१८ मा प्रि-क्वाटरफाइनलसम्म पुग्दा सन् २०१४ को विश्वकपमा समूहगत चरणबाटै बाहिरिएको थियो ।

जारी विश्वकपमा सुरुका दुई खेल जितेर नकआउट चरणमा स्थान बनाएको पोर्चुगल अन्तिम खेलमा दक्षिण कोरियासँग पराजित भएको थियो । पाँचपटकका फिफा वर्ष खेलाडी रोनाल्डोले जारी विश्वकपमा एक गोल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर