सुदूरपश्चिममा यी २१ जना हुँदै छन् समानुपातिक सांसद, १७ जना महिला – Nepal Press

सुदूरपश्चिममा यी २१ जना हुँदै छन् समानुपातिक सांसद, १७ जना महिला

कैलाली । प्रत्यक्ष तर्फको सुदूरपश्चिम प्रदेशको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । त्यसअनुसार कांग्रेस १२, माओवादी केन्द्र ८, नागरिक उन्मुक्ति पार्टीले ५, एमाले र नेकपा एसले समान ३/३ क्षेत्रमा जितेको छ ।

प्रत्यक्ष तर्फबाट ३२ जना निर्वाचित हुँदा महिलाको सङ्ख्या शून्य छ । कुनै पनि क्षेत्रबाट महिला विजयी नभएपछि ५३ सदस्यीय प्रदेश सभामा अब १७ जना महिला समानुपातिक मार्फत प्रवेश गर्ने छन् ।

अहिले सम्मको परिणाम अनुसार प्रत्यक्षमा १२ क्षेत्र जितेको कांग्रेसले र प्रत्यक्षमा ३ क्षेत्र जितेको एमालेले समानुपातिकमा समान ७/७ जना सांसद पाउने छ । त्यस्तै, प्रत्यक्षमा ८ क्षेत्र जितेको माओवादी केन्द्रले ३, ५ क्षेत्र जितेको नागरिक उन्मुक्तिले २ सिट पाउने छन् । प्रत्यक्षमा ३ क्षेत्र जितेको नेकपा एकीकृत समाजवादी र प्रत्यक्षमा एक पनि सिट नजितेको राप्रपाले १/१ सांसद पाउने छन् ।

कुन दलबाट को-को सांसद ?

कांग्रेस

नेपाली कांग्रेसले ७ जना सांसद पाउनेछ । कांग्रेसले खस आर्यबाट ४ जना, दलितबाट एक जना, थारुबाट एक जना र पिछडिएको क्षेत्रबाट १ जनालाई छनोट गर्ने छ ।

निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीको आधारमा खस आर्यबाट मधु भारती, सरस्वती खड्का, जुना कुमारी दानी र डम्मरा महरा पर्ने छन् । दलितबाट ललिता सुनार र थारुबाट गीता कुमारी चौधरीको सम्भावना अधिक रहेको छ । त्यस्तै पिछडिएको क्षेत्रबाट धनबहादुर बुढा पर्ने छन् ।

एमाले

एमालेले पनि खस आर्यबाट ४ जना, दलितबाट एक जना, थारुबाट एक जना र पिछडिएको क्षेत्रबाट १ जनालाई छनोट गर्ने छ । त्यसमा अनिवार्य ३ जना महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । खस आर्यबाट अग्र पङ्क्तिमा रहेका सन्तोष शर्मा थापा, जानकी बम ,राजेन्द्र रावल र धर्म पाठकको सम्भावना बढी रहेको छ ।

दलित कोटाबाट राधिका भुजेल र हिरा सार्कीमध्ये एकजना पर्दा पिछडिएको क्षेत्रबाट भरत साउद र निर्मला साउदमध्ये एकजना तथा थारु कोटाबाट कुलवीर चौधरी र कोइली चौधरीमध्ये एक जना सांसद हुने छन् ।

माओवादी केन्द्र

प्रत्यक्षतर्फ ८ क्षेत्र जितेको माओवादी केन्द्रले समानुपातिक तर्फ ३ जना सांसद पाउनेछन् । माओवादी केन्द्रबाट तीनैजना महिला सांसद हुने छन् । खस आर्यबाट गीता देवी माल र जनकीदेवी कुवर तथा दलितबाट लक्ष्मी बिक सांसद बन्ने प्रबल सम्भावना छ ।

नागरिक उन्मुक्ति

प्रत्यक्षतर्फ ५ क्षेत्रमा विजयी भएको यो पार्टीले समानुपातिक तर्फ २ जना खस आर्यकै महिला सांसद बनाउनु पर्ने छ । यहाँबाट टिका थापा र इन्दिरा गिरीको सम्भावना अधिक छ ।

नेकपा एस

प्रत्यक्ष तर्फ ३ क्षेत्र जितेको नेकपा एकीकृत समाजवादीले समानुपातिक तर्फ १ जना सांसद पाउने छ । खस आर्यबाट महिला कोटामा माया पन्त सांसद बन्ने सम्भावना छ ।

राप्रपा

राप्रपाले यहाँ प्रत्यक्षतर्फ कुनै क्षेत्र जित्न सकेन । तर, समानुपातिक मत सङ्ख्याका करण एक सांसद हुने छन् । यस पार्टीबाट खस आर्य कोटाबाट पूर्णबहादुर चन्दको प्रवल सम्भावना छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर