लुम्बिनीमा यसरी भिड्दैछन् पूर्वसहकर्मी – Nepal Press

लुम्बिनीमा यसरी भिड्दैछन् पूर्वसहकर्मी

प्रभावशाली नेताहरु फरक दलबाट आमनेसामने

रुपन्देही । लामो समय नेकपा एमालेमा रहेका लुम्बिनीका प्रभावशाली नेताहरु आउने चुनावमा फरक समूहबाट आमनेसमाने भएका छन् ।
राजनीतिमा स्थायी मित्र र शत्रु कोही पनि हुँदैन भन्ने उदाहरणलाई प्रयोगमा ल्याउँदै यी नेताहरु फरक दल र गठबन्धनमा पुगेर प्रतिस्पर्धामा उत्रेका छन् ।

लुम्बिनीका ११ प्रभावशाली नेताहरु यसरी मुख्य प्रतिस्पर्धामा मैदानमा छन् । ती मध्ये केही बिगतमा बराबरी हैसियतमा भएपनि केही आफूले नेता मानेकाहरूसँग नै चुनावमा भिड्दैछन् फरक दलबाट । यसकारण पनि लुम्बिनीका यी क्षेत्रहरुमा मंसिर ४ को चुनाव निकै रोचक हुनेछ ।

एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीका उम्मेदवार र एमाले पार्टी परित्याग गरेका घनश्याम भुसाल यसपटक आफ्नै पूर्व सहकर्मीसँग प्रतिस्पर्धाका लागि चुनावी मैदानमा छन् । यद्यपि एमालेसँग चुनाव लड्ने उनको एक्लो आँट भने होइन, उनलाई गठबन्धनले काँध थाप्दैछ ।

छविलाल र घनश्याम दुई गठबन्धनबाट मैदानमा

रुपन्देही क्षेत्र नं १ मा घनश्याम भुसाल र छविलाल विश्वकर्माबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकर्मा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हुन् भने भुसाल यसअघि एमालेको उपमहासचिव तथा १० औं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएपछि स्थायी कमिटी सदस्य थिए ।

एमालेबाट राजीनामा दिएका उनी माओवादी कोटामा सत्ता गठबन्धनको साथमा एमाले नेता विश्वकर्मासँग भिड्न त्रिभुज चुनाव चिन्ह लिएर मैदानमा गएका छन् । भदौ १९ को एमाले रुपन्देही क्षेत्र नं १ को क्षेत्रीय कमिटीबाट उनीहरु दुवै जना प्रतिनिधिसभा सदस्य उम्मेदारको सिफारिस भएका थिए तर प्रदेश कमिटीले भुसालको नाम काटेर बिकको मात्रै एकल नाम केन्द्रमा पठाएको थियो ।

माक्र्सवादी अध्येयताको परिचय बनाएका भुसाल क्षेत्र नं ३ बाटसमेत उम्मेदार सिफारिस भएका थिए तर त्यो क्षेत्र समेत एमालेले राप्रपालाई दिएपछि उम्मेदार मनोनयन गर्ने अघिल्लो दिन एमाले परित्याग गर्दै दर्ता गर्ने बिहान गठबन्धनको सहयोगमा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका थिए । भुसाल ०७४ सालको निर्वाचनमा रुपन्देही–३ बाट राप्रपाका दिपक बोहोरालाई हराउँदै निर्वाचित भएका थिए । विश्वकर्मा सोही क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद हुन् ।

२०७४ को निर्वाचनमा रुपन्देही–१ बाटै विश्वकर्माले कांग्रेसका अब्दुल रज्जाकलाई पराजित गरेका थिए । २०७० को निर्वाचनमा भने अब्दुल रज्जाकले तीनै विश्वकर्मालाई पराजित गरेका थिए । माओवादी केन्द्रको समेत सहयोगमा उम्मेदवार बनेका विश्वकर्माले ३४ हजार ७५२ मत ल्याएर निर्वाचित हुँदा रज्जाकले २६ हजार ८८५ मत ल्याएका थिए ।

रुपन्देही–१ मा एमाले बलियो अवस्थामा छ । सोही क्षेत्रबाट नेकपा विभाजनपछि तत्कालिन माओवादी केन्द्रमा नगई दधिराम न्यौपाने एमालेमै छन् । त्यसमाथि राप्रपाको समेत साथ भएकाले विश्वकर्मा भुसालको तुलनामा बलियो रहेको आँकलन छ । भुसालले भने आफ्ना व्यक्तिगत सीमित मतसहित अन्य दलको भरमा मैदानमा छन् ।

यस क्षेत्रमा सत्तारुढ प्रमुख दल कांग्रेस नै भुसाललाई सहयोग गर्ने भरपर्दो दल हो । कांग्रेससँगै दोस्रोमा रहेको माओवादी केन्द्र तथा एकीकृत समाजवादी पार्टीको मतले जित हासिल गर्न सकिने उनी निकटस्थको दाबी छ ।

यद्यपि यस क्षेत्रमा तत्कालीन नेकपा विभाजनपछि माओवादीको जनमत खस्कँदो रहेको तथा एकीकृत समाजवादीको समेत राम्रो मत नभएका कारण भुसालका लागि भर पर्नुपर्ने अन्तिम दल नै कांग्रेस हो । तर क्षेत्र नं १ मा केही समययता एमालेभित्र देखिएको खटपट, नेता भुसालको लामो समयदेखिको पारिवारिक सम्बन्ध र उनको घरसमेत सोही क्षेत्रमा भएकाले एमालेभित्रको मत तान्नसक्ने उनी पक्षका नेताको दावी छ ।

देवदह नगरपालिकासहित रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, र ६ यस निर्वाचन क्षेत्र अन्तरगत रहेको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेस ३२९९९, एमाले ३०३९४, राप्रपा १४५५२, जसपा ६६९५, माओवादी ४२०२, एस १२४३, लोसपा ३२५ ले मत ल्याएका छन् । यहाँ एमाले, राप्रपा र जसपा तालमेलमा छन् भने सत्तारुढ दलको अलग्यै गठबन्धन छ ।

पाल्पामा ठाकुर गैरे र सोमप्रसादको रोचक भिडन्त

नेकपा एमालेमा लामो समय एकै समूहमा रहेर काम गरेका सोमप्रसाद पाण्डे र ठाकुर गैरै अहिले फरक दलबाट आमनेसाने छन् । पाल्पाको क्षेत्र नं २ मा नेकपा एमालेका ठाकुर गैरेले आफ्ना पूर्वनेता सोमप्रसाद पाण्डेसँग प्रतिस्पर्धा गर्दैछन् । एकीकृत समाजवादीका प्रदेश अध्यक्षसमेत रहेका पाण्डेको ७ औं पटकको निर्वाचन हो भने गैरेको पहिलो अनुभव ।

पाण्डे एमालेमा रहन्जेल गैरेले अवसर नै पाएनन् । उनले छाडेकाले गैरेले पहिलोपटक एमालेबाट टिकट पाएका हुन् । गैरेका समकालीन नेताहरू सांसद मन्त्री बनिसक्दा पाण्डेकै कारण उनी माथि उठ्न नसकेको भन्दै आलोचना भएको थियो । तर यसपटक गैरेले उनै पाण्डेसँग प्रतिस्पर्धा गर्दैछन् । २०५१ देखि २०७४ सालसम्मका सबै निर्वाचनमा प्रतिस्पर्धा गरेका पाण्डेले २०६४ सालबाहेक चारवटै निर्वाचन जितेका छन् ।

गैरे एमाले पाल्पा इन्चार्ज हुन् । गैरे पछिल्लो १ वर्षदेखि संगठन विस्तार र पार्टी काममा जिल्लामा नै सक्रिय छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धनविरुद्ध गैरेको अग्निपरीक्षा सफल भएपछि चर्चामा छन् । वडास्तरमै ५ दलको गठबन्धन भएको पाल्पाका १० स्थानीय तहमध्ये एमालेले ६ पालिकामा एकल जितेको थियो । यो क्षेत्रमा स्थानीय तहमा एमाले ३०५६६, कांग्रेस २९०३९, माओवादी ४३१३, एस ४३३, राप्रपा ३३६ मत ल्याएका छन् ।

विष्णु पौडेलसँग भिड्ने राजु गुरुङको इगो

रुपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेलको प्रतिस्पर्धामा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङ मैदानमा आए तर बैंकिङ कसुरमा कालोसूचिमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदारी खारेज गरिदिएको छ । उनले आफूलाई अन्याय भएको भन्दै सर्वोच्च गएका छन् ।

गुरुङ यसअघिका चुनावमा पौडेललाई जिताउन युवामोर्चाको संयोजक बनेर खटिने गर्दथे । पौडेल रुपन्देहीबाट पटक–पटक विजयी सांसद हुन् । ०५६ सालको संसदीय चुनावमा पौडेलले पहिलोपटक कांग्रेसका सूर्यप्रसाद प्रधानलाई पराजित गरेका थिए ।

०६४ र ०७० सालको निर्वाचन जितेका पौडेल २०७४ को चुनावमा २२ हजार ६३ मतान्तरले विजयी भएका थिए । उनले ४४ हजार ०९ ल्याएर विजयी हुँदा उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत पाएका थिए । पटक–पटक मन्त्री र उपप्रधानमन्त्रीसम्म भएका पौडेल केन्द्रीय राजनीतिमा पनि प्रभाव पार्ने नेता हुन् ।

राजु गुरुङ समाजबादीबाट उम्मेदवार बने पनि उनको जित्ने आश भनेको नेपाली कांग्रेस र माओवादीको मत हो । माओवादी रुपन्देही–२ मा कमजोर छ भने कांग्रेसको प्रभाव केही राम्रो छ । तर, गुरुङको छवि निर्वाचन क्षेत्रमा भने राम्रो छैन । उनी एमाले रहँदा पटक–पटक कारबाहीमा परेका व्यक्ति हुन् । त्यति मात्र हैन, विमानस्थल निर्माणका क्रममा पनि उनी विवादित बनेका थिए ।

रुपन्देही–२ मा पर्ने २३ वडाहरूमध्ये यो स्थानीय चुनावमा एमालेले ६ वटा वडामा जितेको छ भने कांग्रेसले ११ वडा जितेको छ । माओवादीले २ र नेकपा एस र स्वतन्त्रले एक एक वडा जितेका छन् । स्थानीय तहको मतलाई हेर्दा गठबन्धन दल बलियो देखिएपनि त्यसपछि नेकपा एस, माओवादी र जसपाका प्रभावशाली नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको र स्थानीय चुनावभन्दा संसदीय चुनावमा अवस्था फेरिने दावी एमाले नेताहरुको छ ।

यो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको मतभारमा कांग्रेस ३२९९९, एमाले ३०३९४, राप्रपा १४५५२, जसपा ६६९५, माओवादी ४२०२, नेकपा एस १२४३, लोसपा ३२५ रहेका छन् । यहाँ एमाले, राप्रपा र जसपाको तालमेल तथा सत्तारुढ ४ दलको गठबन्धन रहेको छ ।

दाङमा तीन चौधरी तीन तिरबाट भिड्दै

दाङ क्षेत्र नं. १ मा एमालेबाट शान्ता चौधरी आफ्नै पूर्व नेता मेटमणि चौधरीसँग प्रतिस्पर्धा गर्दैछिन् । उनीहरुसँगै एमालेमा यसअघि समानुपातिक सांसद रहेकी एमाले नेतृ गंगा चौधरी स्वतन्त्र रुपमा उम्मेदार बनेकी छन् । एमालेबाट टिकट नपाएपछि उनी स्वतन्त्र रुपमा उठेकाले एमालेले जिम्मेवारीबाट हटाएको छ ।

सत्ता गठबन्धनको भागमा दाङ क्षेत्र नं. १ समाजवादीको भागमा परेपछि त्यहाँ मेटमणि चौधरी उम्मेदवार बनेका छन् । चौधरी ०७४ सालको निर्वाचनमा सो क्षेत्रबाट विजयी सांसद हुन् ।

तीनै जना पार्टी आन्दोलनमा मात्रै नभएर अन्य थारु समुदायका लागि भएका संघर्षमा पनि सहकार्य गरेका सहयात्री हुन् । त्यसैले पनि दाङ क्षेत्र नं. १ मा यसपटक यी दुईको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिन्छ । एमालेको तर्फबाट पहिलो संविधानसभामा समानुपातिक सभासद् बनेकी शान्ता दोस्रो निर्वाचनमा भने पराजित भएकी थिइन् ।

मेटमणिले ३७ हजार ९०८ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सुशीला चौधरीले २४ हजार ७४ मत पाएकी थिइन् दाङ–१ मा । यस क्षेत्रमा लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिका तथा घोराही उपमहानगरपालिकाका ४ वटा वडा पर्छन् । स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा वडाध्यक्षले पाएको मतभार अनुसार कांग्रेस २९७५७, एमाले २७०२५, माओवादी १९२७६, राप्रपा २३५०, एस २३४१, जसपा ८०७ रहेको छ ।

गुल्मी २ मा दुई पार्टीका सचिवको भिडन्त

गुल्मी क्षेत्र नं २ मा एमाले सचिव गोकर्णराज विष्ट र एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री प्रतिस्पर्धा छन् । अनेरास्ववियूको विद्यार्थी राजनीतिबाट चर्चामा आएकी झाँक्री ०७४ सालको निर्वाचनमा उनै विष्टको चुनावी अभियानमा थिइन् । एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीकी सचिव झाँक्री यो निर्वाचनमा बलियो नभएपनि गठबन्धन दलको भरोसामा चुनावमा होमिएकी छन् ।

उनको निर्वाचन क्षेत्रमा मात्र नभएर जिल्लामै उनको पार्टीको कमजोर अवस्था छ । स्थानीय तहको वडाध्यक्षमा क्षेत्रभरमै ७ सय मत नआएकाले जिताउन नसकिने भन्दै गठबन्धन दलकै दावेदार नेता डा. दामोदर भुसाल स्वतन्त्र रुपमा उठेका छन् । स्थानीय चुनावमा आएको मतलाई आधार मान्दा एमाले बलियो देखिए पनि यो निर्वाचन क्षेत्रमा पर्ने पाँचवटै स्थानीय तहको प्रमुखमा भने एमाले पराजित भएको थियो ।

तर ४३ वडामध्ये १७ वटामा मात्र एमालेका वडाध्यक्ष विजयी भएका छन् । बाँकी २६ मध्ये २५ मा कांग्रेस र एउटामा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् । वडाध्यक्षमा आएको मतलाई आधार मान्ने हो भने एमाले १ हजार ७ सय २ मतले अघि छ ।

२०७४ कै स्थानीय चुनावलाई आधार मान्ने हो भने कांग्रेस एमालेभन्दा ५ हजार १ सय ४१ मतले पछि छ । एमालेको ३१ हजार ५२३ मत छ भने नेपाली कांग्रेसको २९ हजार ८२१ मत छ । त्यस्तै माओवादीको १ हजार ८४१ मत हुँदा झाँक्रीको पार्टी एकीकृत समाजवादीको जम्मा ६५८ मत मात्र रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर