अशोक राईको जीतमा ‘एमाले फ्याक्टर’ – Nepal Press
टिप्पणी

अशोक राईको जीतमा ‘एमाले फ्याक्टर’

इटहरी । सुनसरी १ का चुनावी सभाहरुमा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष अशोक राईले गरेको भाषण एमालेका नेताहरुको भन्दा ज्यादा केपी शर्मा ओली र एमाले सरकारका सकारात्मक प्रभावको चर्चामा केन्द्रित थिए । धरान र आसपासका क्षेत्रहरु समेटिएको यस क्षेत्रका सबैजसो कार्यक्रमहरुमा राईले एमालेको नौमहिने सरकारको कुरा धेरै गरे ।

आफैं राज्यमन्त्री भएर सहभागी एमालेको २०५१ सालको नौमहिने सरकारको बखान गरेर एमालेको प्रभाव क्षेत्र भएको सुनसरी क्षेत्र नम्बर १ मा भाषण गर्नु त सामान्य नै हो । त्योभन्दा एक कदम बढेर राईले गर्ने भाषणहमा केपी ओलीले ल्याएको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा पनि पटकपटक आए । एमालेका प्रदेशसभा १ का उम्मेदवार रमेश बस्नेत र २ का उम्मेदवार विजय राईले भन्दा धेरै यो नाराको कोट राईले नै गरे ।

एमालेबाट धरानको उपमेयर र मेयर भएका मनोज मेन्याङ्बोको ‘खरायो’ चुनाव चिन्हमा धेरै एमालेको मत जाने चर्चाले पनि एमालेको मत होल्ड गर्न राईले धेरै सफ्ट कर्नरका भाषणहरु गरे । ‘पहिले एमाले छोडेर पुनः एमालेकै सहयोग खोज्न आएको’ भन्ने तर्कका एमाले आलोचकहरुलाई साम्य पार्न उनले भनिरहे, ‘यो एमाले छोडेर फेरि तालमेल गर्न आएको कुराको रुपमा नहेर्नु होला । यो राष्ट्रिय आवश्यकताले भएको कुरा हो ।’

एमाले र जसपा सहकार्य दीर्घकालीन हुने तर्क उनले भाषणदेखि पत्रकारसँगका कुराकानीसम्ममा गरिरहे । २०७४ सालमा एमालेका उम्मेदवार जयकुमार राईसँग कांग्रेससँग तालमेल गरेर चुनाव लड्दा २२ हजार मतान्तरले हारेका राईले यसपटकको चुनावमा एमालेसँग मिलेर लडेका थिए । एमालेहरु नै बिच्किएमा पुरानो हार दोहोरिने भय उनमा थियो । त्यसैको प्रकटीकरण उनका एमाले सरकारका कार्यक्रमहरुको प्रचार र व्याख्यानमा आए ।

राईको पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले भने भारी मतान्तरमा चुनाव हारेका छन् । राई जीत निकालेर पार्टी र व्यक्तिगत दुवै कोणमा आफ्नो शक्ति देखाउन सफल भएका छन् ।

राईले मात्रै हैन उनको कार्यक्रममा आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उनलाई जिताउनैपर्ने भन्दै भाषण गरे । कात्तिक २६ गते धरानको गीता मन्दिर क्षेत्रमा भएको कार्यक्रममा ओलीले भने, ‘एमालेको संगतमात्रै गर्दा जितिन्छ भन्ने देखाउन अशोक राईलाई जिताउनुपर्छ ।’

ओली यत्तिमै सीमित भएनन् अशोक राई कुनैवेला आफ्ना उपाध्यक्ष भएको भन्दै उनले राईलाई जिताउन दिनरात नभनी खट्न एमाले नेता तथा कार्यकर्ताहरुलाई सार्वजनिक आह्वान गरे । यो आह्वानको प्रभाव पनि देखियो । एमालेका नेता तथा कार्यकर्ताहरुले सफ्ट कर्नर राखेका खरायो चिन्हका स्वतन्त्र उम्मेदवारको मत सोचिएजस्तो आएन । अन्ततः राईको जीत भयो । राष्ट्रिय स्वतन्त्र पार्टीको अप्रत्याशित चुनावी प्रदर्शन सुनसरी क्षेत्र नम्बर १ मा हुँदा पनि राईले जीत निकाल्न सफल भएका छन् । राईको पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले भने भारी मतान्तरमा चुनाव हारेका छन् । राई जीत निकालेर पार्टी र व्यक्तिगत दुवै कोणमा आफ्नो शक्ति देखाउन सफल भएका छन् ।

एमालेसँग मिल्दा चुनाव जित्ने रोचक संयोगहरु

२०६८ असोज १८ मा ‘अग्रगामी शक्ति निर्माणका लागि एमाले परित्याग कार्यक्रम’ गरेर एमालेबाट अलग भएका राईले त्यो बीचमा विभिन्न दलहरुमा आफूलाई उभ्याए । एमाले त्याग गरेर उनी अध्यक्ष भएर बनेको संघीय समाजवादी पार्टीमा समानुपातिक बसेर संविधानासभा सदस्य भएका राईले नयाँ संविधान बनेपछि धरानमै आएर चुनाव लडे ।

एमाले त्याग गरेपछि उनी सरकारमा गएका छैनन् । अबको सत्तामा भने राई जान्छन् जाँदैनन् भन्ने कुरा सत्ता समीकरणको रुपरेखाले निर्धारण गर्नेछ ।

मालेकालमा भूमिगत रुपमा २०३८ देखि जनआन्दोलनको समयसम्म धराने भूगोलमा धेरै काम गरेका राईलाई धरान निर्णायक भएको सुनसरी १ ले पत्याएन । उनले आफूभन्दा धेरै कनिष्ठ कार्यकर्ता जयकुमार राईसँग २२ हजार मतान्तरले हारे । नेपाली कांग्रेसले साथ दिएर पनि राईको जीत हुन सकेन । अघिल्लो चुनावमा कांग्रेससँग मिल्दा २२ हजार मतले हारेका राईले यो चुनावमा भने एमालेसँग मिलेर जीत निकालेका छन् ।

अझ रोचक संयोग त अहिलेसम्म राईले जति चुनाव प्रत्यक्ष जितेका छन् त्यो सबै एमालेको उम्मेदवार भएरमात्रै जितेका छन् । २०४८ र २०५१ मा उनले खोटाङबाट चुनाव जिते । २०५६ को मध्यावधि चुनावमा भने एमाले फुटेर बनेको माले उम्मेदवार भएका उनी एमाले उम्मेदवार सुरेश कार्कीसँग उदयपुरबाट पराजित भए ।

२०३३ सालमा अमृत बोहोराको हातबाट कोअर्डिनेसन केन्द्रको सदस्यता लिएका राई माले बनेपछि केन्द्रीय सदस्यसमेत भए । एमाले छोड्नु अगाडि निर्वाचित केन्द्रीय उपाध्यक्ष भएका उनले एमालेमै हुँदा राज्यसत्तामा जाने मौका पाएका थिए । एमालेको नौमहिने २०५१ को सरकारका उनी यातायात राज्यमन्त्री थिए । एमालेको साथमा बनेको २०५३ सालको लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा पनि उनी संसदीय व्यवस्था राज्यमन्त्री भए ।

एमालेले माधव नेपाल नेतृत्वकालमा ‘प्रतिगमन आधा सच्चियो’ भनेर शेरबहादुर देउवा नेतृत्वको सरकारमा २०६१ सालमा सहभागी हुँदा उनी स्वास्थ्यमन्त्री भएका थिए । एमाले त्याग गरेपछि उनी सरकारमा गएका छैनन् । अबको सत्तामा भने राई जान्छन् जाँदैनन् भन्ने कुरा सत्ता समीकरणको रुपरेखाले निर्धारण गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर