मकवानपुरमा सत्ता गठबन्धनका यी चार उम्मेदवारले आफैंलाई दिने छैनन् भाेट – Nepal Press

मकवानपुरमा सत्ता गठबन्धनका यी चार उम्मेदवारले आफैंलाई दिने छैनन् भाेट

हेटौंडा । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मकवानपुरमा सत्ता गठबन्धनका चारजना उम्मेदवारले आफैंलाई मतदान गर्ने छैनन् । प्रतिनिधिसभा र प्रदेशसभाका दुईदुईजना गठबन्धनका उम्मेदवारले आफैंलाई मतदान गर्न नपाउने भएका हुन् ।

मकवानपुर क्षेत्र नम्बर १ की उम्मेदवार नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, क्षेत्र नम्बर २ का उम्मेदवार नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले आफैंलाई मतदान गर्ने छैनन् ।

त्यसैगरी गठबन्धनकै क्षेत्र नम्बर २ को प्रदेशसभा १ की उम्मेदवार माओवादीकी केन्द्रीय सदस्य कुमारी मोक्तान र प्रदेशसभा २ का उम्मेदवार कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पनि आफैंलाई मतदान गर्न पाउनेछैनन् ।

हेटौंडा उपमहानगरपालिका- २ स्थायी घर भएकी क्षेत्र नम्बर १ की उम्मेदवार डिनाको मतदाता नामवली प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पर्ने भीमफेदी गाउँपालिकामा रहेको छ । उनले भीमफेदी ७ मा मतदान गर्नेछिन् ।

क्षेत्र नम्बर २ का उम्मेदवार खतिवडाको नाम भने क्षेत्र नम्बर १ अन्तर्गत हेटौंडा उपमहानगरपालिका- ४ मा छ । उनको घरसमेत रहेको वडा नम्बर ४ स्थित भुटनदेवी मावि मतदान केन्द्रमा खतिवडाले मतदान गर्नेछन् ।

प्रदेशसभा उम्मेदवार बानियाँको मतदाता नामावली क्षेत्र नम्बर १ अन्तर्गत हेटौंडा उपमहानगर- १८ मा रहेको छ । बानियाँको गृह वडामा रहेको कमला निमावि मतदान केन्द्रमा उनले मतदान गर्नेछन् । अर्का प्रदेशसभा उम्मेदवार मोक्तानको मतदाता नामवलीमा नाम रहेको क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा मतदान गर्नुपर्ने हुन्छ । मोक्तानले हेटौंडा उपमहानगर- १३ को कालिका निमावि मतदान केन्द्रमा मतदान गर्नेछिन् ।

मकवानपुरमा गठबन्धनका बहुमत उम्मेदवारले आफैंलाई मतदान गर्न नपाउने भएकाले प्रतिस्पर्धी एमालेसहितका दलहरुले उनीहरुलाई ‘टुरिष्ट’ उम्मेदवार भएको औंल्याउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर