नेकपा एसका ४ नेता एमालेसँग पराजित, घण्टीसँग एकजना हार्दा क-कसले लिए अग्रता ? – Nepal Press

नेकपा एसका ४ नेता एमालेसँग पराजित, घण्टीसँग एकजना हार्दा क-कसले लिए अग्रता ?

काठमाडौं । सत्तागठबन्धनबाट १९ सीट पाएको नेकपा एकीकृत समाजवादीका ४ ठाउँमा पराजय भोगेको छ भने एउटामा जित निकालेको छ । मतगणना भइरहेका क्षेत्रमध्ये ७ ठाउँमा नेकपा एसका उम्मेदवारको अग्रता छ ।

गठबन्धनबाट नेकपा एसले १९ सीट पाएको थियो । तर, रुपन्देही २ बाट उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज भएसँगै १८ सीटमा सीमित भयो । धनुषा २ मा नेकपा एसले मित्रवत् प्रतिस्पर्धा गरेको छ ।

नेकपा एसले उम्मेदवारी दिएको क्षेत्रमध्ये ५ क्षेत्रको परिणाम आएको छ । जसमा ४ क्षेत्रमा हार र एक क्षेत्रमा जित भएको छ । अछाम १ बाट नेकपा एसका नेता तथा श्रममन्त्री समेत रहेका शेरबहादुर कुँवरले एमालेका झपट बोहरालाई ४४८९ मतान्तरले पराजित गर्दै नेकपा एसले पहिलो सीट जितेको हो ।

कुँवरले १९५३४ मत ल्याएका थिए भने बोहरा १५०४५ मतमा रोकिए । कुँवर नेकपा एसबाट विजयको खाता खोल्ने पहिलो व्यक्ति भएका छन् । उदयपुर क्षेत्र नम्बर २ मा जगन्नाथ खतिवडा, काठमाडौं ८ मा जीवनराम श्रेष्ठ, ललितपुर २ मा कृष्णलाल महर्जन, र गुल्मी २ मा रामकुमारी झाँक्री पराजित भएका छन् ।

नतिजा आएका पाँचमध्ये एसका तीन पदाधिकारी एमालेसँग पराजित भएका छन् भने एक पदाधिकारी तथा पर्यटनमन्त्री श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पराजित भएका छन् ।

जीवनराम श्रेष्ठ रास्वपाका विराजभक्त श्रेष्ठसँग पराजित हुँदा जगन्नाथ खतिवडा एमालेका अम्मरबहादुर रायमाझीसँग पराजित भए भने कृष्णलाल महर्जन एमालेका प्रेमलाल महर्जनसँग हारे । रामकुमारी झाँकी एमालेकै गोर्कण विष्टसँग पराजित भइन् ।

मत परिणाम आउन बाँकी क्षेत्रमध्ये पार्टी अध्यक्ष माधवकुमार नेपालको रौतहट १मा अग्रता कायम छ । त्यस्तै डोटीबाट प्रेम आले, सल्यानबाट प्रकाश बुढाथोकी ज्वाला, दाङ १ बाट मेटमणि चौधरी, धादिङ १ बाट राजेन्द्र पाण्डे र बारा ४ बाट कृष्णबहादुर श्रेष्ठ ‘किसान’ जितउन्मुख छन् ।

डोल्पाबाट उम्मेदवारी दिएका धनबहादुर बुढा मगरको क्षेत्रमा मतगणना सुरु भएको छैन । पार्टीका सम्मानित नेता झलनाथ खनाल इलाम १ मा पराजयउन्मुख छन् । मकवानपुर २ मा विरोध खतिवडा, कास्की २ मा श्रीनाथ बराल, पाल्पा २ मा सोमप्रसाद पाण्डे पनि पराजयनिकट पुगेका छन् ।

उता दैलेख क्षेत्र १ मा अम्बरबहादुर थापा सुरूवाती गणनामा पछाडि परेका छन् । सिरहा ४ मा उपाध्यक्ष धर्मनाथ साह पनि जसपाका वीरेन्द्र महतोसँग पछि परेका छन् । मित्रवत प्रतिस्पर्धा गरेका रामचन्द्र झा पनि धनुषा २ मा तेस्रो छन् ।

बझाङबाट भानुभक्त जोशी एमालेका ऐन महरबीच तीव्र प्रतिस्पर्धामा छन् । जोशी ११९ मतले अगाडि छन् ।

अहिलेसम्मको अपडेटअनुसार पराजयनिकट रहेका नेकपा एसका उम्मेदवारको प्रतिस्पर्धा एमालेसँग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर