माओवादीले प्रतिनिधिसभातर्फ ४७ उम्मेदवार उठाउँदा ८ महिला समेटिए (सूचीसहित) – Nepal Press

माओवादीले प्रतिनिधिसभातर्फ ४७ उम्मेदवार उठाउँदा ८ महिला समेटिए (सूचीसहित)

प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशमा महिला उम्मेदवार शून्य

काठमाडौं । सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४७ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउँदा ८ जना महिला उम्मेदवार उठाएको छ ।

सात प्रदेशमध्ये ४ वटा प्रदेशमा ८ जना महिला उम्मेदवार उठाए पनि ३ वटा प्रदेशमा भने महिला उम्मेदवार शून्य छन् । प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशमा माओवादीबाट महिलाहरूको उम्मेदवारी शून्य छ ।

बागमती प्रदेशमा माओवादी केन्द्रले पाँच जनालाई उम्मेदवार बनाएको छ । सबैभन्दा धेरै काठमाडौंबाट ४ जना र ललितपुरबाट एक जना महिलाले माओवादीबाट उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौं १ बाट ओनसरी घर्ती

माओवादी केन्द्रबाट गठबन्धनको साझा उम्मेदवारका रूपमा ओनसरी घर्तीले काठमाडौंको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएकी छन् ।

उनी २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा रोल्पाबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी थिइन । त्यस अघि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा रोल्पा २ बाट प्रत्यक्षतर्फ संविधान सभा सदस्य निर्वाचित भएकी थिइन । त्यस्तै २०६४ सालको पहिलो संविधानसभामा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेकी थिइन ।

२०६७ को झलनाथ खनाल मन्त्री परिषद्मा युवा तथा खेलकुद मन्त्रीसमेत भएकी घर्ती दोस्रो संविधानसभामा रोल्पा २ नम्बर क्षेत्रबाट विजयी भइन् र उपसभामुख निर्वाचित भइन् । सशस्त्र संघर्षमा लडाकु कमान्डर रहेकी घर्ती नेपालको राजनीतिक इतिहासमा पहिलो महिला सभामुख पनि हुन् । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनकी श्रीमती हुन् ।

काठमाडौं ७ बाट मानुषी यमी

काठमाडौं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ७ बाट नेकपा (माओवादी केन्द्र) ले मानुषी यमीलाई उम्मेदवार बनाएको छ । उनी नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईकी छोरी हुन् । यमी उक्त पार्टीकी केन्द्रीय सदस्य पनि हुन् । भट्टराईले माओवादी फुटाएर गठन गरेको नयाँ शक्ति पार्टी, जनता समाजवादी पार्टीमा पनि यमी केन्द्रीय सदस्य थिइन ।

काठमाडौं ९ बाट कल्पना धमला

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवारी दर्ता गराएकी कल्पना धमला पार्टीकी पोलिटब्यूरो सदस्य हुन् । पहिलो संविधान सभा २०६४ की सदस्य रहेकी धमला डा. बाबुराम भट्टराई नेतृत्व सरकारकी विज्ञान तथा प्रविधि मन्त्री हुन् ।

काठमाडौं १० बाट अञ्जना विशंखे

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० नेपाली कांग्रेसको भागमा परेको भए पनि नेकपा (माओवादी) केन्द्रको तर्फबाट अञ्जना विशंखेले बागी उम्मेदवारी दर्ता गराएकी छन् । उनी पार्टी स्थायी कमिटि सदस्य हुन् । २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा विशंखे समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी थिइन् ।

ललितपुर ३ बाट पम्फा भुसाल

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट पम्फा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री रहेकी भुसाल २०७४ सालको प्रतिनिधि सभा निर्वाचन र २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाटै निर्वाचित भएकी थिइन । यद्यपि २०७० साल भएको दोस्रो संविधान सभा निर्वाचनका बेला भने उनी निर्वाचन बहिस्कार गरेको मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा–माओवादीमा थिइन । भुसाल शान्ति स्थापनापछिको अन्तरिम सरकारकी महिला, बालबालिका तथा समाज कल्याण मन्त्री पनि हुन् । उनी नेकपा ९माओवादी केन्द्र०को २१ सदस्यीय पदाधिकारीमा एक्ली महिला पदाधिकारी हुन् । भुसाल पार्टीकी उपमहासचिव छन् ।

लुम्बिनी प्रदेशमा दाङ २ बाट माओवादीकी एक्ली उम्मेदवार रेखा शर्मा

नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेशमा ७ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउँदा एक जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ । जसमा दाङको निर्वाचन क्षेत्र नम्बर २ बाट रेखा शर्माको उम्मेदवारी परेको हो ।

पार्टी पोलिटब्यूरो सदस्य शर्मा २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी थिइन । यस्तै उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित संविधान सभा सदस्य निर्वाचित हुदाँका बखत सामान्य प्रशासन मन्त्री पनि हुन् ।

सुदूरपश्चिममा माओवादीकी एक्ली उम्मेदवार बिना

सुदूरपश्चिम प्रदेशबाट नेकपा (माओवादी केन्द्र) ले ४ जनाको उम्मेदवारी दर्ता गराउँदा एक जना महिलाको पनि उम्मेदवारी दर्ता गराएको छ । जसमा कञ्चनपुर १ बाट बिना मगरले उम्मेदवारी दर्ता गराएकी छन् । मगर २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पनि यसै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित भएकी थिइन । पार्टीकी केन्द्रीय सदस्य मगर तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारकी खानेपानी मन्त्री थिइन । उनी नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष प्रचण्डकी बुहारी पनि हुन् ।

जुम्लाबाट गोमा गौतम

प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा गोमा गौतमलाई माओवादीले उम्मेदवार बनाएको छ । उनी पार्टीकी केन्द्रीय सदस्य हुन् । २०७० को दोस्रो संविधान सभा सदस्य गौतम पूर्व कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री तथा पूर्व राज्यमन्त्री पनि हुन् । १२ प्रतिनिधि सभा रहेको कर्णाली प्रदेशमा अन्य कुनै पनि दलले महिलालाई उम्मेदवार बनाएका छैनन् । उनले गठबन्धनका तर्फबाट जुम्लामा प्रतिनिधि सभा सदस्यका लागि टिकट पाएकी हुन् ।

माओवादीले प्रदेश एकमा ८, मधेश प्रदेशमा ६, बागमती प्रदेशमा ११, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ७, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ४ जनाकाे उम्मेदवारी दर्ता गराएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर