रुपन्देही ३ मा बालकृष्ण र दीपक: पहिले सहयात्री, अहिले प्रतिद्वन्द्वी – Nepal Press

रुपन्देही ३ मा बालकृष्ण र दीपक: पहिले सहयात्री, अहिले प्रतिद्वन्द्वी

रुपन्देही । नेपाली कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणले २०७४ सालको निर्वाचनमा राप्रपाका दीपक बोहोरालाई जिताउन हलो चिन्हमा मत मागेका थिए । उक्त निर्वाचनमा समानुपातिकमा बसेर खाणले प्रत्यक्ष निर्वाचन लडेका बोहोराको लागि भोट मागेका थिए ।

तर, मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उनै बोहोराविरुद्ध खाण उभिएका छन् । बोहोरा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा चुनावी मैदानमा उत्रिएका छन् । खाण भने सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी (लोसपा) का साझा उम्मेदवार छन् । अघिल्लो चुनावका सहयात्री खाण र बोहोरा अहिले एक-अर्काका प्रमुख प्रतिस्पर्धी बनेका छन् ।

२०७४ सालको चुनावमा खाणले बोहाेरालाई जिताउन सकेनन् । तर, यस पटक उनै बोहोरालाई हराएमात्रै खाणले चुनाव जित्नेछन् । पञ्चायत कालमा ४ पटक र गणतन्त्रपछि तीनपटक मन्त्री भइसकेका ७२ वर्षका बोहराले यसपटकको चुनाव आफ्ना लागि अन्तिम भएको बताएका छन् ।

बोहाेरा २०६४ को चुनावमा रुपन्देही १ मा माओवादी केन्द्रका घनश्याम यादवसँग पराजित भएका थिए । २०७० मा तत्कालीन २ नम्बर क्षेत्र (हाल ३) मा कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गर्दै विजयी भएका बोहरा २०७४ सालमा रुपन्देही ३ मा नेकपा एमालेका घनश्याम भुसालसँग पराजित भएका थिए ।

वाम गठबन्धनका उम्मेदवार भुसालले ३२ हजार ८६६ मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसको समर्थन पाएका बोहोराले २७ हजार ४२२ मत पाएका थिए । त्यतिवेला राप्रपा विभाजित थियो । वर्गाकारभित्र हलो चिह्न लिएर त्यही क्षेत्रमा चुनाव लडेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का कमलप्रसाद शर्मा उपाध्यायले एक हजार ८५६ मत ल्याएका थिए ।

अहिले राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि पार्टीप्रति आकर्षण बढेको र विगतभन्दा पार्टीको मत बढेको राप्रपाको दाबी छ ।

सत्तारुढ गठबन्धनबाट यो क्षेत्रको प्रदेश (क) मा लोसपाका सन्तोषकुमार पाण्डे र (ख) मा कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवार छन् । एमालेको गठबन्धनबाट (क) मा जसपाका महेन्द्र यादव र (ख) मा एमालेका तुलसी चौधरी उम्मेदवार छन् ।

यो क्षेत्रमा गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतअनुसार राप्रपा कांग्रेस र एमालेपछिको तेस्रो शक्ति हो ।

यस्तो छ स्थानीय तहको मतभार

रूपन्देही ३ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरुले ३४ हजार १५३, एमालेका वडाध्यक्ष उम्मेदवारहरुले २९ हजार ४८ र राप्रपाका वडाध्यक्ष उम्मेदवारहरुले १३ हजार ३९७ मत पाएका छन् । जसपाका वडाध्यक्ष उम्मेदवारहरुले ६ हजार १८३, माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारहरुले दुई हजार ८८१, लोसपाका वडाध्यक्ष उम्मेदवारहरुले दुई हजार १७४ र नेकपा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारहरुले ९७७ मत पाएका थिए । तर, राप्रपाले यस क्षेत्रमा आफ्नो १५ हजारभन्दा बढी मत रहेको दाबी गर्ने गरेको छ ।

यो मतका आधारमा सत्ता गठबन्धनमा रहेका दलको मत ४० हजार १६७ पुग्छ भने एमाले नेतृत्वको एमाले-राप्रपा-जसपा गठबन्धनको मत ४८ हजार ६ सय २८ हुन्छ । यस आधारमा खाण बोहराभन्दा ६ हजार ४६१ मतले पछाडि देखिन्छन् ।

दलहरुका आआफ्नै दाबी

नेपाली कांग्रेस रुपन्देही ३ का क्षेत्रीय सभापति सुशील गुरुङ भने स्थानीय तहको मतले प्रतिनिधिसभा चुनावलाई प्रभाव नपार्ने तर्क गर्छन् । ‘स्थानीय चुनावको मतले यो चुनावलाई प्रभाव पार्दैन, गृहमन्त्रीको राजनीतिक उचाइ र यो क्षेत्रको विकासमा गरेका योगदानले गर्दा सजिलै चुनाव जित्छौं’, गुरुङले भने ।

राप्रपा जिल्ला अध्यक्ष सागरप्रताप राणा बोहोराको व्यक्तिगत प्रभावले स्थानीय तहको मतभन्दा धेरै अन्तरले जित्ने दाबी गर्छन् । ‘यो क्षेत्रमा दीपक बोहोराले धेरै अघिदेखि योगदान गर्नुभएको छ, त्यो यहाँका पुराना मतदातालाई थाहा छ’, राणाले भने ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले सत्ता गठबन्धनलाई पराजित गर्ने पार्टीको रणनीति रहेकाले राप्रपासँगको तालमेललाई कार्यकर्ताले इमानदारीपूर्वक कार्यान्वयन गर्ने बताए ।

यस्ता छन् खाणका चुनौती

यो क्षेत्रमा कांग्रेस पृष्ठभूमिका सामाजिक अभियन्ता प्रख्यात बन्जाडे हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका छन् । उनले खाणका केही मत काट्ने अनुमान गरिएको छ । भैरहवा र आसपासका व्यवसायिक तथा सामाजिक संघसंस्थामा राम्रो प्रभाव जमाएका बन्जाडेले कांग्रेसकै मत काट्ने र त्यसले खाणलाई असर गर्ने विपक्षी गठबन्धनमा रहेका दलहरुको आंकलन छ ।

रुपन्देहीमा कांग्रेसभित्रै दुई समूहको विवाद छ । लामो समयदेखि खाण समूहको दबाब झेलिरहेका इतर समूह उनीविरुद्ध जानसक्ने बताइएको छ । त्यस्तै स्थानीय तहको निर्वाचनमा खाणकै भाइ रामकृष्ण खाणलाई तिलोत्तमाको मेयरमा उम्मेदवार बनाएपछि एउटा समूह असन्तुष्ट रहिरहेको छ । त्यो समूहको पूरा साथ खाणले नपाउनसक्छ ।

पार्टीको महाधिवेशनमा संस्थापन पक्षबाट इतर समूहका नेता-कार्यकर्तामाथि भौतिक आक्रमण नै भएकाले त्यसको तुष बाँकी रहेको र क्षेत्रमा पाखा लगाएको भन्दै संस्थापन इतरका नेता-कार्यकर्ताले खाणलाई असहयोग गर्ने केहीको आंकलन छ ।

बोहोरालाई पनि छैन सहज

एमाले तथा जसपाले राप्रपालाई समर्थन गरे पनि सबै एमाले र जसपा कार्यकर्ताले बोहोरालाई मत नहाल्न सक्छन् । यो क्षेत्रमा पर्ने पालिकाका प्रमुखमा कांग्रेस विजयी भएकाले बोहोरालाई निर्वाचन जित्न कम चुनौतीपूर्ण छैन ।

रुपन्देही ३ मा सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, बुटवलका वडा नम्बर १४ देखि १९, मायादेवी गाउँपालिकाका वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ र तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् ।

निर्वाचन आयोगका अनुसार क्षेत्र नं ३ (क) ६५ हजार ५१३ र ३ (ख) मा ६७ हजार २७८ मतदाता रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
Nepal Press - Live
Nepal Press - Live