प्रत्यक्षतर्फको ३० प्रतिशत मतपत्र छपाइ सकियो, सुदूरपश्चिममा ढुवानी सुरु – Nepal Press

प्रत्यक्षतर्फको ३० प्रतिशत मतपत्र छपाइ सकियो, सुदूरपश्चिममा ढुवानी सुरु

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ २० जिल्लाको मतपत्र छपाइ सकिएको छ । बुधबार प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेशसभातर्फ डोटी, डडेलधुरा र कैलाली जिल्लाको मतपत्र छपाइ सकिएको हो ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फको करिब ३० प्रतिशत मतपत्र छपाइ सकिएको जनाएको छ । आयोगका अनुसार १ करोड २८ लाख ४९ हजार ५०० मतपत्र छपाइ भइसकेको छ । आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले प्रदेशसभातर्फ ६४ लाख ३२ हजार ५०० र प्रतिनिधिसभातर्फ ६४ लाख १७ हजार मतपत्र छापिइसकेको जानकारी दिए ।

निर्वाचनको लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । जसअनुसार प्रत्यक्षतर्फ करिब ४ करोड र समानुपातिकका लागि करिब ४ करोड मतपत्र आवश्यक पर्नेछ ।

यसअघि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरा जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको छ । प्रदेशसभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ ।

आयोगल बिहीबारदेखि सुदुरपश्चिम प्रदेशका जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी थालेको छ । कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ, बैतडी, दार्चुलालगायतका जिल्लामा मतपत्र ढुवानी भएको छ ।

बागमती, मधेस र प्रदेश नं १ का जिल्लामा भने यसअघि नै मतपत्र ढुवानी भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर