सुशासन अभियानमा सरकारले नयाँ कीर्तिमान कायम गर्‍यो : प्रधानमन्त्री दाहाल – Nepal Press

सुशासन अभियानमा सरकारले नयाँ कीर्तिमान कायम गर्‍यो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गरे । सुशासनको अभियानमा सरकारले नयाँ कीर्तिमान कायम गरेको उनको दाबी छ । वर्तमान सरकारले ललितानिवास जग्गा प्रकरण, अवैध सुन तस्करी नियन्त्रण, मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रियामा ठूलो मेहनत गरेको पनि प्रधानमन्त्रीले सुनाए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीको सुनकोशी गाउँसमितिद्वारा आज मूलकोटमा आयोजित कार्यकर्ता भेटमा दाहालले माओवादी नेतृत्वको सरकारले थालेका सुधारका काम एकाथरी व्यक्तिलाई मन नपरेको बताएका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढंगले ल्याइने उनको भनाइ छ ।

उनले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको जिकिर गरे । प्रधानमन्त्री दाहालले भने, ‘म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ ।’

आर्थिक सूचकांकमा पछि परेका क्षेत्र र वर्गलाई लक्षित गरेर नीति कार्यक्रम र बजेट निर्माण गरिने जानकारी गराउँदै उनले समाजवादको आधार तयार गर्ने बताए । नीति कार्यक्रमलाई जनपक्षीय बनाउन विभिन्न पक्षसँग सुझाव लिने तयारी गरिएको भन्दै प्रधानमन्त्रीले नीति कार्यक्रम र बजेटले समाजवादको आधार तयार गर्ने विश्वास दिलाए ।

कार्यकर्ता भेटघाटमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं माओवादी उपमहासचिव शक्तिबहादुर बस्नेत, सिन्धुलीका सांसद लेखनाथ दाहाल, माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री हरिबोल गजुरेल, बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईंलगायत सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर