रघुवीरदम्पतीको एकसाथ जित- ३६ वर्षअघिको ‘शेरे धनुषा’ सम्झाए – Nepal Press

रघुवीरदम्पतीको एकसाथ जित- ३६ वर्षअघिको ‘शेरे धनुषा’ सम्झाए

जनकपुरधाम । पञ्चायतकालमा धनुषा ‘शेरे धनुषा’ को उपमा पाएका हेमबहादुर मल्ल अहिले यो संसारमा छैनन् । १२ वर्षअघि निधन भएका हेमबहादुरको चर्चा मधेसमा अझै छ ।

चुनाव आयो कि हेमबहादुरको नाम चर्चामा आउँछ । यसको मुख्य कारण- तत्कालीन राष्ट्रिय पञ्चायतमा हेमबहादुर २०४३ को निर्वाचनमा धनुषाबाट आफूसँगै श्रीमती शारदा मल्ललाई पनि विजयी गराउन सफल भएका थिए ।

त्यो निर्वाचनमा उनले ९३ हजार १४९ मत ल्याएर राष्ट्रिय पञ्चायत (पञ्चायतकालीन संसद) सदस्यमा विजयी भएर रेकर्ड बनाएका थिए । त्यसैले उनलाई धनुषाबासीले ‘शेरे धनुषा’ को उपमा दिए ।

धनुषामा मात्र होइन्, देशभर उनी ‘शेरे धनुषा’ नामले परिचित भए । उनी त्यतिबेला कृषिमन्त्री पनि बनेका थिए । त्यो ४३ यताका निर्वाचनमा धनुषाबाट प्रत्यक्षमा कोही दम्पती एकसाथ विजयी भएका थिएनन् ।

यो निर्वाचनमा रघुवीर महासेठ र उनकी पत्नी जुली महतोले एकसाथ जितेर रेकर्ड दर्ज गराएका छन् । सर्वाधिक मतमा भने हेमबहादुरकै रेकर्ड कायम छ ।

एमालेका उम्मेदवार बनेका धनुषा ४ बाट रघुवीर र धनुषा ३ बाट पत्नी जुलीले विजय हासिल गरेकी छन् ।

जुलीलाई जसपाको समर्थन थियो । रघुवीर सत्तागठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादव, जसपालगायतका उम्मेदवारसँग एक्लै लडेका थिए ।

१४ वर्षदेखि निरन्तर शक्तिमा

अनेरास्ववियुको विद्यार्थी राजनीतिमार्फत रघुवीर एमालेसँग जोडिए । ५१ मा उनलाई एमाले नेतृत्वको सरकारले उदयपुर सिमेन्ट कारखानाको कार्यकारी अध्यक्ष बनायो ।

०६५ मा उनले संविधानसभाको उपनिर्वाचनमा धनुषा ४ बाट जिते । त्यसयता उनी निरन्तर शक्तिमा छ । ०७४ मा मधेश प्रदेशमा एमालेले जितेको दुई सीटमा महासेठ पनि थिए ।

मधेश आन्दोलनताका धेरै नेताले एमाले छाड्‍डा रघुवीर डेग चलेनन् र संगठन बचाए । त्यसैले उनी एमाले अध्यक्ष केपीशर्मा ओलीको विश्वास पात्र बने ।

रघुवीर ओली नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात्रमन्त्री र उपप्रधानसहित परराष्ट्रमन्त्री भइसकेका छन् । ०७४ मा समानुपातिक कोटमा सांसद बनेकी जुली पनि ओली सरकारमै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनिन् ।

निरन्तर शक्तिमा रहेको र श्रीमान्-श्रीमती दुवै प्रत्यक्षमा चुनाव लड्दा महासेठदम्पती विपक्षीको निशानामा थिए ।‘राजा-रानी’ लाई हराउनुपर्छ भनेर अभियान नै छेडिएको बेला मधेसमा महासेठदम्पतीले सानदार जित निकालेका छन् । त्यतिमात्र होइन प्रदेश इन्चार्ज रहेका रघुवीरले संगठन जगाउँदै मधेसमा एमालेलाई पहिलो पार्टी बनाइ छाडे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर