उपत्यकाका माओवादी उम्मेदवार : सेना बिनाको ‘कमाण्डर’ जस्ता ! – Nepal Press

उपत्यकाका माओवादी उम्मेदवार : सेना बिनाको ‘कमाण्डर’ जस्ता !

हिमाल शर्मा भन्छन् : उपत्यकामा कमजोर छौँ तर हार्नुपर्ने कारण छैन

काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने समग्र काठमाडौं उपत्यकामा नेकपा माओवादी केन्द्र समग्रमा चौथो शक्ति हो । २०६४ सालमा काठमाडौंका १० मध्ये ६ र ललितपुरका तीनै सीट जितेर पहिलो बनेको माओवादी त्यसयताका चुनावमा लगातार ओरालो यात्रामा छ ।

काठमाडौं महानगरपालिकामा एउटा वडा सदस्यसमेत जित्न नसकेको माओवादीले ललितपुरमा गठबन्धनबाट पाएको उपमेयरसमेत जित्न सकेन र हारेका उपमेयरसहितको ठूलो टिम नै यसबीचमा एमाले प्रवेश गरिसकेको छ ।

०६४ को निर्वाचनमा पहिलो दल बनेको माओवादी ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा तेस्रो दलको रुपमा सीमित रह्यो । त्यसपछि माओेवादी एक्लै निर्वाचनमा गएको छैन ।

माओवादीले अझै पनि शहरी क्षेत्रमा दरिलो संगठन बनाउन सकेको छैन । स्थानीय निर्वाचनमा उपत्यकाका २१ स्थानीय तहका २४८ वडामध्ये जम्मा १२ वडा मात्रै जितेको थियो । अहिले पनि गठबन्धनको तर्फबाट काठमाडौं उपत्यकामा १५ निर्वाचन क्षेत्रमा ५ वटा क्षेत्रमा मात्रै उम्मेदवारी दिएको छ । यद्यपी, काठमाडौंका २ सीटमा गठबन्धनविरुद्ध नै माओवादीका उम्मेदवार मैदानमा छन् ।

उपत्यकामा माओवादीको तर्फबाट काठमाडौं २ मा ओनसरी घर्ती, ७ मा मानुयी यमी भट्टराई र ९ मा कल्पना धमला, लतिपुर ३ मा पम्फा भुसाल र भक्तपुर १ मा सुनिल गोथेलाई उम्मेदवार बनाएको छ । यस्तै, माओवादीले गठबन्धनमा कांग्रेसले धोका दिएको भन्दै काठमाडौं ३ र १० मा प्रतिनिधिसभाका उम्मेदवार कायम राखेको छ ।

काठमाडौं ३ मा मजदूर नेता बद्री बजगाई उम्मेदवार छन् भने प्रदेश १ तर्फ कपिलमणि उप्रेती र २ मा महेश्वर फुयाल छन् । सो क्षेत्रमा प्रदेशतर्फ गठबन्धनका आधिकारिक उम्मेदवार फुयाल हुन् । तर कांग्रेसले विमल ठकुरी उठाएपछि माओवादीले तीन वटै उम्मेदवार कायम गरेको छ ।

त्यस्तै, काठमाडौं १० मा पनि माओवादी केन्द्रले पाएको प्रदेशसभामा कांग्रेसले उम्मेदवार उठाएपछि प्रतिनिधिसभामा माओवादी उम्मेदवार अन्जना विशंखेको उम्मेदवारी कायमै छ । त्यस्तै, प्रदेशमा पनि माओवादी केन्द्रले दुवै ठाउँमा उम्मेदवारी दिएको छ ।

‘हामी हार्नुपर्ने कारण छैन’

त्यसो त काठमाडौं उपत्यकामा मात्रै नभएर देशभर माओवादीले चुनावी अभियानलाई तीव्ररुपमा अगाडि बढाएको काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्मा बताउँछन् ।

उनी भन्छन्, ‘हामीले निरन्तर कार्यकर्ता भेला गरिरहेका छौँ । सबै क्षेत्रमा क्षेत्रगत रुपमा गरिरहेका छौँ । हामीले हाम्रो उम्मेदवार नभएपनि समानुुपातिक उम्मेदवार हुनुहुन्छ । गठबन्धनका उम्मेदवारलाई जिताउने र समानुपातिकमा मत बढाउने अभियानमा छौँ ।’

उनले ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा माओवादी कमजोर रहेको स्वीकार गरे ।

उनले भने, ‘स्थानीय निर्वाचनमा पनि गठबन्धनको हल्ला भयो । त्यसमा मतदाताको मनोविज्ञान नै फरक पर्यो । कतै गठबन्धन पनि भएन उम्मेदवार पनि भएनन् । हामीलाई छाड्ने भनेको ठाउँमा गठबन्धन दलले छाडेनन् । अरुको भाग परेको ठाउँ भनेर हामीले त्यहाँ उम्मेदवार पनि बनाएनौँ । त्यसैले गर्दा हामी कमजोर देखिएका हौँ ।

अहिले पनि प्रदेशसभाको केही क्षेत्रमा गठबन्धन दलबीच विवाद रहेको बताए । काठमाडौंमा गठबन्धन सोचेजस्तो सहज ढंगबाट नभइरहेको उनको भनाइ छ ।

उनले काठमाडौं उपत्यकामा आफ्नो पार्टी संगठन सक्रिय रहेको दाबी गरे । उनले उपत्यकमा कतिपय एजेण्डा मिलाउन नसकेकाले आफूहरुको भूमिका कमजोर रहेको तर्क गर्छन् ।

‘अब हामीले पार्टीको घोषणापत्रअनुसार संविधानलाई कार्यान्वय गर्ने, कार्यकारी राष्ट्रपतिको मुख्य एजेण्डाहरु छन्’ उनले भने, ‘त्यसले जनताले हामीलाई हराउनुपर्ने कुनै कारण छैन। हामीले मत किन नपाउने भन्ने मनोविज्ञानका साथ जाँदैछौँ ।’

सहज छैन

तर, स्थानीय तहको निर्वाचनको वडाध्यक्षले प्राप्त गरेको मतअनुसार यी क्षेत्रमा पनि माओवादी निकै कम मत मात्रै ल्याएको छ ।

पूर्वसभामुख घर्ती उम्मेदवार बनेकी काठमाडौं २ मा माओवादी ३ हजार १३१ गरेको छ । यो क्षेत्रमा एमालेले १७ हजार ३२८, कांग्रेसले १४ हजार १२८, नेकपा एसले ७ हजार ९११ र राप्रपाले ७ हजार २०० मत ल्याएको छ ।

तर, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षाका लागि आफ्नो जित सुनिश्चित भएको दाबी गर्छिन् ।

उनी भन्छिन्, ‘हामी गठबन्धनको साथमा चुनावमा गएका छौँ। भूगोलमा हाम्रो पार्टी केही कमजोर देखिएको होला । तर, हामीले जनताको पक्षमा अग्रगमनलाई स्थापित गर्न लागिपरेका छौँ । हामीले जनताको साथ पाउनेमा ढुक्क छौँ ।’

यस्तै, काठमाडौं ७ मा माओवादीले उम्मेदवार बनाएकी भट्टराई पूर्वप्रधानमन्त्री बाबुरामकी छोरी हुन् । उनी नेपाल समाजवादी पार्टीमा आबद्ध छिन् । तर, उनी माओवादीको चिन्हबाट चुनाव लड्ने भएपछि माओवादीले उनलाई अघि सारेको छ ।

तर, यस क्षेत्रमा स्थानीय तहको निर्वाचनको मतअनुसार माओवादीले प्राप्त गरेको मत ५७६ मात्रै हो । यो क्षेत्रमा कांग्रेस पहिलो पार्टी छ । कांग्रेसले १४ हजार १६७, एमालेले १२ हजार २०२, नेकपा एसले ३ हजार ८३९ र राप्रपाले २ हजार २७ मत ल्याएको छ ।

उनको जित सुनिश्चित गर्नका लागि कांग्रेसको मत निर्णायक हुन्छ । तर, आफूले युवाकोे आवाज बुलन्द गर्ने भन्दै आफ्नो जित सुनिश्चित भएको उनी दाबी गर्छिन् ।

यस्तै, माओवादीले भाग पाएकोे काठमाडौं ९ मा पनि हालत उस्तै छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार माओवादीले ६९५ मत मात्रै ल्याएको छ । यो क्षेत्रमा कांग्रेसको १९ हजार ९१६, एमालेको १९ हजार २८२, राप्रपाको २ हजार ४०१ र नेकपा एसको ४६५ मत ल्याएको थियो ।

यस्तै, ०७४ सालमा वाम गठबन्धनको तर्फबाट विजयी बनेकी उर्जामन्त्रीसमेत रहेकी पम्फा भुसाललाई पनि ललितपुर ३ मा सहज छैन । उपत्यकाको अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा माओवादीको मत अलिक बढी देखिन्छ । स्थानीय निर्वाचनको मतअनुसार माओवादीले यो क्षेत्रमा ७ हजार ७२७ मत प्राप्त गरेको छ ।

कांग्रेसले १८ हजार ५४५, एमालेले १७ हजार ७०९, नेकपा एसले ५ हजार १२९ र राप्रपाले ४ हजार ३४२ मत ल्याएका छन् ।

भक्तपुर १ मा पनि माओवादीको १३ सय ८८ मत मात्रै छ । यस क्षेत्रमा नेमकिपाले सधैं जित्दै आइरहेको छ । स्थानीय तहको निर्वाचनको मतअनुसार नेमकिपाको ३३ हजार ८९५, एमालेको १४ हजार ११९, कांग्रेसको १३ हजार ०१३ र राप्रपाको ६ हजार २८६ मत छ ।

अरु क्षेत्रमा कस्तो छ ?

यस्तै, काठमाडौं उपत्यकाका अरु क्षेत्रमा पनि माओवादी निकै कमजोर देखिएको छ । स्थानीय निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार काठमाडौं १ मा ११ सय ५९, ३ मा १७ सय ३०, ४ मा ८४४ मत मात्रै ल्याएको छ ।

यस्तै, ५ नम्बर क्षेत्रमा ११ सय ६८,ं ६ मा २४ सय ६२, ८ मा १८९ र १० मा ४ हजार ९४२ मत प्राप्त गरेको छ भने, ललितपुर १ मा ६ हजार १३३, २ मा ५ हजार २५४ र भक्तपुर २ मा १ हजार ४५ मत मात्रै ल्याएको छ ।

 


प्रतिक्रिया

One thought on “उपत्यकाका माओवादी उम्मेदवार : सेना बिनाको ‘कमाण्डर’ जस्ता !

  1. उपत्यकामा एउटा निर्वाचन क्षेत्रमा माओवादीको १५०० भोट पनि छैन । के जित्नु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर