रेशम चौधरीले भन्दा धेरै मत पाएर विजयी हुन्छु : रन्जिता चौधरी – Nepal Press
नेपाल टक

रेशम चौधरीले भन्दा धेरै मत पाएर विजयी हुन्छु : रन्जिता चौधरी

'हाम्रो एजेन्डा पहिचानको शासन र समृद्धि हो'

कैलाली । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा अहिले रोचक चुनावी प्रतिस्पर्धा हुने आकलन गरिएको छ । अघिल्लो पटक यस क्षेत्रमा रेशम चौधरी निर्वाचित भएका थिए । अहिले नागरिक उन्मुक्ति पार्टीबाट चौधरीकी पत्नी रन्जिता श्रेष्ठ चौधरी मैदानमा छिन् । यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्वमन्त्री रामजनम चौधरी र नेकपा एमालेबाट टीकापुर नगरपालिकाका पूर्वमेयर तपेन्द्र रावल चुनावी मैदानमा छन् ।

अघिल्लोपटक रेशम चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा एमालेकी मदनकुमारी शाह (गरिमा) ले १३ हजार ४०६ मत ल्याएकी थिइन् । कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २०३ मत पाएर तेस्रो भएकी थिइन् ।

यसपटक रेशम चौधरीको विरासत जोगाउन रन्जितालाई चुनौती छ । २०४८ यता अघिल्लो पटक पहिलोपटक संसदीय यात्रामा ब्रेक लागेका चौधरीलाई पनि कमब्याक गर्न सजिलो छैन । २०७४ मा मेयर भएका एमालेका रावललाई पनि जीत निकाल्न सहज छैन । यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ । तीनै जना उम्मेदवार आ-आफ्नो जीत हुने दाबी गरिरहेका छन् ।

यसै सन्दर्भमा नागरिक उन्मुक्तिकी केन्द्रीय अध्यक्ष रहेकी कैलाली १ प्रतिनिधिसभा सदस्य उम्मेदवार रन्जिता श्रेष्ठ चौधरीसँग निर्वाचनको तयारी, प्रतिस्पर्धा र एजेन्डाबारे नेपालप्रेसकर्मी भानुभक्त आचार्यले गरेको कुराकानी नेपाल टकमा :

– रेशम चौधरीको विरासत कायम राख्न तपाईंलाई कतिको चुनौती छ ?

कुनै चुनौती छैन जस्तो लाग्छ मलाई । स्थानीय तहमा हामीले चार वटा पालिका जितेका छौं । त्यो चार पालिका नै मेरो क्षेत्रमा पर्ने भएको हुँदा पनि म सहजै निर्वाचन जित्छु भन्ने हो ।

– अहिले घरदैलोमा पनि गइरहनु भएको छ । के भन्छन् मतदाताहरू ?

मतदाताहरू निकै उत्साहित हुनुहुन्छ । उहाँहरूको उत्साह र मलाई दिइरहनु भएको सल्लाह सुझावका कारण पनि म जित्छु भन्नेमा विश्वस्त छु ।

– कस्ता एजेन्डा लिएर घरदैलोमा गइरहनु भएको छ ?

शिक्षा, स्वास्थ्य, यातायात र सञ्चार, भूमि व्यवस्था, कृषि तथा खाद्य सुरक्षा, संस्कृति तथा पर्यटन, खेलकुद, वन तथा वातावरण र विपद् व्यवस्थापनसहित पहिचानको मुद्दालाई पनि एजेन्डा बनाएर जनतासमक्ष गइरहेका छौं ।

– पूर्वमन्त्री र पूर्वमेयरसँग निर्वाचनमा होमिँदा पनि जित्छु भन्नुहुन्छ । महत्त्वाकांक्षी भएको जस्तो लाग्दैन ?

त्यस्तो महत्त्वाकांक्षी भन्ने हुँदैन । एकले अर्कालाई प्रतिस्पर्धी मानेर सबै चुनावी मैदानमा उत्रिरहेका हुन्छन् । त्यसैमाथि पूर्वमेयर र पूर्वमन्त्री लाई पनि यसअघि जनताले मत हालेर विचार गरिसकेका छन् ।

कहीं यो थारु पार्टी हो, पहाडी पार्टी होइन भन्ने गरेका छन् । कहीं यो पहाडी पार्टी हो, थारु पार्टी होइन भन्ने गरेका छन् । यो दुबै हल्ला हुन् । यो थारु पार्टी होइन, पहाडी पार्टी पनि होइन । यो समावेशी पार्टी हो ।

उहाँहरूले गर्नुभएका कामहरू पनि यहाँका जनतालाई सबै थाहा भइसकेको छ । म अहिले नयाँ छु । त्यसैले मतदाताले यस पटक मलाई रोजेर पठाउनुहुन्छ ।

– त्यसो भए तपाईंको प्रतिस्पर्धी को ?

प्रतिस्पर्धी यो नै हो भनेर म भन्दिनँ । सबै प्रतिस्पर्धी हुन सक्छन् ।

– तपाईंहरूको पार्टी चौधरी समुदायको मात्रै हो भन्ने आरोप छ नि ?

यो मिथ्या आरोप हो । चौधरी पार्टी वा थारु पार्टी भन्ने हुँदैन । संविधान पल्टाएर हेर्दा पनि हुन्छ नि ! कुनै पनि जातिगत पार्टीलाई निर्वाचन आयोगले दर्ता नै गर्दैन ।

कहीं यो थारु पार्टी हो, पहाडी पार्टी होइन भन्ने गरेका छन् । कहीं यो पहाडी पार्टी हो, थारु पार्टी होइन भन्ने गरेका छन् । यो दुबै हल्ला हुन् । यो थारु पार्टी होइन, पहाडी पार्टी पनि होइन । यो समावेशी पार्टी हो ।

– टीकापुर घटनाको वकालत गरिरहनु भएको छ । तर, तपाईंहरूले हुने खानेलाई उम्मेदवार बनाएर टीकापुर घटनाका बन्दी परिवारलाई नदिएको आरोप छ नि ?

त्यो त हुँदै होइन । राजबन्दी परिवारबाट यमुना विक चौधरी हुनुहुन्छ भजनी ६ बाट । उहाँ समानुपातिकको १ नम्बर मै हुनुहुन्छ । बाहिर यस्तो हल्ला गरिरहेको सुनिन्छ ।

हामी बोल्न सक्ने ठाउँमा पुग्छौं । हाम्रो आवाजलाई हामी बुलन्द गराउँछौं । हाम्रो एजेन्डा पहिचानको शासन र समृद्धि हाे ।

नबुझी हल्ला नगर्न पनि म आग्रह गर्दछु । राजबन्दी परिवारको कुरा गर्दा म पनि त एउटा राजबन्दी परिवारको सदस्य हुँ नि ! ज्वलन्त उदाहरण मलाई हेर्दा पनि हुन्छ नि !

– तपाईंहरुलाई जिताए न्याय पाइन्छ, रेशमलगायतका बन्दीहरू रिहा हुन्छन् भन्दै भोट मागिरहनुभएको छ । तपाईंहरु २÷४ जना विजयी हुँदैमा न्याय मिल्ने र रिहा हुने कुरा हुन्छ त ?

२/४ जना सांसद विजयी हुँदैमा न्याय मिल्ला र भन्ने त एउटा प्रश्नमात्रै हो । हामी बोल्न सक्ने ठाउँमा पुग्छौं । हाम्रो आवाजलाई हामी बुलन्द गराउँछौं । हाम्रो एजेन्डा पहिचानको शासन र समृद्धि हाे । जुन शक्तिले हामी संसदमा आवाज उठाउँछौं त्यो शक्तिले राजबन्दी परिवार छुटाउन दबाब पुग्छ ।

– प्रदेश र संघमा कति क्षेत्र जित्छौं भन्ने तपाईंहरूको प्रक्षेपण छ ?

प्रतिनिधिसभामा हामीले ३४ जना उम्मेदवार खडा गरेका छौं । प्रदेशमा हामीले ५७ जना उम्मेदवार खडा गरेका छौं । हामीले उम्मेदवार उठाइसकेपछि सबै क्षेत्र जित्छौं भन्ने लक्ष्य राखेर अगाडि बढिरहेका छौं । त्यसैले अहिले नै यतिमा जित्छौं भन्न सक्दिनँ । किनेभने पार्टी अध्यक्ष भएर र उम्मेदवार भएर पनि जित्छु भनेर म हिँडिरहेको छु । सबै उम्मेदवारहरू जित्ने लक्ष्य लिएर अगाडि बढिरहेका छौं ।

– यसअघि रेशम चौधरीले ३४ हजार ३४१ मत पाएर निर्वाचन जित्नु भएको थियो । अहिले तपाईंको कति मत आउँला ?

२०७४ सालमा माननीय रेशम चौधरी, मेरो श्रीमानले ३४ हजार बढी मत पाएर जित्नुभएको थियो । मङ्सिर ४ गते हुने निर्वाचनमा म त्योभन्दा धेरै मत ल्याएर विजयी हुन्छ भन्नेमा विश्वस्त छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर