अक्टोबर ११ देखि जापान प्रवेश खुला – Nepal Press

अक्टोबर ११ देखि जापान प्रवेश खुला

जापान । विदेशीहरु जापान प्रवेश गर्नुपूर्व यहाँको श्रम मन्त्रालयबाट अनिवार्य अनुमति लिनुपर्ने नियम हट्ने भएको छ ।

जापानको विदेश मन्त्रालयले आज एक सूचना जारी गर्दै अक्टोबर ११ तारिखदेखि जापान प्रवेश गर्ने विदेशीहरुले श्रम मन्त्रालयबाट अनुमति लिन पर्ने नियमलाई खारेज गर्ने जनाएको हो ।

जापान प्रवेश गर्ने विदेशीहरुलाई कोरोना संक्रमण नियन्त्रणका लागि लागु गरिएका नियमहरु अनिवार्य पालना गराउने उद्देश्यले जापान प्रवेश गर्नुपूर्व नै श्रम मन्त्रालयबाट स्वीकृत लिनुपर्ने नियम थियो ।

कूटनीतिक भिसाबाहक बाहेक अरु स्टाटसमा पहिलो पटक जापान प्रवेश गर्ने विदेशीहरुले कोरोना संक्रमण नियन्त्रणका लागि जापान सरकारले लागु गरेका नीति नियमहरुको पालना नगरेमा त्यसको जिम्मेवारी लिन्छु भनी जापानमा रहेका आफन्त अथवा कम्पनीहरुले श्रम मन्त्रालयमा निवेदन दिनुपर्ने नियम थियो ।

सोही निवेदनका आधारमा श्रम मन्त्रालयले जापान प्रवेशका लागि अनुमतिपत्र दिने गर्दथ्यो । उक्त अनुमतिपत्रसहित सम्बन्धित देशमा रहेको जापानी दूतावासमा भिसाका लागि आवेदन दिनुपर्ने विद्यमान नीतिलाई अक्टोबर महिनादेखि परिवर्तन गर्न लागिएको विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

अब जापान प्रवेश गर्ने कसैले पनि (जुनसुकै भिसा स्टाटस भए पनि) श्रम मन्त्रालयबाट लिखित अनुमति लिनपर्ने छैन ।

त्यसैगरी जापान प्रवेशपछि विमानस्थलमा गरिने पीसीआर परीक्षण पनि बन्द गर्ने विदेश मन्त्रालयको सूचनामा उल्लेख छ । जापान प्रवेशपूर्व (७२ घण्टा नकटेको) पीसीआर परीक्षण रिपोर्ट या ३ पटक कोरोनाविरुद्ध खोप लगाएको प्रमाणपत्र लिएर आएमा जापानको विमानस्थलमा पीसीआर परीक्षण गर्नु नपर्ने बताइएको छ ।

त्यस्तै एक दिनमा ५० हजारले मात्र जापान प्रवेश गर्न पाउने सीमा संख्यालाई पनि अक्टोबर ११ देखि हटाइने विदेश मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर